महारानी राज्यलक्ष्मीको शंकास्पद सम्बन्ध र नयराज पन्तको ‘राजद्रोह’
राजा राजेन्द्रकी कान्छी महारानीको जनरल गगनसिंहसँगको शंकास्पद सम्बन्धबारे उवेलाको श्लोक १३३ वर्षपछि, २०३६ सालमा उद्धृत गर्दा विद्वान नयराज पन्तलाई प्रज्ञा प्रतिष्ठानकै सहकर्मीहरूले राजद्रोहसम्मको आरोप लगाए। आरोप लगाउनेहरू थिए- माधवप्रसाद घिमिरे, विजय मल्ल र भूपी शेरचनहरू।
तत्कालीन राजा राजेन्द्रविक्रम शाहकी कान्छी महारानी जब शक्तिशाली बनेर निस्किइन्, त्यतिखेरै दरबारका सुसारेहरूमा पनि रोबरवाफ देखिन थाल्यो । आफूनिकट सुसारेमार्फत आफ्नो चाकरी महारानीसमक्ष पुर्याउन दरबारका भारदारहरू लालायित हुन्थे । यसका लागि भारदारहरूले एक न एक सुसारे च्यापेका हुन्थे ।
राजा राजेन्द्रको अंगरक्षकका रूपमा कप्तान दर्जामा सेवा गरिरहेको बेला जंगबहादुर राणा पनि सुसारे पुतली मैयासँग लहसिएका थिए । उनै सुसारेमार्फत आएको सूचनाअनुसार योजना बनाउँदै जाँदा उनी कालान्तरमा शक्तिशाली शासकका रूपमा उदाए ।
भण्डारखाल पर्वपछि प्रधानमन्त्रीका रूपमा आफ्नो उदय भएपछि उनले पुतली मैयालाई हनुमानढोकाबाट थापाथली दरबारमा ल्याई रानी पद दिएको इतिहासकार पुरुषोत्तमशमशेर राणाको पुस्तक ‘श्री ३ हरूको तथ्यवृत्तान्त’ (२०६५ः१९०) मा पढ्न पाइन्छ।
दरबारमा सुसारेहरू यसरी सल्बलाइरहेको बेला एक जना सुवेदार दर्जाका सैनिकलाई लप्टन हुने महत्वाकांक्षा जाग्छ । आकांक्षा पूर्ति गर्न उनी पनि दरबारकी एक सुसारेलाई हात लिन्छन् । तिनै सुसारेमार्फत तत्कालीन शक्तिशाली महारानीबाट उनलाई लप्टन हुने लिखत दिइन्छ । लप्टन हुन लालायित ती सुबेदारको हातमा त्यो लिखत पुगिसकेको हुन्छ ।
एक दिन ती सुबेदारको अर्का लप्टनसँग भेट हुन्छ ।
महारानीबाट लप्टनको लिखत पाइसकेका ती सुबेदारले ती लप्टनको शिरको फूली खोसेर आफ्नो शिरमा पहिरिन्छन् । यसरी जबरजस्ती पदच्यूत ती लप्टन चिच्याउँछन्- ‘दरबारमा काजी र रानीबीच लसपस छ ।’
यो प्रसङ्ग जंगबहादुर राणाका छोरा पद्मजंग राणाको पुस्तक ‘जंगबहादुर राणाको जीवनयात्रा’ (२०७४ः४७) मा पढ्न पाइन्छ ।
यसरी लप्टन पद खोसिने देवीबहादुर कुँवर थिए । उनले राजेन्द्रकी कान्छी महारानी राज्यलक्ष्मी र त्यतिखेरका रानीका विश्वासपात्र जनरल गगनसिंहबीच अनैतिक सम्बन्ध रहेको पोल दुस्साहसपूर्वक सार्वजनिक गरिदिएका थिए।
