ज्येष्ठ नागरिक र अशक्तलाई घरमै खोप लगाउन सर्वोच्चको आदेश
सर्वोच्च अदालतले ज्येष्ठ नागरिक र अशक्त व्यक्तिलाई घरमै खोप लगाउने व्यवस्था गर्न सरकारलाई आदेश दिएको छ।
शुक्रबार न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले ज्येष्ठ नागरिक र अशक्तलाई कोभिड-१९ विरुद्धको खोप घरमै लगाउन अन्तरिम आदेश दिएको हो।
सर्वोच्चको आदेशमा भनिएको छ, “खोप केन्द्रमा जान असमर्थ ज्येष्ठ नागरिक, विस्तारामा रहेका हिडडुल गर्न नसक्ने, अस्पतालले पहिचान गरेका दिर्घ रोगीहरू तथा फरक क्षमता भएका, दुवै आँखा नदेख्ने व्यक्तिहरू समेतका लागि राज्यले वडा वडा स्तरबाट लगत संकलन गरी वा उपयुक्त अन्य माध्यमबाट पहिचान गरी घर घरमा पुगी कोभिडको खोप सेवा उपलब्ध गराउने कार्यक्रम र मनासिव समय तालिका तर्जुमा गरी सोको उपयुक्त सूचना प्रवाह गरी संवैधानिक दायित्वको निर्वाहको लागि कार्यक्रम सञ्चालन गर्नु गराउनु।”
अधिवक्ता प्रवेश केसीले ज्येष्ठ नागरिकलाई घरमै खोप दिने व्यवस्था गर्नका लागि अन्तरिम आदेश माग गर्दै निवेदन दिएका थिए। निवेदनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको छ।
यससँगै सर्वोच्चले विपक्षीका नाममा कारण देखाऊ आदेश पनि दिएको छ। महान्यायाधिवक्ताको कार्यालयमार्फत १५ दिनभित्र जवाफ पेश गर्न भनिएको छ।