किन सञ्चारमाध्यमको प्राथमिकतामा पर्दैनन् महिलाका विषय?
स्थानीयदेखि राष्ट्रिय स्तरका सञ्चारमाध्यममा पुरुष र पुरुषवादी सोच हाबी हुँदा महिला र महिलासँग सम्बन्धित विषयले प्राथमिकता पाउन सकेका छैनन्।
कोभिड-१९ का पहिलो लहर चलेलगत्तै लगाइएको बन्दाबन्दीमा गत वर्ष घरबाटै बीबीसी नेपाली सेवामा अन्तर्वार्ता दिए। मनोविद् गंगा पाठकसँगै दिएको त्यो अन्तर्वार्ता कोरोनाभाइरसको महामारीमै केन्द्रित थियो।
अहिले तेस्रो लहर आउने समाचार आइरहेको बेला गत साता अर्को अन्तर्वार्तामा सहभागी भए। रेडियो नेपालको कार्यक्रम ‘आजका नारी’ कार्यक्रमका लागि दिएको अन्तर्वार्ता पनि घरैबाट थियो। प्रस्तोता चन्दा विष्टले समसामयिक विषयमा सोधेका प्रश्नको जवाफ दिए। उनले यसलाई सामाजिक सञ्जालमा पनि राख्ने गरेकी रहेछन्।
यी दुई प्रशंग निकाल्नुको उद्देश्य हो, सञ्चारसँगको सम्बन्ध जोड्नु। केही वर्षअघिसम्म विज्ञानको युग भन्ने गरिन्थ्यो, अहिले सञ्चारको युग भन्न थालिएको छ। त्यसैले त यस्तो विषम परिस्थितिमा पनि घरमै बसेर आफ्नो कुरा सबैलाई सुनाउन सजिलो भयो।
अर्कोतिर, दुवै अन्तर्वार्ता सुनेर कतिले प्रतिक्रिया दिए, कतिले सुन्नका लागि सामाजिक सञ्चालनमा लिंक मागे। नियमित रुपमा पत्रपत्रिका नपढ्ने दिदीबहिनीले पनि रेडियोबाट अन्तर्वार्ता सुनेको बताए। कतिपयले फेसबुकमा सेयर गरेको लिंक खोलेर अन्तर्वार्ता सुनेका रहेछन्। यसको मतलब अब मान्छेहरूले आफ्नो समयअनुसार, आफूले चाहेका सामग्री सञ्चारमाध्यमबाट लिनसक्ने भए।
स्थानीय होस् कि राष्ट्रिय वा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका सामग्री पढ्ने, सुन्ने र हेर्नेेहरूको संख्या बढेको पनि छ। तर, दर्शक, स्रोत र पाठकमा महिलाको संख्या कम छ। यसो हुनुमा पुरुष बाहुल्यता रहेका सञ्चारमाध्यम नै कारक हुन्। किनकि, यस्ता अधिकांश कार्यक्रमका प्रस्तोता र अन्तर्वार्ता दिने दुवै पुरुष हुने गरेका छन।
यससँगै सञ्चारका माध्यम पनि बढेका छन्। स्थानीय होस् कि राष्ट्रिय वा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका सामग्री पढ्ने, सुन्ने र हेर्नेेहरूको संख्या बढेको पनि छ। तर, दर्शक, स्रोत र पाठकमा महिलाको संख्या कम छ। यसो हुनुमा पुरुष बाहुल्यता रहेका सञ्चारमाध्यम नै कारक हुन्। किनकि, यस्ता अधिकांश कार्यक्रमका प्रस्तोता र अन्तर्वार्ता दिने दुवै पुरुष हुने गरेका छन।
अन्तर्वार्ता कार्यक्रमकै उदाहरण लिऔं। यस्ता कार्यक्रमका अधिकांश विषयवस्तु राजनीतिकै सेरोफेरोमा हुन्छन्। यद्यपी, राजनीतिमा चासो राख्ने वा राजनीतिमै आफ्नो उत्पादनशील उमेर र समय खर्चेका महिला राजनीतिकर्मी कयौं छन्। तर, उनीहरूले आफ्ना कुरा सञ्चारमाध्यममार्फत् सुनाउन पाएका छैनन्। यसो हुँदा पनि राजनीतिमा चासो राख्ने र राजनीतिमै क्रियाशील महिलाले अग्रज महिला राजनीतिकर्मीका कुरा सुन्न पाएका छैनन्। यस विषयमा सञ्चारमाध्यम तथा सञ्चारकर्मीले सोचेको देखिँदैन।
