‘सरकारले टीकापुरमै आएर थारूसँग वार्ता गर्नुपर्छ’
‘टीकापुर घटनापछि थारुहरूको घर छानीछानी आगजनी, लुटपाट र तोडफोड भएको थियो। कर्फ्यूको बेला पछाडि प्रहरी र अगाडि अखण्ड सुदूरपश्चिमका गुण्डाहरूले थारुहरूका घरमा लुटपाट र आगजनी गरे। यो पञ्चायती तानाशाहभन्दा क्रुर दमन थियो।’
कैलालीको धनगढी उपमहानगरपालिका-१९, फूलबारीका लक्ष्मण थारु किशोरवयमै नेकपा (माओवादी)ले सञ्चालन गरेको सशस्त्र युद्धमा संलग्न भए। शान्ति प्रक्रियापछि थारुहरूलाई हेर्ने माओवादी दृष्टिकोण मन नपरेपछि पार्टी छाडे।
७ भदौ २०७२ मा धनगढीको कैलालीमा थरुहट/थारुवान आन्दोलनको क्रममा हिंसा भड्किँदा आठ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्यु भएको घटनामा लक्ष्मण थारुलाई अदालतले दोषी ठहर गरेको छ। २२ भदौ २०७२ मा भैरहवाबाट पक्राउ परेका उनी ४२ महीना जेल बसेपछि कैलाली जिल्ला अदालतले तीन वर्ष सजाय हुने ठहर्याएको थियो। त्यसपछि जेल जीवनबाट मुक्त भएका उनलाई गत वर्षको पुसमा उच्च अदालत दिपायलले त्यही मुद्दामा जन्मकैदको सजाय सुनाएको छ।
उनी अहिले थरुहट/थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय संयोजक छन्। अर्धभूमिगत रूपमा मोर्चाका गतिविधिमा संलग्न हुँदै आएका संयोजक थारुसँग तुफान न्यौपाने र उन्नती चौधरीले गरेको कुराकानीको सम्पादित अंशः
उच्च अदालत दिपायलले तपाईंलाई जन्मकैद सुनाएको छ, यो अवस्थामा राजनीतिक गतिविधि कसरी सञ्चालन गरिरहनु भएको छ?
पहिलो संविधान सभादेखि नै समानता, न्याय र अधिकारका लागि हाम्रो शान्तिपूर्ण आन्दोलन चलिरहेको छ। थरूहट आन्दोलन नियमित रूपमा चलेको १३ वर्ष भयो। यसबीचमा टीकापुर घटना घट्यो। हामी जेल गयौं, छुट्यौं। फेरि दिपायल उच्च अदालतले हाम्रोबारेमा र टीकापुर घटनाका राजबन्दीहरूको बारेमा गलत फैसला सुनायो। राजनीतिक गतिविधिसँगै हामीले अदालतमा कानूनी लडाइँ लडिरहेका छौं। उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिएका छौं।
थरूहट आन्दोलन थारूहरूसँग मात्र सम्बन्धित नरहेर पहिचान पक्षधर आन्दोलनकारी खासगरी लिम्बुवान, खम्बुवान, ताम्सालिङ, नेवाः, मगरात र दलित लगायतसमुदायसँग समायोजन गर्दै संयुक्त आन्दोलनको तयारी पहिलेदेखि थियो। अहिले पनि छ।
हामी हिजो पनि शान्तिपूर्ण राजनीतिको पक्षमा थियौं। आज पनि छौं। भोलि पनि हुनेछौं र तेस्रो आन्दोलन (अभियान) घोषणा गर्न गइरहेका छौं।
त्यो आन्दोलन कस्तो हुन्छ?
