समान अधिकार माग्दै बेलायतमा गोर्खा सैनिकको अनशन
भूतपूर्व गोर्खा सैनिकले बेलायती सैनिक सरह समान पेन्सनको माग राखी शुरु गरेको आन्दोलनको आज सातौं दिन पुगेको छ।
गोर्खा सैनिकले यसअघि यही माग राखेर १३ दिनसम्म रिले आमरण अनशन बसेका थिए। माग पूरा नभएपछि २३ साउनदेखि आमरण अनशन शुरु गरेका हुन्।
बेलायती सैनिक सरह पेन्सन र अन्य सुविधाको माग गर्दै लामो समयदेखि आन्दोलन गरिरहेका गोर्खा सैनिकले आफ्नो मागलाई सशक्त रुपमा उठाउन ‘सत्याग्रह संयुक्त संघर्ष समिति’ गठन गरेका छन्।
आगामी तीन दिनभित्र माग पूरा नभए नेपालमा पनि सोही प्रकृतिको आन्दोलन शुरु गर्ने समितिका नेपाल संयोजक एलबी घिसिङले जानकारी दिए। उनले हिमालखबरसँग भने, “वर्षौंदेखि हामीहरू आन्दोलनमा भए पनि बेलायत र नेपाल दुवै सरकारले चासो दिएका छैनन्।”
शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा सत्तारुढ दल नेपाली कांग्रेसकी सांसद् डिला संग्रौलाले गोर्खा सैनिकको आन्दोलनबारे वार्ता समिति गठनको पहल गर्न सरकारलाई आग्रह गरिन्। उनले भनिन्, “कूटनीतिक माध्यमबाट सम्पर्क गरी वार्ता समिति गठन, समय र स्थान तोक्न सरकारले पहल गर्न अनुरोध गर्दछु।”
वर्षौंदेखि आन्दोलनरत गोर्खा सैनिकको समस्या समाधानको लागि कूटनीतिक पहल थाल्न तीन वर्ष अघि नै संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारलाई निर्देशन दिएको थियो। तर, त्यसको सुनुवाइ भएन।
मागको बारेमा जानकारी भए पनि नेपाल सरकारले कूटनीतिक पहल नगरिदिएको भूपू गोर्खा सैनिकहरूको गुनासो छ। घिसिङले भने, “हामीले बेलायती सरकारले नसक्ने माग राखेका छैनौं, तर, नेपाल सरकारबाट पर्याप्त पहल चाहिँ भएन।”
बेलायती प्रधानमन्त्री निवास अगाडि अनशन बसिरहेका भूपू गोर्खा सैनिकको आन्दोलनप्रति बेलायतको प्रमुख प्रतिपक्ष दल लेबर पार्टीले भने ऐक्यबद्धता जनाएको छ। पार्टीका छायाँ रक्षामन्त्री स्टेफन मोर्गनले सरकारलाई असमान पेन्सनका बारेमा तत्काल जानकारी गराउने प्रतिबद्धता जनाएका छन्।
सन् १९७५ देखि १९९७ को बीचमा भर्ती भएका बेलायती गोर्खा सैनिकलाई असमान सेवा सुविधा छ। यो अवधिका सैनिकले ४४ पाउण्ड पेन्सन पाउँछन् । जबकि बेलायती सैनिक र यसपछि भर्ती भएका गोर्खा सैनिकले ४५० पाउण्ड पाउँछन्।
'गोर्खा विद्रोह' पुस्तकको लेखक एवं प्राध्यापक युवराज संग्रौला यो बीचमा ४० हजार बेलायती सैनिकमा भर्ती भएकाे बताउँछन् । उनी भन्छन्, "उमेरका कारण थुप्रैले ज्यान गुमाउँदै गएपछि अब करीब १४ हजार सैनिक समान अधिकारको माग राख्दै आन्दोलनमा छन्।"