आगो लगाएर श्रीमतीको हत्या गरेको आरोपमा २६ वर्षीय युवकलाई आजीवन कैद
आगो लगाएर श्रीमतीको हत्या गरेको आरोपमा सिराहाका एक युवकलाई आजीवन कैद सजाय सुनाइएको छ।
जिल्ला अदालतले सिराहाको औरही गाउँपालिका-५ का २६ वर्षीय विनोद यादवलाई आजीवन कारावासको सजाय सुनाएको हो। उनले श्रीमतीलाई आगो लगाई हत्या गरेको अदालतले ठहर गरेको छ।
जिल्ला न्यायाधीश मनोजकुमार श्रीवास्तवको एकल इजलासले बिहीबार विनोदलाई आजीवन कारावासको सजाय सुनाएको हो।
विनोदले २१ वर्षीया श्रीमती अनिता यादवको शरीरमा १० माघ, २०७६ मा आगो लगाएका थिए। जलेर घाइते भएकी अनितालाई उनले नै अस्पताल लगेका थिए।
अनिताको विराटनगरस्थित म्याक्स अस्पताल उपचार भएको थियो। त्यहाँ उपचार हुन नसकेपछि काठमाडौंको कीर्तिपुर मोडेल अस्पताल लगिएको थियो।
उपचारकै क्रममा १२ माघ बिहान अनिताको मृत्यु भएको थियो। उनका बुवा अशोक यादवले त्यहि दिन जिल्ला प्रहरी कार्यालय, सिराहामा किटानी जाहेरी दिएका थिए।
प्रहरीले विनोदलाई ११ माघमै पक्राउ गरेको थियो। त्यसपछि जिल्ला अदालतको आदेशमै उनी पुर्पक्षका लागि थुनामा रहेका छन्।