उसो त पछिल्लो समय केही स्थानीय तथा राष्ट्रिय सञ्चारमाध्यममा सञ्चारकर्मी महिलाले पनि यस्ता अन्तर्वार्ता कार्यक्रम सञ्चालन गर्न थालेका छन। तर, उनीहरूमा पनि पुरुषमैत्री सोच र व्यवहार झल्कन्छ। उनीहरूको प्राथमिकतामा पनि महिला बिरलै पर्ने गरेका छन्। यसो हुनुमा उनीहरूको आफ्नो स्वविवेकभन्दा पनि सञ्चारमाध्यम सञ्चालक पुरुषहरूको रुचिले प्रभाव पारेको हुन्छ। यसरी सञ्चारमाध्यममा सञ्चारकर्मीको प्राथमिकतामा महिला नपरेका कारण पनि महिलाका कुरा, अनुभव र विचारले महत्व पाएको देखिँदैन।
यस्तै केही स्थानीय तथा राष्ट्रिय सञ्चारमाध्यममा महिलाले लेख रचनामार्फत् आफ्ना अनुभव र विचार सम्प्रेषण गरिरहेको देखिन्छ। केही स्थानीय र राष्ट्रिय छापामा नियमित जसो महिलाका लेखरचना छापिए पनि महिलाका अन्तर्वार्ता बिरलै छापिने गरेका छन्।
सामाजिक तथा उद्यमलगायत विभिन्न क्षेत्रमा कतिपय महिलाले महत्वपूर्ण योगदान दिएका छन्। जुन हिसाबले उनीहरूको सकारात्मक कार्य तथा योगदान सञ्चारमाध्यमका लागि सामग्री बन्नु पर्ने हो, त्यो हुन सकेको छैन।
सामाजिक तथा उद्यमलगायत विभिन्न क्षेत्रमा कतिपय महिलाले महत्वपूर्ण योगदान दिएका छन्। जुन हिसाबले उनीहरूको सकारात्मक कार्य तथा योगदान सञ्चारमाध्यमका लागि सामग्री बन्नु पर्ने हो, त्यो हुन सकेको छैन। साथै, आफूले प्राप्त गरेको सफलताको कथा समाजलाई सुनाउन चाहने यस्ता कैयौं महिला ओझेलमा परेका छन्।
समाजको सन्तुलित विकासका लागि सञ्चारमाध्यमले पनि सन्तुलित सामग्री पस्कनु जरुरी छ। किनकि, सञ्चारमाध्यमले सन्तुलित सामग्री पस्कन नसकेका कारण पनि सबै जाति, वर्ग, धर्म, लिंग र समुदायका व्यक्ति राज्यको मूल प्रवाहमा आउन सकेका छैनन्। अझ यसमा बहुसंख्यक महिला छन्।
यस्तै, केही वर्षअघिसम्म आजको युग विज्ञानको युग हो भन्ने गरिन्थ्यो भने पछिल्लो समय आजको युग सञ्चारको युग हो भन्न थालिएको छ। यस अर्थमा जुन वर्ग, समुदाय, लिंगको पहँुचमा सञ्चारको सुविधा पुग्छ, त्यहाँ विकास र समृद्धिको पूर्वाधार तयार हुन्छ। आधुनिक सूचना प्रविधिको विकास द्रुत गतिमा भइरहे पनि सञ्चार साक्षरताको कमीले सञ्चारका माध्यमले समानुपातिक पहुँच बढाउन सकेको छैन। सञ्चारमाध्यमले के कस्ता सामग्री र विषय उठान गर्दा समाजको सन्तुलित विकास हुन्छ भन्ने विषयमा स्वयं सञ्चारकर्मीमा अन्यौलता देखिन्छ।