आफ्नी जेठी सौतातिरबाट जन्मेका जन्मजात उत्तराधिकारी युवराज सुरेन्द्रविक्रमको ठाउँमा आफ्ना छोरा रणेन्द्रविक्रमलाई भावी राजा बनाउने उद्देश्यले अनेकौं महत्वाकांक्षाका साथ षडयन्त्रपूर्ण राजनीतिमा होमिएकी तत्कालीन महारानी राज्यलक्ष्मीले दरबारका सुसारेहरूलाई भरमग्दुर प्रयोग गरेकी थिइन्।
आफ्नो उद्देश्य परिपूर्ति गर्न धेरै सैनिक अफिसरहरू तत्कालीन रानीसमक्ष पुग्नका लागि सुसारेहरूको सहयोग लिने क्रममा दरबारका एक जना लप्टन (जंगबहादुरका काका बलरामका छोरा देवीबहादुर कुँवर) पनि एक जना दरबारकी द्वारेसँग सल्किएका थिए भनी इतिहासकार ज्ञानमणि नेपालले आफ्नो पुस्तक ‘नेपालको महाभारत’ (२०५२ः२३८) मा उल्लेख गरेका छन् । उनका अनुसार द्वारेबाट पाएको महारानीका चरित्रसम्बन्धी नाटीखुटीका कुरा गरेकै कारण उनले प्राणदण्डको सजाय पाए ।
यो सजाय रोक्न जंगबहादुरले सक्रियता देखाए । तर समयक्रममा आफ्नो आग्रह अस्वीकार गर्ने तत्कालीन प्रधानमन्त्री सहोदर मामा माथवरसिंह थापाको हत्या गर्न जंगबहादुर पनि पछि हटेनन् ।
महारानीको शंकास्पद सम्बन्ध
रानीका अति विश्वासपात्र तत्कालीन जनरल गगनसिंहको रातको ९-१० बजे ढोकाटोलस्थित उनकै निवासमा हत्या गरियो। हत्या कसले गर्यो हालसम्म कसैले यकिन साथ भन्न सकेका छैनन् । इतिहासमा ‘लाल झा’ नामका हत्याराले गगनसिंहको हत्या गरे भनी प्रचारमा ल्याइएको छ ।
पर्सिभल ल्याण्डनको पुस्तक ‘नेपाल’ मा ‘राजा राजेन्द्रले सुरेन्द्र र उपेन्द्रलाई बोलाई गगनसिंहलाई मारेर परिवारको इज्जत बचाउन’ भनेको भनी उल्लेख गरिएकोलाई प्रकाश ए. राजले ‘कोतपर्वकी महारानी राज्यलक्ष्मी’ (२०६१ः२४) पुस्तकमा चन्द्रशमशेरद्वारा लेखाइएको ल्याण्डनको यस पुस्तकमा उल्लिखित उक्त प्रसङ्गमा आशंका प्रकट गरेका छन्।
सोही पुस्तक (पृष्ठ उही) अनुसार वि.सं. १८९८ मा सौता साम्राज्यलक्ष्मीको देहान्त भएपछि राज्यलक्ष्मी शक्तिशाली बन्न पुगिन्। त्यसबेला उनी २४ वर्षकी नौजवान थिइन्। उनी २८ वर्षकी हुँदा त राजा राजेन्द्रबाट राजपरिवारका सदस्यबाहेक अन्य सबैलाई सजाय गर्ने, देश निष्कासन गर्ने र पजनी गर्ने अधिकारसमेत प्राप्त गरेकी थिइन्। तर आफ्ना अति विश्वासपात्र जनरल गगनसिंहको हत्या र जंगबहादुरको उदयपछि उनको शक्ति छिन्नभिन्न भयो। र, उनी २९ वर्षकै उमेरमा बनारस निर्वासित हुनुपर्यो।
