के हो कोरोना विरुद्धको औषधि टोसिलिजुमाब? किन भइरहेको छ अभाव?
हाल टोसिलिजुमाब औषधि नेपालमा उपलब्ध छैन। बिरामी र तिनका आफन्तले भारत, युएई लगायत विभिन्न देशबाट महँगो शुल्क तिरेर मगाउने गरेका छन्। त्यसरी किन्दा नक्कली पर्न सक्ने, ठगिने जोखिम छ।
कोभिड-१९ संक्रमण भएपछि नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) रमेश खरेल गत जेठमा प्रहरी अस्पताल भर्ना भए। उपचारका क्रममा टोसिलिजुमाब एक्टेम्रा नामक औषधि (नसामा लगाइने सुई) चाहिने भयो। भेन्टिलेटरमा रहेका खरेललाई उनका एक शुभचिन्तकले भारतबाट औषिध पठाइदिए।
“एक डोज लगाएपछि विस्तारै ठीक भएँ,” हिमालखबरसँग खरेलले भने, “१८ दिनसम्म अस्पताल बस्नु परेको थियो, एकदम क्रिटिकल अवस्थामा पुगेको थिएँ। मेरो अवस्थाबारे थाहा पाएपछि उहाँले सहयोग गर्छु भन्नुभयो। सन्चो भएपछि मैले उहाँसँग औषधि र त्यसको मूल्यबारे सोध्दा ‘कुरै नगर्नुस्’ भनेर टार्नुभयो। औषधि निकै महँगो छ रे। तर, यसबारे धेरै भन्न सक्दिनँ।”
पछिल्लो समय कोरोना संक्रमणको उपचारका लागि टोसिलिजुमाबको निकै माग बढेको छ। पहिले-पहिले रेम्डेसिभिर, प्लाज्मा थेरापी जस्ता औषधि र विधिले कोरोनाभाइरसको उपचारमा मद्दत गर्ने अपेक्षासहित प्रयोग बढेको थियो। ती खासै प्रभावकारी छैनन् भन्ने बुझिएपछि चिकित्सकहरू टोसिलिजुमाबजस्ता मनोक्लोनल एन्टिबडीतर्फ मोडिएका हुन्।
“ज्यान बचाउन हामी नयाँ-नयाँ विकल्प खोजिरहेका हुन्छौं,” कोभिड-१९ को उपचारमा संलग्न डा. शेरबहादुर पुन भन्छन्, “खोजि-नीति हुँदै जाँदा अहिले यो औषधि (टोसिलिजुमाब) अलि बढी प्रभावकारी देखिएको छ।”
डा. पुनका अनुसार टोसिलिजुमाबले कोरोनाभाइरसलाई मार्दैन, तर संक्रमण मत्थर गर्न केही हदसम्म सघाउँछ। “टोसिलिजुमाबले आगो बलिरहेको ठाउँमा दमकलको जस्तो काम गर्छ,” उनी भन्छन्, “तर, यसबारे अध्ययन-अनुसन्धान जारी नै भएकाले अहिले नै विस्तृतमा भन्न सकिँदैन।”
कोभिडअघि टोसिलिजुमाबको प्रयोग जोर्नीको दुखाइ कम गर्नका लागि गरिन्थ्यो। पछिल्लो समय विदेशमा भएका कतिपय अध्ययनले यो औषधि कोभिड-१९ का बिरामीको उपचारका लागि सहयोगी हुने देखाएका थिए। केही समयअघि द इकोनमिस्टमा प्रकाशित एक लेखमा टोसिलिजुमाब र सारिलुमाब नामक औषधिले कोरोनाबाट हुने मृत्युलाई एक चौथाइले घटाएको भनेर पुष्टि गर्ने एक परीक्षणबारे उल्लेख थियो।
गम्भिर बिरामी भएर आईसीयू र भेटिन्लेटरमा पुगेपछि र बिरामीको अवस्था हेरेर मात्रै टोसिलिजुमाब इन्जेक्सन लगाइने गरिएको डा. पुनले बताए। मोडरेट र सिभिअर (गम्भिर) अवस्थामा बिरामीलाई ४ सय एमजीको एक डोज खोप दिने गरिन्छ। कहिलेकाहीँ दुई डोजसम्म चाहिने चिकित्सकहरू बताउँछन्।
हाल यो औषधि नेपालमा उपलब्ध छैन। बिरामी र उनीहरूका आफन्तले भारत, यूएई लगायत देशबाट महँगो शुल्क तिरेर मगाउने गरेका छन्। कतिले त्यसरी पनि पाउन सकेका छैनन्। खोप ल्याउन एजेन्टहरू सलबलाएका छन्। नेपालमा मौज्दात टोसिलिजुमाबको एक हजार भायल प्रयोग भइसकेकाले अहिले बजारमा यसको अभाव रहेको औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसी बताउँछन्।
काठमाडौंको ह्याम्स अस्पतालमा भर्ना भएका आफ्ना ज्वाइलाई टोसिलिजुमाब चाहिने भएपछि बुढानीलकण्ठका मोहन दाहाल दुई हप्ताअघि निकै भौतारिए। “एकजना औषधि पसलेले भारतबाट मगाइदिन्छु भनेका थिए, तर उनले ल्याउन सकेनन्,” दाहाल भन्छन्, “एक भायलकै तीन लाख रुपैयाँ पर्दो रहेछ, तर त्यो लगाएपछि पनि ठीक हुन्छ भन्ने ग्यारेन्टी छैन रे। डाक्टरले चाहियो भनेपछि खोज्नै पर्यो।”
