अफगानिस्तानबाट नेपालीको छिटो उद्धार गर्ने सरकारको निर्णय
अफगानिस्तानमा रहेका नेपाली नागरिकको छिटो उद्धार गर्ने सरकारले निर्णय गरेको छ।
सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले अफगानिस्तानमा विकसित घटनाक्रमप्रति गम्भीर चासो लिँदै त्यहाँ रहेका नेपाली नागरिकको सकुशल शीघ्र उद्धार गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद्का निर्णयबारे सञ्चारकर्मीलाई जानकारी दिँदै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले अफगानिस्तानमा रहेका नेपाली नागरिकको उद्धारमा समन्वय गर्न सरकारका सम्बन्धित निकायलाई निर्देशन दिएको बताए।
सरकारको निर्णय सुनाउँदै कार्कीले भने, “अफगानिस्तानमा विकसित घटनाप्रति गम्भीर चासो लिँदै त्यहाँ रहेका नेपालीलाई सकुशल शीघ्र उद्धार गर्ने र त्यसका लागि नेपाल सरकारका सम्बन्धित निकायहरूले समन्वयात्मक रूपले काम गर्न निर्देशन दिने।”
आइतबार साँझ विद्रोही समूह तालिवानले अफगानिस्तानको राजधानी काबुललाई नियन्त्रणमा लिएको छ। राष्ट्रपतिको कार्यालय प्रवेश गरेसँगै तालिवानले काबुल कब्जामा लिएको घोषणा गरेको थियो।
यससँगै विभिन्न देशले अफगानिस्तानमा रहेका आफ्ना नागरिकलाई फिर्ता लग्न थालेका छन्। नेपालले पनि अफगानिस्तानमा रहेका नागरिकलाई फिर्ता लिने निर्णय गरेको हो।
त्यस्तै, मन्त्रिपरिषद्को बैठकले बेलायतमा आमरण अनशनमा रहेका पूर्व गोर्खा सैनिकको समस्या समाधान गर्न कूटनीतिक पहल गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले बताए। उनले भने, “यस समस्यालाई कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल सरकार प्रतिबद्ध रहेको र यस सम्बन्धी कूटनीतिक प्रक्रिया अगाडि समेत बढिसकेको सन्दर्भमा आमरण अनशन लगायत विरोध कार्यक्रम फिर्ता लिनका लागि भूपूब्रिटिश गोर्खासँग सम्बद्ध सबैलाई आह्वान गर्ने मन्त्रिपरिषद्बाट निर्णय भएको छ।”
पूर्व गोर्खा सैनिकले बेलायतमा एक सातादेखि आमरण अनशन थालेका छन्। यसअघि उनीहरू रिले अनशनमा बसेका थिए।