गगनसिंहको हत्यापछि महारानी राज्यलक्ष्मी गगनसिंहको घर पुगिन् । त्यतिखेर उनको हातमा नाङ्गो तरबार थियो । पुरातत्व विभागको मुखपत्र ‘प्राचीन नेपाल’ को सङ्ख्या २५ (२०३० कात्तिकः १६) अनुसार त्यहाँ पुगेर महारानीले आदेश दिइन्, “यिनको लास उठाउन हुँदैन । मुण्डको मुण्ड नजोरी मान्दिनँ । विना कसुर विना हुकुमले भारदारको खेलले मारे । अब श्री ५ महाराजलाई बक्साई निसाव गर्छौं ।”
त्यतिखेर दाउ छोपेर बसेका जंगबहादुरले ‘मलाई हुकुम बक्से ददा जनरल गगनसिंहलाई मार्ने भारदार पत्ता लगाई सजाय गर्दा हुँ’ भनी आदेश मागे । रानीबाट आदेश भयो, ‘हुन्छ जंगबहादुर लौ मार । तलाईं हुकुम भयो ।’
अनि मच्चियो कोतपर्व । त्यसपछि नेपालको राजनीतिले अर्कै मोड लियो ।
आफ्ना छोरा रणेन्द्रलाई युवराज बनाउने ठूलो सपना थियो, राज्यलक्ष्मीको । यसका लागि उनले गगनसिंहलाई विश्वासमा लिएकी थिइन् । ‘प्राचीन नेपाल’ को सङ्ख्या २५ (कात्तिक २०३०ः१५) अनुसार माथवरसिंहको हत्यापछि १६ पल्टनमध्ये गगनसिंहको हातमा सात पल्टन दिइएको थियो ।
महारानी राज्यलक्ष्मी र गगनसिंहबीच राजनीतिक सम्बन्ध मात्र थिएन, प्रेम सम्बन्ध समेत थियो भनी कतिपय लेखकले लेखेका छन् । तीमध्ये एक हुन्, हेनरी एम्ब्रोस ओल्डफिल्ड । उनले आफ्नो पुस्तक ‘स्केचेज् फ्रम् निपाल’ (सन् २००५ः३४४)मा ‘माथवरसिंहको हत्यापछि राज्यको सम्पूर्ण अधिकार महारानी र उनका प्रेमी गगनसिंहको हातमा आयो’ भनी उल्लेख गरेका छन् ।
प्रकाश ए. राजको ‘कोतपर्वकी महारानी राज्यलक्ष्मी’ (२०६१ः२४) अनुसार गगनसिंहको जन्म १८५३ साल र राज्यलक्ष्मीको जन्म १८७४ (अनुमानित) भएकोले यी दुईबीच २१ वर्षको फरक थियो । पुस्तकमा भएको जन्म साल अनुसार गगनसिंह कोतपर्व भएको बेला ५० वर्षका देखिन्छन् ।
राज्यलक्ष्मीको गगनसिंहसँग मात्र होइन, दलबहादुर थापा नामका सैन्य अधिकारीसँग पनि यौनसम्बन्ध भएको र बनारसमा राज्यलक्ष्मीले तीन महीनाको गर्भपतन गराएको आरोपसमेत लगाइएको छ ।
इतिहासकार दिनेशराज पन्तले ‘पूर्णिमा’ को पूर्णाङ्क ७० (असोज २०४३ः३१–३७)मा महारानी राज्यलक्ष्मीसँग सम्बन्धित ६ वटा अप्रकाशित पत्र प्रकाशमा ल्याएका छन् । तीमध्ये १९०६ आषाढ सुदी १० रोज ७ मा राजा सुरेन्द्रले आफ्ना साहिंला भाइ रणेन्द्र र काहिंला भाइ वीरेन्द्रका नाममा लेखेको पत्रमा दलबहादुर थापासँगको अवैध यौन सम्बन्धपछि उनकी आमा (राज्यलक्ष्मी)ले तीन महीनाको गर्भ तुहाएको र भाइहरूलाई पानी नै कटाउनुपर्ने अवस्था आएकोले तुरुन्त पतिया लिन र पतिया नलिए भातभान्साबाट छुटाइने समेत उल्लेख गरिएको छ। पत्रको व्यहोरा यस्तो छः