आधाभन्दा बढी जनसंख्या महिलाको भए पनि हरेक क्षेत्रमा उनीहरूको अर्थपूर्ण सहभागिता हुन सकेको छैन। महिलाको अर्थपूर्ण सहभागिताका लागि पैरवी गरिदिने सवालमा सञ्चारमाध्यम पनि चुकेका छन्। अझ पछिल्लो समय त महिला सम्बन्धी अतिरञ्जित र नकारात्मक समाचार सम्प्रेषण गर्न अस्वस्थ प्रतिस्पर्धा नै चलेको देखिन्छ।
अर्कोतिर, सञ्चारकर्मीले महिलाका विषयमा सकारात्मक समाचार पस्कन नसकेका कारण पनि सञ्चारमा पहुँच भएका शिक्षित महिला समेत सक्रिय उपभोक्ता बन्न सकेका छैनन्। यस्तो पनि भनौ, महिलालाई पनि सक्रिय पाठक, स्रोता र दर्शक बनाउनुपर्छ भनेर सञ्चारमाध्यमले पनि सोचेको देखिँदैन। जसले गर्दा महिलासँग सम्बन्धित सकारात्मक विषयले महत्व पाउने गरेका छैनन्।
यसका लागि सञ्चारमाध्यमले तयार गर्ने हरेक सामग्री सन्तुलित छन् कि छैनन् भनेर सोच्नु जरुरी छ। यससँगै दैनिक रुपमा महिलाबारे छापिने नकारात्मक सञ्चार सामग्रीले समाजमा कस्तो प्रभाव पार्छ भन्ने विषयमा सञ्चारकर्मी संवेदनशील बन्न जरुरी छ। जस्तो महिलामाथि हुने बलात्कार, हत्या, घरेलु हिंसाका घटनाले अर्को त्यस्तै प्रकृतिको घटनाहरू पुनरावृति भइरहेको देखिन्छ। यी र यस्ता विषयलाई जनसमक्ष ल्याएर मात्र पुग्दैन, समाजमा किन यस्ता घटना दोहोरिन्छन भन्ने विषयमा सञ्चारमाध्यमले बहस कार्यक्रम सञ्चालन गर्न जरुरी छ।
सञ्चारमा महिलाको समानुपातिक र अर्थपूर्ण सहभागिताका लागि सञ्चारमाध्यमले महिलामैत्री सञ्चार सामग्री प्रकाशन र प्रसारण गर्न जरुरी छ।
अब सामाजिक सरोकारमा चासो राख्ने महिलालाई पनि यस्ता बहसमा सहभागी गराउन जरुरी छ। सञ्चारमाध्यमले सञ्चालन गर्ने बहसलगायत अन्तर्वार्ता जस्ता कार्यक्रममा महिलालाई सहभागी गराउँदा निश्चय नै महिला उपभोक्ताको संख्या बढ्छ। सञ्चारमाध्यममा महिलाका विषयले प्राथमिकता पाउनु भनेको थप उपभोक्ता जन्माउनु पनि हो।
महिला सशक्तिकरणका विषयलाई महत्व दिँदै बेइजिङ घोषणापत्रले समेटेका १२ वटा सरोकारका क्षेत्रमा महिला र सञ्चार पनि एक हो। यसलाई सरोकारवालाले उठाउँदै आएको भए पनि जनस्तरसम्म पुग्न सकेको छैन। बेइजिङ घोषणापत्रमा उल्लेख गरिएजस्तै सञ्चारमा महिलाको समानुपातिक र अर्थपूर्ण सहभागिताका लागि सञ्चारमाध्यमले महिलामैत्री सञ्चार सामग्री प्रकाशन र प्रसारण गर्न जरुरी छ।
महिला सम्बन्धी सकारात्मक सामग्री त भयो नै सामाजिक सरोकारका विषयमा तयार गरिने कार्यक्रममा पनि महिलालाई सहभागी गराउन सञ्चारमाध्यमले प्रयास गर्न जरुरी छ। यसले पनि सञ्चारमा महिलाको अर्थपूर्ण सहभागिता बढ्ने आधार तयार हुन्छ। यसका लागि स्थानीय तथा राष्ट्रिय सञ्चारमाध्यमले महिलाबारे सकारात्मक सञ्चार सामग्री लगायत उनीहरूका विषयलाई जनस्तरसम्म पु¥याउन पैरवीकर्ताको भूमिका निर्वाह गर्न जरुरी छ।