थारूहरूको इच्छा चाहना शान्ति प्रक्रियाबाटै देश अगाडि बढिरहँदा संविधानमा हाम्रा सरोकारहरू नछुटुन् भन्ने थियो। यो आन्दोलन त्यसैको निरन्तरता हो।
हामी जेलबाट छुटेपछि पहिलो र दोस्रो अभियान सम्पन्न गर्यौं। २४ साउनबाट तेस्रो अभियान शुरू भएको छ। त्यसअन्तर्गत काठमाडौंमा अन्तरक्रिया हुनेछ। टीकापुर घटना के हो, कसले घटायो, कसको कारणले टीकापुर भयो भन्नेबारे अभियान चलाउनेछौं। यो घटनापछि खासगरी सिंहदरबार र बालुवाटारले थारूहरूलाई बदनाम गर्ने काम गरयो। थारूहरूमाथि वाहियात आरोप लगाइयो।
थारूहरू मान्छे मार्न गएका थिएनन्। उनीहरूले मारेका पनि होइनन्। थारूहरूको विद्रोहलाई भाँड्नका लागि घुसपैठ भयो। हामी अहिले पनि सचेतताका साथ तेस्रो चरणको अभियान गर्दै छौं। यही कुराको जानकारी दिँदै छौं। काठमाडौंमा हुने वृहत अन्तरक्रियामा नागरिक समाजका अगुवा, राजनीतिक दलका नेता–सांसद् र अखण्ड सुदूरपश्चिम भनेर थारूहरूको आन्दोलनलाई कमजोर गराउनेहरूको पनि उपस्थिति हुनेछ।
थरूहट जिल्लाहरूमा अन्तरक्रिया गोष्ठी गर्नेछौं। १ भदौदेखि माइतीघर मण्डलमा धर्ना कार्यक्रम गर्छौं। ७ भदौलाई हामी थारूहट विद्रोह दिवसका रूपमा मनाउनेछौं। ८ र ९ गते थारूहरूको घर, पसल, रिसोर्ट, एफएम जलाएको दिन, थारूहरूमाथि छानीछानी सांघातिक हमला गरेको दिनलाई कालो दिनको रूपमा मनाउनेछौं।
उच्च अदालतले जन्मकैद सुनाएपछि भूमिगत हुनुहुन्छ, यी आन्दोलनको संयोजन कसरी गर्नुहुन्छ?
थरुहट/थारुवान राष्ट्रिय मोर्चा लक्ष्मण थारुको व्यक्तिगत संगठन होइन। थारुहरूको अधिकारका लागि निरन्तर सक्रिय रहेको मोर्चाका अन्य पदाधिकारी र कमिटीहरू आन्दोलनका लागि सक्षम छन्। म पनि भर्चुअल मिटिङहरूमा संलग्न भइरहेको छु।
म कुनै जिल्लामा जानु र नजानुले खासै फरक पार्दैन। व्यक्तिगत कुरा गर्ने हो भने, म भूमिगत वा अर्धभूमिगत छैन। जसरी कार्यक्रमलाई प्रभावकारी बनाउन सकिन्छ त्यो गतिविधिमा म संलग्न छु।
अघिल्लो सरकारले जनता समाजवादी पार्टीसँग सहमति गरेर राजनीतिक रूपमा यो मुद्दा टुंग्याउने प्रयास गरेको थियो, तपाईंहरूले दिपायल उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पनि पुनरावेदन गर्नुभएको छ। यो मुद्दाको निकास कसरी होला? राजनीतिक लेनदेनबाट वा अदालतको आदेशबाट?
थरुहट आन्दोनल नेपालको समग्र द्वन्द्व व्यवस्थापनसँग जोडिएको छ। टीकापुर घटना थरुहट आन्दोलनसँग मात्र सम्बन्धित थिएन। संविधान घोषणा गर्नै लाग्दा देशभर खस-क्षेत्रीहरूको आन्दोलन चलेको थियो। अखण्ड सुदूरपश्चिम चाहनेहरूको आन्दोलन, कर्णालीबासीको आन्दोलन, दलित, मधेशी, जनजाती र मुस्लिमहरूसहित समग्र पहिचान पक्षधरहरूको आन्दोलन पनि चलिरहेको थियो। त्यही सन्दर्भमा हाम्रो पनि आन्दोलन भयो। त्यसपछि हिंसात्मक गतिविधिमा संलग्न हुँदै नभएका थारुहरूलाई जेल हालियो। झुटा मुद्दा झुण्ड्याइयो।
टीकापुर घटनापछि यो देशमा थारुहरूका लागि मात्रै असहज परिस्थिति सिर्जना भयो। अरुले पनि आन्दोलन गरे, अरु ठाउँमा पनि घटना घट्यो। तर, थारुहरूको अनुहार, छालाको रङ, थर हेरेर एकतर्फी रूपमा दमन गरियो।