साहिंला भाइ काहिंला भाइ
तिम्रो मुमालाई कालिदासका भाइले दलबहादुरसँगको व्यभिचार हुँदा तीन महीनाको गर्भ तुहाएको म थाहा पाउँछु भनी हाम्रा हजुरमा बिन्ती गर्दा तिम्री मुमालाई झिकाइएको हो । तिम्रा मुमाले ६ महीनासम्म नआउँदा र बनारसमा रहेका तिम्रा नोकरीमा रहेका अरूले पनि यही कुरा यत्रतत्रबाट भन्दा साँचो रहेछ भन्ने सबैका मनमा पर्याे।
तसर्थ तिम्रा मुमालाई हाम्रा मुलुकमा रहन, हाम्रा आशा राख्न पर्वतेहरूले खानपान नगर्नु भनी हटाइबक्स्यौं । तिमीहरूले पनि भोरमा खानपान गरेको कुरामा धर्माधिकारको पतिया लिइहाल। पतिया नलिई मायामा काया हाल्यौ भने पछि तिमीहरूको बिग्रला।
तिम्रो र हाम्रो भात भान्सा जात पिण्ड जुठो फरक भयो। पतिया लियौ भने भातभान्सा फरक भएनौ । जस्तो अघि भाइ हौ, त्यस्तै छँदैछौ। राणा राजपुत हुँ गोरखाको पैदा हो भने जमामार्दि थामौला। मावली गोत्र गएछौ भने हामीदेखि फरक भयौ।
पत्रमा उल्लिखित कालिदास वैद्य हुन् भने दलबहादुर थापा चाहिं सेनाका कप्तान हुन् ।
यस्तै बुढा महाराज राजेन्द्रविक्रम शाहले विगतमा राज्यलक्ष्मीको व्यभिचार गगनसिंहसँग पनि भएको उल्लेख गर्दै राजगुरु विजयराज पाण्डे बनारस जाँदा राज्यलक्ष्मी गगनसिंह र दलबहादुरसँग बिग्रेको साल, महीना र दिनसमेत पत्ता लगाउन आदेश दिएका छन् ।
पत्रमा राज्यलक्ष्मीलाई ‘जैसिंहकी बहिनी’ भनिएकोले उनका दाजुको नाम जैसिंह रहेको देखिन्छ । १९०७ मार्ग सुदी ३ रोज ६ मा लेखेको पत्रको व्यहोरा यस्तो छ:
श्री ६ गुरुराज पण्डित विजयराज पण्डितको पाउमा प्रणाम। यसपाला तपाईं काशी जानु हुँदा काशी पुग्नु भई जैसिंका बहिनी गगनसिंह खवाससँग कुन साल कुन महीनाको कुन दिन बिग्रेकी रहिछिन्? दलबहादुर थापासँग कुन दिन कुन महीना कुन साल बिग्रेकी रहिछन्? जस्ताको तस्तै ठहर्याउनु भई जैसिंकी बहिनीको र दलबहादुरको कायलनामा लेखाई सही हाली दुवै कायलनामा लिइकन आउनुहोला र म प्रायश्चित गरिबक्सुँला।
नयराज पन्त विरुद्ध माधव घिमिरेहरू
राजा राजेन्द्रविक्रम शाह कालको झण्डै १३३ वर्षपछि (कोतपर्व भएको साललाई आधार बनाउँदा) यही विषयमा निकै ठूलो किचलो मच्चियो । यही ऐतिहासिक प्रसंगलाई काव्यात्मक शैलीमा एक नेपाली विद्वानले उल्लेख गर्दा उनीमाथि ‘राजद्रोह’ को अभियोग लगाउनेसम्मको कुरा मात्र चलेन, दरबारसम्मै कुरा पुग्यो ।
