गुम्बाडाँडाको आकर्षण ढुंगामा कला
नौ वर्षअघि अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशालामा विभिन्न देशका २३ कलाकारले बनाएका ढुंगाका मूर्ति अहिले भने हेटौंडाको गुम्बाडाँडा मूर्ति पार्कका आकर्षण बनेका छन्।
ढुंगा मूर्तिले सजिएको मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१८ हर्नामाडीस्थित गुम्बाडाँडा सामुदायिक वनमा निर्माणाधिन मूर्ति पार्क नयाँ पर्यटकीय गन्तव्य बनेको छ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, पर्यापर्यटकीय पार्क गुम्बाडाँडा र समसामयिक नेपाली मूर्तिकार समूह (आरम्भ) ले ११ देखि २३ मंसिर, २०६९ मा अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला आयोजना गरेको थियो। त्यसमा सहभागी विभिन्न देशका कलाकारले मूर्ति बनाएका थिए। तिनै मूर्ति पार्कमा राखिएका हुन्।
झण्डै ४० लाख खर्चेर ललितकला अनुसन्धान स्थलको रुपमा विकास गर्ने उद्देश्यले पार्क निर्माण गरिएको हो। अझै पार्क निर्माणाधिन छ। तैपनि, ६ देशका २३ कलाकार २३ कलाकृतिले पार्कको सौन्दर्य बढेको छ। यहाँ राखिएका सबै मूर्ति ढुंगामा कुदिएका हुन्।
जसमा प्रकृतिका अनेक रुप देख्न सकिन्छ। इटालीका मूर्तिकार बेटीनो फ्रान्सिनीले संसारकै सबैभन्दा पहिलो आमाको परिकल्पनालाई ढुंगामा उतारेका छन्। यसलाई मूर्तिपार्कको मध्यभागमा राखिएको छ।
दक्षिण कोरियाका मूर्तिकार शीम जुम शुले औद्योगिक वातावरणको परिकल्पना गरेका छन्। ढुंगामा कुदिएको उनको परिकल्पनाले सबैलाई मोहित बनाउछ। जापानका मूर्तिकार सूगीमोतो जुन युचिरोले भटमासको कोसा बनाएका छन्।
त्यस्तै, मकवानपुरका कलाकार लक्ष्मण भुजेलले उत्सुकताको मूर्ति र ओमभक्त भण्डारीले गणेश र कछुवालाई मूर्तिको स्वरुप दिएका छन्।
ढुंगामा कुदिएको बुद्धको अद्र्धाकारको मूर्ति रुपन्देहीका बुद्ध थारुले तयार पारेका छन् भने काठमाडौंका पूर्णकाजी शाक्यले ‘शान्तिभूमि नेपाल’लाई मूर्र्तिको रुप दिएका छन्। मकवानपुरकै बाबुलाल वाइबाको ‘हामी सबै मिलेर बसौं’ भन्ने सन्देश दिने मूर्ति झन आकर्षक छ।
मूर्ति पार्कमा केही संरचना निर्माणकै क्रममा छन्। पार्कसम्म पुग्ने बाटो सहज छैन। ग्राभेल सडक निर्माण गरिएको भए पनि सहज नभएको स्थानीय बासिन्दाले बताए।
त्यस्तै, मूर्ति वरिपरिको चौर पनि व्यवस्थापन गरिएको छैन। “मूर्ति हेरेर फर्किदा जुत्ताभरि हिलो भयो, कपडाभरी काँडा नै काँडा भयो,” पार्क घुमेर फर्केकी हेटौंडा-५ की स्वरुपा गुरागाईले भनिन्। पार्कमा राखिएका बेच्न पनि झार र घासले छोपिएको उनले बताइन्।
पार्क व्यवस्थापन समिति अध्यक्ष हर्क रम्तेलले काम भइरहेको बताए। विश्राम स्थल, पानीको फोहरा, बगैंचा लगायतको निर्माणको काम सकिएको र अब बाल उद्यान बनाउने योजना रहेको उनले बताए। आर्थिक अभावले काम गर्न नसकिएको उनको भनाइ छ।
हेटौंडा-१८ का वडाध्यक्ष अनिल बानियाँले पर्यटकीय क्षेत्रको संरक्षण र प्रवद्र्धन आवश्यक भएकाले बजेटको व्यवस्था गरिने बताए। “विगतमा केही आर्थिक सहयोग गरिएको थियो। चालु आर्थिक वर्षमा पनि के गर्न सकिन्छ, व्यवस्थापन समितिबाट योजना माग गरेका छौं,” अध्यक्ष बानियाँले भने।
बुद्धको प्रतिमा अर्को आकर्षण
मूर्तिपार्कको पश्चिममा बुद्धको प्रतिमा अर्को आकषर्णको केन्द्र बनेको छ। करीब एक करोडको लागतमा २५ फिट बुद्धको मूर्ति बनाइएको छ। यो पनि ढुंगोकै हो।
ललितपुरको मूर्तिकार अमर शाक्यले ढुंगाको मूर्ति कुँदेका हुन्। कोरोनाभाइरसको महामारीका कारण बुद्धको मूर्ति अनावरण गर्न नसकिएको बुद्धमूर्ति निर्माण संयोजन समिति संयोजक कमलचन्द्र सुमनले बताए।
यो सबै संरचना निर्माणमा करीब तीन करोड खर्च भएको संयोजक सुमनले बताए। “केही संरचना बनेका छन्, केही संरचना बन्ने क्रममा छन्,” उनले भने। यसका लागि बागमती प्रदेश सरकार र हेटौंडा-१८ वडा कार्यालयले सहयोग गरेको उनले बताए।