आफन्त विदेशमा, वृद्धवृद्धा एक्लै शरणार्थी शिविरमा
आफन्तजन पुनर्वासमा तेस्रो मुलुक पुगेपछि झापा र मोरङको भुटानी शरणार्थी शिविरमा एक्लै बसिरहेका वृद्धवृद्धा बेसहारा बनेका छन्।
तालको पानी कसले चलायो चलायो,
कान्छी मुटुभरि सम्झना पलायो।
छकछके रेलको इन्जिन,
कान्छी तिम्रो मायाँ सकिन बिर्सन
सम्झना आउँछ दिन दिन।
मोरङको पथरी शनिश्चरेस्थित भुटानी शरणार्थी शिविरमा १२ साउन दिउँसो शम्भु राई, पार्वती राई र कला राईको स्वरमा यो गीत बजिरहेको थियो। आजभोलि मोरङ र झापाका भुटानी शरणार्थी शिविरमा यस्तै भाव पोख्ने गीत बजिरन्छन्।
घरमा एक्लै भेटिएका खर्कबहादुर खतिवडा यो गीत सुनिरहेका थिए। “छोराछोरीको याद आउँछ, यस्तै गीत सुनेर मन बहलाउँछु,” उनले भने।
दुई छोरी र एक छोरा अमेरिका र अस्ट्रेलिया पुगेका छन्। घरमा खर्कबहादुर र उनकी श्रीमती डम्बरकुमारी खतिवडा मात्रै छन्। भुटानले देश निकाला गरेपछि उनी परिवार सहित नेपाल आएका थिए। संयुक्त राष्ट्रसंघको तेस्रो मुलुक पुनर्वास कार्यक्रम मार्फत छोराछोरी विदेश गएपछि खर्कबहादुर दम्पती शिविरमै दिन कटाइरहेका छन्।
भुटान फर्किन नपाएपछि छोराछोरीलाई पुनर्वासका लागि तेस्रो मुलुक पठाएका उनीहरूलाई भने शनिश्चरे छाड्न मन लागेन। तर, छोराछोरीसँग छुट्टिएर बस्नुपर्दा गाह्रो भइरहेको डम्बरकुमारीले सुनाइन्। “भुटानबाट लखेटिए जस्तै फेरि त्यही नियति भोग्नुपर्ला कि भनेर हामी बूढाबूढीलाई अमेरिका जान मन लागेन,” उनी भन्छिन्, “बुढेसकालमा छुट्टिएर बस्नुपर्दा गाह्रो हुँदो रहेछ। उता छोराछोरीलाई, यता हामीलाई पीडा छ।”
तीन दशकअघि भुटानबाट लखेटिएका उनीहरूले स्वदेश फिर्तीको माग गर्दै लामो समय आन्दोलन पनि गरे। तर, भुटान फर्कन नपाएपछि २०६४ बाट तेस्रो मुलुक पुनर्वास कार्यक्रम मार्फत अहिलेसम्म एक लाख १५ हजार शरणार्थी अमेरिका, अस्ट्रेलिया, क्यानडा लगायत आठ देश पुगेका छन्। परिवारका सदस्य तेस्रो मुलुक पुगेपछि वृद्धवृद्धा भने शरणार्थी शिविरमा बेसहारा बनेका छन्।
झापाको बेल्डाँगी शिविरका ७५ वर्षीय लीलाधर आचार्य एक्लै बस्नुपरेकोमा परिवारका सदस्यसँग पनि आक्रोशित छन्। उनका दुई छोरा, पाँच छोरी र श्रीमती अमेरिका पुगेका छन्। शिविरमा एक्लै दिन कटाइरहेका उनी भन्छन्, “परिवार नटुटोस् भनेर हेर्नु पर्दैन? एक जना पनि सहाराका लागि बसेनन्।”
छोराछोरीले अमेरिका लैजान कर नगरेका पनि होइनन्। तर, बुढेसकालमा तेस्रो मुलुक जान मन नलागेको उनी सुनाउँछन्। उनको अझै पनि भुटान फर्किने आश जीवितै छ। “हामी त हाम्रो देश भुटान फर्कने हो,” लीलाधर भन्छन्।