डब्लुएचओले कोटा तोकेर विभिन्न देशलाई यो औषधी उपलब्ध गराइरहेको केसीले बताए । उनका अनुसार जहाज अवरुद्ध भएकाले जेनेभाबाट औषधी नआएपछि बजारमा हाहाकार मच्चिएको हो ।
नयाँ र विश्वभर सर्वाधिक माग भएकाले औषधि महँगो परेको औषधि व्यवस्था विभागका सूचना अधिकारी केसी बताउँछन्। तर, जसरी अहिले लाखौं मूल्यको कुरा भइरहेको छ, त्यतिविघ्न नपर्ने बुझियो। वास्तवमा यसको मूल्य रु. ५८ हजार ५०० तोकिएको छ। “विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नै सिफारिश गरेको हुनाले विश्वभर यसको माग छ अहिले,” केसी भन्छन्, “हामीकहाँ एक-दुई दिनभित्रमै २०० भायल आउँदै छ।”
डब्लुएचओले कोटा तोकेर विभिन्न देशलाई यो औषधि उपलब्ध गराइरहेको केसीले बताए। उनका अनुसार जहाज अवरुद्ध भएकाले जेनेभाबाट औषधि नआएपछि बजारमा अभाव देखिएको हो। “हामीले बाङ्लादेशबाट पनि ल्याउन खोजेका थियौं, तर निकै महँगो पर्ने भएपछि सकिएन,” उनी भन्छन्, “अब केही समय डब्लुएचओकै भर पर्नुपर्नेछ।”
सरकारले बेलैमा तदारुकता नदेखाएकाले अहिले यस्तो अवस्था आएको स्वास्थ क्षेत्रका विज्ञहरू बताउँछन्। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गत जेठमा सावर्जनिक गरेको एक अध्ययनमा कोरोनाभाइरस विरुद्ध लड्न पूर्वतयारीको अवस्था कमजोर रहेको उल्लेख छ। डेल्टाजस्ता झन्-झन् कडा भेरिअन्ट आउने जानकारी हुँदाहुँदै पनि सरकारले सयममै तयारी नगरेको भन्दै धेरैले आक्रोस पोख्ने गरेका छन्।
अधिकांश कोरोना क्लिनिकमा हाइड्रोक्सीक्लोरिन, अजिथ्रोमाइसिन जस्ता औषधिहरू उपलब्ध भए पनि कोभिड-१९ मा प्रभावकारी मानिएको रेम्डेसिभिर, टोसिलिजुमाब जस्ता औषधी कतै नरहेको अध्ययनले देखाएको थियो। तर, सरकारी प्रतिनिधिहरू भने पहल गर्दागर्दै पनि ल्याउन नसिकएको बताउँछन्।
“औषधी आउँदै छ, फ्लाइट अड्केर मात्रै ढिला भएको हो,” औषधी व्यवस्था विभागका केसी भन्छन्, “सर्वसाधारणले जहाँ पायो त्यहीँबाट महँगोमा औषधि किन्नु भएन। त्यो नक्कली पर्न सक्छ। त्यसले कुनै काम नगर्ला।”
टोसिलिजुमाब इम्युनोसप्रेसिभ औषधि हो। यसले अधिक मात्रामा उत्पादन भएर शरीरलाई उल्टै हानी गरिरहेको प्रतिरोधात्मक क्षमतालाई मत्थर पार्छ।
“कोरोनाभाइरसले आक्रमण गर्दा शरीरले त्यसलाई परास्त गर्न अधिक मात्रामा प्रतिरोधात्मक क्षमता बढाएको हुन्छ,” डा. पुन भन्छन्, “त्यो बेला शरीरले साइटोकाइन नामक रोग प्रतिरोधात्मक प्रोटिनको उत्पादन गर्छ। त्यसको उत्पादन ज्यादै धेरै भएपछि शरीरभित्र साइटोकाइन स्टाेर्म (आँधी) को अवस्था आउँछ। यो पक्रियामा थुप्रै स्वस्थ कोशिकाहरू नष्ट हुन थाल्छन्। त्यसलाई रोक्न टोसिलिजुमाबजस्ता इम्युनोसप्रेसिभ औषधि चलाइन्छ।”
द इकोनोमिस्टले यो औषधी महँगो भएकाले विकासशील देशका लागि सुलभ नहुने उल्लेख गरेकाे थियो। बेलायतमै यसको मूल्य ७५० पाउन्डदेखि १ हजार पाउन्डसम्म पर्ने बताइन्छ। बेलायतको नेसनल हेल्थ सर्भिसेजले आईसीयूमा उपचाररत बिरामीलाई टोसिलिजुमाब दिने घोषणा गरिसकेको छ। यसको निर्यातमा पनि रोक लगाएको छ।
भारतमा टोसिलिजुमाबको कालोबजारी बढेको भन्दै प्रशासनले हाल कडाइ गरेको छ। केही दिनअघि मुम्बइ प्रहरीले तोकिएको मूल्यभन्दा तीन गुणा बढी अर्थात १ लाख भारतीय रुपैयाँमा टोसिलिजुमाब बेच्ने गरेका एक युवालाई पक्राउ गरेको थियो।
मुम्बइ प्रहरीको अपराध शाखा र खाद्य एवं औषधी प्रशासनले उनीसँग रहेको टोसिलिजुमाबका १५ वटा शिशि जफत गरेको थियो। हामीकहाँ पनि भारत र अन्य देशबाट औषधी ल्याई जथाभावी मूल्य बढाएर बेच्ने गरिएको छ। तर, यसबारे खोजखबर भएको छैन।