त्यसकारण प्रश्न के हो भने, टीकापुरको निकास के हो? थारुहरूलाई दमन गरेर, जेलमा सडाएर, झुटा मुद्दा लगाएर ठिक पार्छु र निकास निस्कन्छ भन्ने शासकीय सोच देखिन्छ। शासकहरूलाई थारुहरूको आन्दोलन तुहाउन, आवाज दबाउन हाम्रो जेल काफी छ भन्ने लागेको छ।
टीकापुर घटनालाई द्वन्द्व प्रक्रियाभन्दा फरक तरिकाले सोचियो भने सम्भव छैन। टीकापुर घटना थारुहरूको शान्तिपूर्ण विद्रोह थियो। संविधानमा हाम्रा भावना, सांस्कृतिक, सामाजिक र आर्थिक मुद्दा पनि समावेश गर भन्ने आवाज थियो।
त्यसैले यसको समाधान लाल आयोगको प्रतिवेदन, देवीराम शर्मा आयोगको प्रतिवेदन, एम्नेष्टि इन्टरनेशनलको प्रतिवेदन, राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्नु र त्यसलाई कार्यान्वयन गर्नु हो। दोषी को हो भन्ने लाल आयोगको प्रतिवेदनमै छ।
यो देशमा लोकतन्त्र, गणतन्त्र र संघीयताका लागि विद्रोह भयो, त्यसमा थारुहरूले बलिदान दिए। अहिले उनीहरूलाई एक्ल्याइएको छ। स्थायी शान्ति र द्वन्द्व व्यवस्थापन चाहने हो भने राज्य एक कदम अगाडि गएर फौजदारी कानून सुधार गर्नुपर्छ।
संविधानमा आफ्ना माग समेट्न भन्दै एकथरी मानिसहरूले सरकारी कार्यालयमा तालाबन्दी गरे, एअरपोर्टमा तालाबन्दी गरे कहीं लाठी चार्ज भएन, कहीं तोडफोड भएन।
जनताले कर्णाली प्रदेशको सम्पूर्ण कार्यालय बन्द गरेर कर्णाली प्रदेश भन्ने ब्यानर झुण्ड्याए। अखण्ड सुदूरपश्चिम भनेर एअरपोर्टमै तालाबन्दी गरियो, ब्यानर झुण्ड्याइयो। कहीं धरपकड भएन। तर, थारुहरू शान्तिपूर्ण आन्दोलनको रूपमा अगाडि बढ्दा गोली चलाउने काम भयो। सरकारले बन्दुक थारुमाथि गोली चलाउन किनेको हो? सेना प्रहरी त्यसैका लागि बनाएको हो? थारुहरूमाथि झुटा मुद्दा चलाउनका लागि अदालत बनाइएको हो? त्यसकारण यसलाई आम शान्ति प्रक्रियाको अजेन्डाको रूपमा राजनीतिक दलहरूले जिम्मा लिनुपर्छ।
टीकापुर घटनाको व्यवस्थापनका लागि सरकारले टीकापुरमै आएर थारुहरूसँग वार्ता गर्नुपर्छ। अखण्ड सुदूरपश्चिम र अन्य पक्षलाई पनि बोलाएर सबैको कुरा सुन्नुपर्छ।
तर, त्यो घटनालाई त आपराधिक घटनाको रूपमा लिइएको छ नि?
सरकार थारुहरूका लागि कहिले पनि आफ्नो भएन। सबै शासकहरूले सत्ता आफ्नो मात्र ठान्छन्। साधन-स्रोत आफ्नो मात्रै ठान्छन्। यो लुटको सत्ता छ। यो देशमा बस्ने श्रमजिवी वर्गको सत्ता कहिले पनि भएको छैन।
शुरूमा माओवादीमा आवद्ध तपाईं अहिले थरुहट आन्दोलनको केन्द्रमा कसरी आइपुग्नुभयो?
म २० वर्षको हुँदा २०५० सालमा माओवादी पार्टीको सदस्यता पाएँ। त्यसपछि पूर्णकालीन कार्यकर्ता बनें। त्यसयता म राजनीतिमा सक्रिय छु। शान्ति प्रक्रियामा आइसकेपछि माओवादीले गलत निर्णय गर्यो- थारुहरूको पहिचानलाई पनि मधेशीमा राख्यो। त्यसपछि हामीले आपत्ति जनायौं। पार्टीले नसच्याएपछि हामीले माओवादी छाड्यौं। थारुहरूको पहिचान अलग छ, मधेशीको पहिचान अलग छ। थारुहरू तराईको मूलबासी हो, यहाँको धर्तीपूत्र हो।
त्यसकारण हामीलाई मधेशी समुदायसँगको संरचनामा मिसाउनु गलत थियो। त्यसकारण मैले २०६३ साल फागुन २२ गते माओवादी छाडेँ। त्यसयता निरन्तर थरुहट आन्दोलनमा छु। म पछाडि फर्किएर हेर्न चाहन्न। विगतका कमी कमिजोरीहरूलाई समीक्षा गर्दै आन्दोलनलाई कसरी अगाडि बढाउन सकिन्छ भनेर लागेको छु।
तपाईं टीकापुर घटनामा कसरी जोडिनुभयो?