उनी दिन कटाउन एक्लै शिविरभित्र यताउता टहल्छन्। उनीसँग छन् त भुटानको नागरिकता, हजुरबुबा र बुबाले घरजग्गाको कर तिरेका रसिद र अन्य भुटानकै कागजपत्र। भुटानले देश निकाला गरे पनि उनलाई आफ्नो देशप्रतिको माया उस्तै छ।
चार छोराछोरी र श्रीमती अमेरिका पुगेपछि शिविरमा एक्लै दिन कटाइरहेका अर्का वृद्ध हुन्, ६९ वर्षीय धमलाप्रसाद अधिकारी। एक्लोपन र तनाव कम गर्न व्यस्त रहने गरेको उनी बताउँछन्। त्यसका लागि उनले घरछेउको बारीमै खनजोत गरेर तरकारी, सागपात लगाउँदै आएका छन्। “काम गर्न नसक्नेलाई त एक्लै बस्दा गाह्रो हुन्छ,” धमलाप्रसाद भन्छन्, “सकेसम्म एक्लोपन महसूस हुन नदिन व्यस्त भइराख्छु।”
बिहान-साँझ परिवारका सदस्यसँगै बसेर खानपिन गर्दै हुर्के–बढेका धमलाप्रसाद, लीलाधर, खर्कप्रसादहरू अहिले भने दिनभरि नै एक्लै हुन्छन्। अझ चाडपर्वमा त इष्टमित्र र छरछिमेकी समेत सँगै हुन्थे। धमलाप्रसाद भन्छन्, “चाडबाडका वेलामा नातागोता, इष्टमित्र भेटघाट हुने परम्परा नै हरायो।”
बेलडाँगी शरणार्थी शिविरमा मात्रै एक सयभन्दा बढी वृद्धवृद्धा एक्लै दैनिकी चलाइरहेका छन्। कुनै वेला एक हजार चार सय परिवारको यो बस्ती गुल्जार हुन्थ्यो। ५८ वर्षीय मेखमान तामाङ भन्छन्, “परिवार अमेरिका र क्यानडा गयो, म एक्लै बसिरहेको छु।” उनका तीन छोराछोरी, श्रीमती अमेरिका र एक छोरी क्यानडा पुगेका छन्। मेखमान भुटान फर्किन पाए मात्रै बेलडाँगी छोड्ने बताउँछन्।
मर्दापर्दा पनि हुँदैनन् आफन्त
परिवारबाट छुट्टिएर एक्लो भएका वृद्धवृद्धा जसोतसो दिन त कटाइरहेका छन्, तर बिसन्चो हुँदा भने सकस हुन्छ। भीमबहादुर गुरुङ बिरामी हुँदा भोकै बस्ने बाध्यता रहेको बताउँछन्। आमाबाबु, भाइबहिनी, श्रीमती र छोराछोरी अमेरिका पुगेका छन्। उनलाई भने अमेरिका जान मन लागेन। बिरामी भएर पल्टिरहेका उनले भने, “पानी दिने पनि कोही छैन। यस्तो बिजोग कसैको नहोस्।”
गत वर्ष पनि उनी २२ दिन बिरामी परेका थिए। त्यति वेला पनि धेरै दिन भोकै बसेको उनले बताए। यस्तै, पीडा लीलाधरले पनि सुनाए। “ज्वरो आयो, खाना पकाउनै सकिनँ। भोकै सुतें,” उनले भने।
बिरामी हुँदा मात्रै होइन, कतिपयले त ज्यान गुमाउँदा पनि परिवारका सदस्यलाई भेट्न पाएनन्। अपांगता भएका छोरासँगै शिविरमा बस्दै आएका भीमबहादुर पौडेल अहिले कोरोनाभाइरसको संक्रमण भएपछि धरानस्थित बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत छन्। संक्रमणकै कारण एक साताअघि उनका छोराको ज्यान गयो। उनलाई यो खबर सुनाइएको छैन। यस्तो वेला पनि परिवारका सदस्य साथमा छैनन्।