२०३६ सालमा तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका सदस्यका रूपमा नयराज पन्तको प्रज्ञा भवनमा प्रवेश भयो । प्रतिष्ठानबाट प्राप्त जिम्मेवारीमध्ये उनले तीन–तीन महीनामा जंगबहादुर राणासम्बन्धी प्रवचन दिने क्रममा २०३६ साल असार ३२ गते ‘जंगबहादुरको अङ्ग्रेजसँग षाडगुण्य’ शीर्षकमा प्रवचन दिए । कात्तिक ९ गते ‘जंगबहादुरको राजभक्ति’ शीर्षकमा नयराजको दोस्रो प्रवचन भयो ।
डा. महेशराज पन्तको सम्पादनमा प्रकाशित पुस्तक ‘को हुन् त नयराज पन्त’ (२०७१ः२०७–११०) अनुसार त्यहाँ उनले यस्तो श्लोक उल्लेख गरेका थिएः
हाम्रा राजा तरङ्गी कलुषितचरिता राजपत्नी हुनाले
धेरैले दुःख पाए मूलुक पनि भताभुङ्ग बन्दो छ ऐले ।
पृथ्वीनारायणाख्य प्रथित नृपतिको बुद्धिले जोडिएको
हाम्रो यो देश ऐले कुमति नृपतिको कामले डुब्न आँट्यो।।
यो श्लोकले प्रज्ञा प्रतिष्ठानमा ठूलो तहल्का मच्चायो । त्यतिखेर प्रज्ञाका कुलपति लैनसिंह बाङ्देल थिए । श्लोकमा भनिएको कुमति भएका राजा भनी तत्कालीन राजा वीरेन्द्र र चरित्र नराम्रो भएको रानी भनी रानी ऐश्वर्यलाई लक्षित गरी भनिएको भन्दै कोकोहोलो मच्चाउनेहरूको नेतृत्व तत्कालीन उपकुलपति माधव घिमिरेले गरेका थिए। उनलाई साथ दिने प्राज्ञहरू थिए– सदस्य सचिव विजय मल्ल, बालकृष्ण पोखरेल, भूपी शेरचन र ढुण्डिराज भण्डारी।
उक्त श्लोकसहितको नयराज पन्तको प्रवचन लेखका रूपमा ‘प्रज्ञा’ को पूर्णाङ्क २८ मा छापिएर वितरणका लागि ठिक्क पारिएको थियो । तर, त्यतिखेरै नयराजमाथि उक्त श्लोक हटाउन चर्को दबाब आयो । तर नयराज आफ्नो अडानमा अडिग रहे।
आफ्नो दरबार भक्तिलाई चरम रूपमा प्रस्तुत गरी एउटा विद्वानलाई पदच्यूत गर्ने अभियानमा लागेका मध्येका ढुण्डिराज भण्डारीले नयराज पन्तलाई लेखमा उल्लेख ‘आपत्तिजनक’ हरफहरूमा अण्डरलाइन गरी दरबारमा पेश गर्नेसम्मको धम्की दिए । त्यसपछि न्याय माग्न नयराज बाङ्देलसमक्ष गए । तर उनले पनि ‘माधव घिमिरेहरू मान्दै मान्दैनन्’ भनी पन्छाए।
नयराजसँगै प्राज्ञका रूपमा नियुक्ति पाएका डा. तीर्थबहादुर श्रेष्ठ (२०५९ः९) लाई पादटिप्पणीमा राख्दै ‘को हुन् त नयराज पन्त’ (उहीः२१०) मा उल्लेख भएअनुसार नयराज एक दिन आफ्ना सहयोगीलाई पिठ्यूँभरि धोबीले लुगा बोके जस्तो गरी एउटा तन्नाभरि किताबहरू राखी तत्कालीन अर्का प्राज्ञ श्रेष्ठको कार्यकक्ष पुगे।