७ भदौ २०७२ मा टीकापुरमा भएको घटनाबारे मलाई पछि मात्रै थाहा भएको हो। त्यो दिन बिहान साढे ११ बजेसम्म म दाङको लमहीस्थित भुसाल गेस्ट हाउसमा छलफलमा थिएँ। त्यसै दिन बाँकेको कोहलपुरमा आमसभा राखिएको थियो। बाटो बन्द भएकाले गाडी नचलेका कारण मलाई दाङका साथीहरूले मोटरसाइकलमै कोहलपुर ल्याइदिनुभयो। म अन्तिम वक्ता थिएँ, सभामा बोलें। त्यहीक्रममा मलाई बाँकेका सीडीओले टीकापुरमा यस्तो घटना भएछ भनेर सुनाए।
नेताहरूको फोन आउन थाल्यो, त्यसपछि मात्रै मैले घटनाबारे थाहा पाएको हुँ। टीकापुर घटना कसरी घट्यो, को को मानिस थिए, कति मानिस थिए, कहाँबाट आएका थिए, कसरी आएका थिए मलाई केही पनि जानकारी छैन। मलाई एउटा मात्रै चिन्ता थियो, देशभरको थारुहरूको आन्दोलन कमजोर नहोस्। देशभरको थारुहरूको आन्दोलनलाई कसरी निर्णायक बनाउन सकिन्छ भन्ने चिन्ता थियो।
म ७ भदौमा दाङ र बाँकेमा छु। मैले कसरी निर्देशन दिन सक्छु? म त्यतिबेलाको आन्दोलनको नेतृत्व पंक्तिमा पनि थिइनँ। सामान्य कार्यकर्ता थिएँ, म कसरी दोषी हुनसक्छु?
ममाथि मुद्दा चल्ला भन्ने मलाई १ प्रतिशत पनि विश्वास थिएन। १० भदौमा फेसबुकमा मैले लेखें, ‘थारुहरूको पसलमा तोडफोड, आगजनी किन गर्छौ? सक्छौ भने म टीकापुरमै छु, गोली हानेर मार्देऊ।’ यसैलाई आधार मानेर अदालतले मलाई जेलमा हालेको हो।
११ भदौ टीकापुरमा पत्रकार सम्मेलन गरेर १२ भदौमा काठमाडौं फर्किएँ। २० भदौसम्म म काठमाडौंमा थिए। मलाई गिरफ्तारी गरिएन। २१ र २२ भदौमा म भैरहवामा कार्यक्रमका लागि गएँ। देवीराम चौधरीको घरमा बसिरहेको थिएँ। २२ भदौमा जिल्ला प्रहरी कार्यालयको इन्स्पेक्टर आएर एसपी साहेबले चिया खान बोलाउनु भएको छ भन्यो।
मैले तपाईंको गाडीमा आउँदिन, पछि आउँछु भनेर फर्काएँ। खाना खाएर गएँ। १५ मिनेटसम्म सामान्य कुराकानी भयो, त्यसपछि एसपीले तपाईं गिरफ्तार हुनुभयो, माथिको आदेश छ भन्यो। मैले ‘सिधै गिरफ्तार गरेको भए भइहाल्यो नि, चिया खान निम्तो दिएर गिरफ्तार गर्ने?’ भनें।
२३ भदौमा धनगढीमा ल्याएर रातभर यातना दिए। प्रहरीले छोएन। त्यहाँ एक रातका लागि मात्र लगेका गुण्डाहरूबाट थुनुवा कक्षमा हामीमाथि कुटपिट भयो। त्यहाँ रहेका सबै जनालाई साह्रै यातना दिएका थिए।
करीब ३२ दिन जिप्रकामा बस्यौं। त्यसपछि थुनछेक भएर पुर्पक्षका लागि ४२ महीना जेल राखियो। जिल्लाले तीन वर्ष सजाय सुनायो। त्यो मुद्दा सकिएको करीब एक वर्षपछि दिपायल उच्च अदालतले फैसला गर्यो। त्यो थारुहरूको आन्दोलन, भेला, बैठक, छलफल, सभालाई उच्च अदालतले आतंककारी देख्यो। ज्यान मार्ने दस्ताको रूपमा देख्यो। त्यसविरुद्ध हामी सर्वोच्च अदालतमा गएका छौं।
यो ७ भदौ दिउँसोको घटना र त्यससँग सम्बन्धित विषय भए, त्यसै दिन साँझ र ८ भदौमा टीकापुरमा के भयो?