केही समयअघि बेलडाँगी शिविरमा एक्लै बस्दै आएका नरबहादुर बस्नेत, कमल दर्जी र रामचन्द्र सुवेदीको मृत्यु भयो। उनका परिवारका सदस्य कोही पनि नआएको भीम गुरुङले बताए। “मृत्यु हुने वेला पानी खुवाउने परिवारका सदस्य पनि हुँदैनन्,” उनी भन्छन्।
परिवारभित्रै मनमुटाव
तेस्रो मुलुक पुनर्वासपछि आफन्तसँग छुट्टिएर बसेका शरणार्थीको परिवारसँग पनि मनमुटाव बढ्दै गएको छ। फोनमा समेत राम्रोसँग कुराकानी नहुने गरेको शिविरमा एक्लै बसिरहेका वृद्धवृद्धा बताउँछन्। अमेरिकामा रहेका परिवारका सदस्यसँग फोनमा तीन महीनादेखि कुराकानी नगरेको मेखमानले बताए। “यताबाट फोन गरे मात्रै सम्पर्क हुने हो, उताबाट गर्दैनन्,” उनी भन्छन्।
लीलाधरको पनि यस्तै गुनासो छ। छोराछोरी अमेरिका गएपछि राम्ररी बोलचाल नहुने गरेको उनी सुनाउँछन्। “मलाई पनि जाम् भनेर कर गरेका थिए। अहिले पनि फोन भयो कि, आइज भन्छन्,” लीलाधर भन्छन्, “आउँदिनँ भनेपछि कोही पनि राम्रोसँग कुराकानी गर्दैनन्।”
धमलाप्रसादको पनि यस्तै समस्या छ। उनले अमेरिका नजाने अड्डी लिएपछि श्रीमती र कान्छी छोरी पनि बसेका थिए। अमेरिका पुगेका छोराछोरीले बोलाएपछि श्रीमती र कान्छी छोरी पनि तीन वर्षअघि गएको उनले बताए। अहिले फोनमा कुराकानी हुन पनि छाडेको उनी बताउँछन्। भन्छन्, “फोनमा सम्पर्क हुँदा पनि धेरै बोल्दैनन्। अहिले त सम्पर्क नभएको पनि सात महीना भयो।”
अर्का वृद्ध भीम गुरुङ परिवारका सदस्यले फोन पनि नउठाउने गरेको गुनासो गर्छन्। “फोन गर्न त टाढाको कुरा, यताबाट गर्दा पनि उठाउँदैनन्,” उनी भन्छन्। मन शान्त पार्न व्यस्त भएर फोन नउठाएको होला भन्ने सोच्छन्।
वृद्धाश्रममा राख्ने तयारी
यसरी परिवारका सदस्य पुनर्वासमा गएपछि बेसहारा बनेका वृद्धवृद्धाका लागि पथरीमा वृद्धाश्रम निर्माण गरिएको छ भने बेलडाँगीमा निर्माणको चरणमा छ। इन्टरनेशनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले वृद्धाश्रम निर्माणका लागि सघाइरहेको छ।
शरणार्थी शिविरमा बस्दै आएका वृद्धवृद्धाको स्याहारसुसार तथा पालनपोषणका लागि वृद्धाश्रम निर्माण भइरहेको फाउन्डेसनका नेपाल संयोजक राम बानियाँले बताए। उनका अनुसार, अहिले पथरीको आश्रममा ९५ जना वृद्धवृद्धा छन्।
दिउँसो वृद्धाश्रममा बस्ने र साँझ घर फर्किने गरेका छन्। “एक्लै घरमा बस्दा वृद्धवृद्धा तनावमा हुन्छन्। समूहमा बस्दा मन बहलाउन सजिलो हुँदो रहेछ,” उनी भन्छन्, “अब वृद्धवृद्धालाई सधैं वृद्धाश्रममा नै राख्ने तयारीमा छौं।”