लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी
नेकपा (माओवादी केन्द्र) को संसदीय दलका नेता कुलप्रसाद केसी लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्।
बिहीबार प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन। उनलाई नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।
बुधबार शंकर पोखरेलले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि प्रदेश प्रमुख शेरचनले मिलिजुली सरकार गठनका लागि आह्वान गरेका थिए। नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको समर्थनमा बिहीबार बिहान केसीले मुख्यमन्त्रीका लागि दाबी पेश गरेका थिए।
मुख्यमन्त्रीका लागि एउटा मात्रै दाबी परेको थियो। त्यससँगै उनको पक्षमा स्पष्ट बहुमत देखिएपछि प्रदेश प्रमुख शेरचनले केसीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।
८७ सदस्यीय प्रदेश सभामा अहिले ८० सदस्य छन्। जसमध्ये केसीको पक्षमा कांग्रेसका १९, माओवादीका १८, जसपाका तीन र जनमोर्चाका एक जनाले समर्थन गरेका छन्। त्यस्तै, सूर्य चिह्नबाट चुनाव लडेका अजय शाहीले पनि केसीलाई समर्थन जनाएका छन्।
योसँगै केसीको पक्षमा ४२ सांसद पुगेका छन्। सरकार गठनका लागि ४१ सांसद आवश्यक पर्छ।