नयराज आफ्नो सहायकलाई प्रत्येक पुस्तकको पृष्ठ उच्चारण गर्दै पढ्न भन्थे। उनले कुमतिमा लागेको राजा भनी तत्कालीन राजालाई नभई राजा राजेन्द्रलाई र कलुषित चरित्र भएकी रानी भनेर राजेन्द्रकी कान्छी महारानीलाई भनिएको भन्ने तर्क राख्दै यो विषय सिल्भाँ लेभीसम्मले लेखेका तथा सयौं वर्षसम्म पनि कतैबाट कसैबाट विरोध नआउने तर नयराजले लेख्दा विरोध आउने? भन्दै ताण्डव नृत्य नै देखाए।
यो विषय दरबारसम्म पुग्यो।
हुँदाहुँदै माधव घिमिरेहरूले ‘यदि तपाईं श्लोक हटाउनुहुन्न भने हामी च्यात्छौं’ भन्न थालेपछि नयराजले पनि ‘तपाईंहरू बलवान हुनुहुन्छ भने च्यात्नुहोस्’ भनी हाँक दिए । उक्त लेख च्यातिएरै ‘प्रज्ञा’ को उक्त अङ्क २८ मा खाली भएको पृष्ठमा राजाहरू पृथ्वीनारायण शाह, त्रिभुवन, महेन्द्र र वीरेन्द्रका वाणीहरूले भरिए ।
यसरी आफ्नो लेख च्यातिएपछि नयराजले ‘प्रज्ञा’ को सम्पादक मण्डलबाट तत्कालै राजीनामा दिएको तत्कालीन प्राज्ञ डा. तीर्थबहादुर श्रेष्ठको सम्झना शेषराज शिवाकोटीद्वारा सम्पादित ‘नेपालका बौद्धिक विभूति नयराज पन्त’ (२०६२ः१७) मा पढ्न पाइन्छ ।
यसरी नयराजको लेख च्यातेर दरबारभक्ति प्रकट गरिसकेपछि माधव घिमिरेहरूले सोचेका थिए होलान्, नयराज पन्तलाई राजद्रोहसम्म लाग्छ, उनको पदच्यूत हुन्छ। तर परिणाम उल्टो भयो। घटनाको एक वर्षपछि २०३७ सालमा आफ्नो जन्मदिनको अवसरमा राजा वीरेन्द्रबाट नयराजले गोरखा दक्षिण बाहु (दोस्रो) पदक प्राप्त गरे।
कुनै बेला नयराजको सहायकको रूपमा काम गरेका रुक्मनाथ पौडेलले नयराजबाट जीवनको उक्त घटना बारे सुन्ने अवसर पाएका थिए । पौडेलले यस लेखकसँगको संवाद (५ कात्तिक, २०७६) मा उल्लेख गरे अनुसार नयराजले राजाबाट विभूषण घोषणा गरिसकेपछिको क्षण यस्तो छः
बिहानै रेडियोले विभूषण पाउनेको नाम घोषणा गरिसकेको थियो । बिहान १० बजे नयराज प्रज्ञा परिसरमा पुग्दा मूल गेटमा माधव घिमिरेले बडो उत्साहित र खुशी प्रकट गरेजस्तो गरेर भने, ‘बधाई !’
“नमस्कार, यो सबै तपाईंहरूको कृपाले गर्दा भएको हो” यति भनेर नयराज सरासर आफ्नो कार्यकक्षतिर बढे । त्यतिखेर माधव घिमिरेको अनुहार हेर्नलायक थियो ।
नयराज आफ्ना चेला तथा सहायकहरूलाई भन्थे, “राजाको पाउमा विद्या चढाउने होइन। मसँग अहिलेसम्म राजा र देवता रिसाएका छैनन्। यदि रिसाएका भए म विरुद्ध यतिका मानिस खनिंदा राजाबाट कारबाही हुनुपर्ने हो। राजा नरिसाएकै कारण मेरो वृत्ति चलिरहेको छ। देवता रिसाएको भए म रोगी हुनुपर्ने हो, तर देवता नरिसाएकै कारण म आजसम्म निरोगी छु र विद्याको काम गर्न सकिरहेको छु।”