लुम्बिनी सरकारको पहिलो निर्णय : मिर्गौला, क्यान्सर र मुटुका बिरामीलाई दुई लाख सहयोग
लुम्बिनी प्रदेश सरकारले मिर्गौला, क्यान्सर र मुटु रोगका बिरामीलाई दुई लाख आर्थिक सहयोग गर्ने भएको छ।
नवगठित लुम्बिनी मन्त्रिपरिषद्को पहिलो बैठकले सहयोग रकम दोब्बर गर्ने निर्णय गरेको हो। यसअघि मिर्गौला, क्यान्सर र मुटु रोगका बिरामीले एक लाख सहयोग पाइरहेका थिए।
यस्तै प्रदेश सरकारले कोभिड-१९ का बिरामीको उद्धार गर्न हटलाइन र एम्बुलेन्सको व्यवस्था गर्ने निर्णय गरेको छ। त्यसको खर्च प्रदेश सरकारले बेहोर्ने भएको छ।
यससँगै कोरानाभाइरस प्रभावित क्षेत्रमा स्वास्थ्य शिविरमार्फत एन्टिजन परीक्षण गरिने भएको छ। कोभिड-१९ विरुद्धको खोप वितरण प्रणालीलाई प्रभावकारी बनाई प्रदेशका सबै नागरिकलाई खोपको व्यवस्था गर्ने निर्णय पनि गरेको छ।
यससँगै प्रदेशमा मातृ मृत्युदर कम गर्न स्थानीय तहमा एक-एक वटा पोर्टेबल अल्ट्रासाउन्ड मेसिनसहित तालिम प्राप्त नर्सको व्यवस्था गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को पहिलो बैठकले प्रदेश सरकारको प्रवक्तामा आर्थिक मामिला तथा योजनामन्त्री कृष्णध्वज खड्कालाई तोकेको छ।
यससँगै मुख्यमन्त्रीको प्रमुख सल्लाहकारमा अमरबहादुर डाँगीलाई नियुक्त गरेको छ। उनी नेकपा (एमाले)का पूर्वसांसद हुन्। गत वैशाखमा शंकर पोखरेल पुन: मुख्यमन्त्री नियुक्त भएपछि उनले असन्तुष्टि जनाउँदै राजीनामा दिएका थिए।