म त्यस साँझ बर्दियाको गुलरिया आएँ। त्यहाँ भन्दा पश्चिम आउने वातावरण थिएन। ७ र ८ भदौमा म त्यहीं बसें। तर, ९ भदौ म टीकापुर आएँ। आउनैपर्ने बाध्यता भयो। किनभने थारुहरूको घर छानीछानी आगजनी, लुटपाट र तोडफोड भएको थियो। त्यसो गर्नका लागि प्रहरीको संरक्षणमा जत्था परिचालित थियो। कर्फ्यूको बेला पछाडि प्रहरी र अगाडि अखण्ड सुदूरपश्चिमका गुण्डाहरूले थारुहरूका घरमा लुटपाट र आगजनी गरे। यो पञ्चायती तानाशाहभन्दा क्रुर दमन थियो।
८ र ९ भदौमा थारुहरूको घर, पसल, एफएम, रिसोर्टमाथि आगजनी, तोडफोड र लुटपाट गर्नेमाथि मुद्दा हाल्न थारुहरू गए। निवेदन दर्ता भएन। त्यसपछि चिठीमार्फत् जाहेरी दर्ता गर्न खोजियो। त्यो पनि भएन। इलाका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयमा बारम्बार निवेदन दर्ता गर्ने प्रयास भयो, अहिलेसम्म पनि त्यो सम्भव भएको छैन।
टीकापुर घटनाले थरुहट/थारुवान आन्दोलनलाई कमजोर बनाएजस्तो लाग्दैन?
थारु आन्दोलन र थारुहरूको राजनीतिक नेतृत्वलाई कमजोर बनाउने काम गर्यो। आन्दोनल केही पछि धकेलियो। तर, शान्तिपूर्ण आन्दोलनमा कुनै पनि दमन काम लाग्दैन।
७ भदौको दुर्भाग्यपूर्ण घटनालाई शुरूमा थारुहरूलाई हिंस्रक जत्था देखेर प्रचार गर्ने कांग्रेस, एमाले, माओवादीका नेताहरू र मिडियाले अहिले महशुस गर्दैछन्। थारुहरूको आन्दोलनलाई दबाउनका लागि, उनीहरूका माग पूरा नगर्ने बहाना बनाउनका लागि त्यहाँ घुसपैठ गराइएको थियो। त्यो कुरा हामीले पछि मात्रै थाहा पायौं।
तपाईँ ७ भदौको घटनामा घुसपैठ भएको दाबी गर्नुहुन्छ। तपाईंहरू संलग्न भएको सरकारको आरोप छ। उक्त घटनामा परी ज्यान गुमाउने व्यक्ति र उनीहरूका परिवारप्रति तपाईं अहिले के टिप्पणी गर्नुहुन्छ?
टीकापुरमा दुर्भाग्यपूर्ण हिंसात्मक घटना भयो। दुःखद भयो। ज्यान जानेप्रति हामीले खेद र समवेदना प्रकट गरीसकेका छौं। मान्छे मारिनु राम्रो कुरा हुँदै होइन। तर, थारुहरूका कारण त्यहाँ घटना घटेको होइन। त्यो घटना कसरी घट्यो, त्यसमा दोषी को हो भन्ने कुरा प्रतिवेदनमा छ।
लाल आयोगको प्रतिवेदन लुकाइएको छ, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख देवीराम शर्माको प्रतिवेदन राज्यले दिनसक्नुपर्यो नी। जसको ज्यान गयो, त्यो दुःखद छ। किनभने मान्छे मारिनु हुँदैन। हामी शान्ति चाहन्छौं। सद्भाव चाहन्छौं।