बीपी प्रतिष्ठानमा अख्तियारको छापा
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ।
प्रतिष्ठानका उपकरण खरीद, निर्माण लगायतका विषयमा अनियमितता भएको सार्वजनिक भइरहेका बेला बिहीबार आयोगको टोलीले छापा मारेको हो। आयोगको केन्द्रीय कार्यालयबाट आएका पाँच जना र इटहरी कार्यालयबाट दुई जना गरी सातको टोलीले छापा मारेर आवश्यक कागजात नियन्त्रणमा लिएको आयोगको इटहरी कार्यालयका प्रमुख बाबुराम खतिवडाले बताए।
प्रतिष्ठानको कोभिड–१९ अस्पताल, एचडीयू, आईसीयू, अक्सिजन प्लान्ट लगायतका सामान खरीद र निर्माण कार्यमा व्यापक अनियमितता भएको भन्दै विद्यार्थी र कर्मचारीले पनि आन्दोलन गरेका थिए।
सरकारले गठन गरेका विभिन्न छानविन समितिले पनि प्रतिष्ठानका भवन निर्माण, स्वास्थ्य सामग्री खरीद लगायतका विषयमा अनियमितता भएको प्रतिवेदन सार्वजनिक गरेका थिए।
आयोगको इटहरी कार्यालयका सूचना अधिकारी पुरुषोत्तम ढकालले प्रतिष्ठानमा अनियमितता भएको भन्दै उजुरी परेपछि छानबिनका लागि छापा मारेको बताए।