२४ जेठदेखि नाटक ‘ योगमाया’
नीलम कार्की निहारिका लिखित उपन्यास ‘योगमाया’ मा आधारित नाटक प्रस्तुत हुने भएको छ।
रंगकर्मी टंक चौलागाईँको नाट्य परिमार्जन र निर्देशनमा नाटक योगमाया २४ जेठदेखि काठमाडौंको बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन हुने भएको हो। नाटक प्रस्तुतकर्ता स्कुल थिएटर नेपाल र साङ्ग्रिला फाउन्डेशनले नाटकको पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेका छन् ।
‘योगमाया’ उपन्यासले २०७४ सालको मदन पुरस्कार पाएको थियो।
राणा शासनकालमा सामाजिक कुरीति, विभेद र विसंगति विरुद्ध आवाज उठाउँदै उक्त माग शासकले पूरा नगरेपछि भक्तहरूसहित अरुण नदीमा आत्मदाह गर्ने पूर्वी नेपाल भोजपुरकी विद्रोही महिला हुन्, योगमाया ।
एकादेशको दन्त्यकथा झैं लाग्ने त्यही ऐतिहासिक विषयलाई निर्देशक चौलागाईंले नाटकका लागि रोजेका छन्।
नाटकमा योगमायाको शीर्ष भूमिकामा कलाकार मिथिला शर्मा देखिनेछिन्। लामो समयपछि रंगमञ्चमा नेपाली इतिहासकी साहसी महिलाको चरित्रसहित आउनुलाई अवसरसँगै ठूलो चुनौती मानेको उनी बताउँछिन् ।
यस्तै, नाटकमा राधा श्रेष्ठ, प्रभाकर न्यौपाने, प्रकेश सिन्धुलीय, दीपिका ढकाल, प्रल्हाद खरेल, श्याम खड्का, सरस्वती अधिकारी, सुरज तमु, सुमन कुइँकेल, आकांक्षा जिसी लगायतको अभिनय रहनेछ।
पुष्पराज अवस्थीलगायतका अनुभवी रंगकर्मीहरूसँगै सुवास तिमल्सिना, सुमित तामाङ, सुरेन्द्र क्षेत्री, विशाल देवकोटा, कृष्णगोपाल कक्षपति, प्रसन्न हुमागाईँ, संयोग दाहालका साथमा स्कुल थिएटर नेपालका लालाबाला कक्षाका बाल कलाकारहरु काव्य बराल, आकार थापा, क्विन्चम जोशी, अद्वैत थापा र शुभेच्छा तिमल्सिना समेत रहेका छन् ।
कलाकार टोली अहिले धमाधम अभ्यास गरिरहेका छन्। प्रकेश सिन्धुलीयको सह–निर्देशन रहेको नाटकमा सुरज तमुको कोरियोग्राफी हुनेछ ।