लुम्बिनीकाे मुख्यमन्त्रीका लागि माओवादी सांसद केसीको दाबी
नेकपा (माओवादी केन्द्र)का सांसद कुलप्रसाद केसीले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका लागि दाबी पेश गरेका छन्।
बिहीबार बिहान सांसद केसीले माओवादीसहित नेपाली कांग्रेस, जनता सजमावादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाका सांसदको समर्थनमा प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेश गरेका हुन्। उनलाई ४२ सांसदले समर्थन गरेका छन्।
जसमा माओवादीका १८, कांग्रेसका १९, जसपाका तीन, जनमोर्चाका एक र सूर्य चिह्न लिएर जितेका हृदयेश त्रिपाठी समूहका अजय शाहीको पनि हस्ताक्षर रहेको छ।
प्रदेश सभामा अविश्वास प्रस्ताव आएपछि मुख्यमन्त्री शंकर पोखरेलले बुधबार राजीनामा दिएका थिए। त्यसपछि प्रदेश प्रमुख शेरचनले बिहीबार अपराह्न ३ बजेसम्म मिलिजुली सरकारका लागि दाबी पेश गर्न आह्वान गरेका थिए।
प्रदेश प्रमुखको आह्वान अनुसार, विपक्षी गठबन्धनले दाबी पेश गरेको कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले जानकारी दिएका छन्। मुख्यमन्त्रीका लागि विपक्षी गठबन्धनका तर्फबाट कनौडियाले नै प्रदेश प्रमुख शेरचनलाई दाबी पत्र बुझाएका हुन्।
सांसद केसीको पक्षमा स्पष्ट बहुमत देखिएकाले प्रदेश प्रमुख शेरचनले आजै मुख्यमन्त्री नियुक्त गर्न सक्ने सम्भावना रहेको छ।