विज्ञकाे सल्लाह विपरीत प्रज्ञा-प्रतिष्ठानले भत्कायो महाकविकाे घर
सम्पदा संरक्षण अभियन्ता र संस्कृतिविद्ले ‘रेट्रोफिटिङ’ गरेर महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर जोगाउन सकिने सल्लाह दिँदादिँदै नेपाल प्रज्ञा-प्रतिष्ठानले भने भत्काएको छ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर नेपाल प्रज्ञा–प्रतिष्ठानलाई सुम्पिँदा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ‘रेट्रोफिटिङ’ गर्ने घोषणा गरेका थिए। त्यही अनुसार, प्रतिष्ठानले तयारी पनि गरेको थियो। तर, अहिले भने महाकविको घर भत्काउन थालिएको छ।
दुई वर्षअघि महाकवि देवकोटाको घरलाई सरकारले खरीद गरी प्रज्ञा–प्रतिष्ठानलाई स्वामित्व हस्तान्तरण गरेको थियो। त्यसलाई संग्रहालयका रूपमा विकास गर्न प्रतिष्ठानले विज्ञहरूसँग सरसल्लाह पनि लिएको थियो।
त्यसका लागि सम्पदा संरक्षण अभियन्ता रवीन्द्र पुरीलाई बोलाएको थियो। स्थलगत अध्ययनपछि अभियन्ता पुरीले ‘रेट्रोफिटिङ’ गर्ने सल्लाह दिएका थिए। त्यस वेला सुझाव ग्रहण गरेको प्रतिष्ठानले अहिले भने घर भत्काइरहेको छ। अब त भुइँतला मात्रै बाँकी छ।
स्रष्टासँग जोडिएका भौतिक संरचना जोगाएर राख्ने अन्तर्राष्ट्रिय चलन पनि भएको सम्पदा संरक्षण अभियन्ता पुरी बताउँछन्। यसको अध्ययन समेत गरेका उनी भन्छन्, “यस्ता भौतिक संरचना भत्काउने भन्दा स्रष्टाको सम्झना सुरक्षित जीर्णोद्धार गरेर राख्ने गरिन्छ। तर, अहिले घर भत्काउँदा देवकोटाको दोस्रो मृत्यु भएको छ।”
महाकवि देवकोटा कस्तो ठाउँमा बसेका थिए भन्ने प्रामाणिक इतिहास थियो, उनको घर। अब भने त्यो माटामा मिलेको छ। संस्कृतिविद् गोविन्द टण्डन देवकोटाको घरको विषयमा सही अध्ययन नभएको बताउँछन्। “तीन–चार सय वर्ष पुराना सम्पदा संरक्षण गर्नका लागि भत्काउन नपरेका मन्दिरहरू आज पनि बलिया छन्। तर, यहाँ सही अध्ययन हुन सकेन,” संस्कृतिविद् टण्डन भन्छन्, “अर्बौं खर्चेर नयाँ संग्रहालय बनाए पनि पुरानो घर जस्तै जीवन्त हुँदैन।”
देवकोटा कस्तो घरमा बस्थे? उनले चियाउने झ्याल, बसेका कोठा, लेखपढ गर्ने स्थान नै मुख्य आकर्षण हुन्। तर, अब त्यो देख्न नसकिने भएको छ। घर भत्काएसँगै देवकोटाको बाँकी अवशेष नाश भएको टण्डन बताउँछन्।
देवकोटा प्रायः झ्यालबाट तल हेर्थे। पलेंटी कसेर लेख्नपढ्न रुचाउँथे। अब यो कथा र त्यसलाई प्रमाणित गर्ने घर भत्किएसँगै सकिएको छ।
प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले भने संग्रहालय बनाउनका लागि घर भत्काउनुपरेको जनाएका छन्। उनले प्रेस विज्ञप्ति जारी गरेर घरलाई यथावत् सबलीकरण गरेर राख्न नसकिने भएपछि भत्काएको जनाएका छन्। “प्रस्तावित संग्रहालय निर्माण प्रयोजनका लागि साविकको घर भत्काउनु बाध्यात्मक अवस्था हो,” उनले भनेका छन्।
के घर जोगाउन सकिन्थो?
कुलपति उप्रेतीले भने जस्तै यो बाध्यात्मक अवस्था थियो कि जोगाउन सकिन्थ्यो? संस्कृतिविद् भने जोगाएर राख्ने सकिने अवस्थामा रहेको बताउँछन्। महाकविको घर संरक्षण गर्न गुरुयोजनाको कमी भएको संस्कृतिविद् टण्डन बताउँछन्।
उनका अनुसार, घर पुनर्निर्माण गर्दा पनि छलफलको दायरालाई फराकिलो बनाउनुपर्थ्यो। त्यस्तै, यस सम्बन्धी गरिएका अध्ययन प्रतिवेदन सार्वजनिक गरी विषयगत विज्ञ, सर्वसाधारणसँग पनि छलफल गर्नुपर्थ्यो। तर, त्यसो भएन। यससँगै यही घरबाट अर्थोपार्जन गर्न सकिने बाटो पनि पहिल्याउन सकिन्थ्यो। “नेपालीलाई भत्काउन नै पहिला हतार हुन्छ। त्यसैले देवकोटाको घर भत्काएर पुनर्निर्माण गर्ने त भने, तर त्यहाँसम्म पुग्ने बाटो दहमा भासिएको छ,” टण्डन प्रश्न गर्छन्, “यही हो त भिजन?”
२०७२ को भूकम्पमा चर्किएको सिंहदरबारको पश्चिमी मोहडा पनि भत्काउन खोजिएको थियो। तर, सम्पदाविद् सहमत भएनन्। अन्त्यमा त्यो पनि गहन छलफल, अध्ययन र अनुसन्धानपछि बचाउन सकिएको टण्डन सम्झिन्छन्।
त्यस्तै, भक्तपुरमा १८० वर्ष पुरानो घर जोगिएको छ। त्यसलाई ‘रेट्रोफिटिङ’ गरेर कम्तीमा तीन सय वर्ष आयु थपिएको पुरी बताउँछन्। “देवकोटाको घरभन्दा तीन गुणा पुरानो घरलाई ‘नमूना घर’ बनाउन ढाल्नु परेन। जसले २००४ मा यूनेस्को अवार्ड पनि पायो,” पुरी भन्छन्। डेढ वर्षअघि देवकोटाको घर निरीक्षण गर्न जाँदा कतै अलिकति पनि चर्किएको नदेखेको उनी सम्झन्छन्।
यो घर परम्परागत शैली ‘लोड वेरिङ’मा बनेको थियो। पुरीका अनुसार, ‘लोड वेरिङ’ले बनेको घर भत्काउनै पर्दैन। क्षति भएकोे स्थानमा मर्मत गरे पुग्छ। तर, विकल्प खोज्नुभन्दा पुनर्निर्माणमा लाग्दा यस्तो भएको उनको भनाइ छ। संस्कृतिविद् टण्डन भिजनको कमीले यस्तो भएको बताउँछन्। उनी भन्छन्, “मल्लकालका मन्दिरको जीर्णोद्धार हुनसक्ने सय वर्ष पनि नभएको देवकोटाको घर भत्काउनु 'भिजनरी' सोचको कमी हो।”
देवकोटा परिवार पनि दुःखी
साहित्यकारहरूका अनुसार, महाकवि देवकोटा बार्दलीमा सुकुल ओछ्याएर बस्ने गर्थे। त्यहीं घोप्टो परेर कविता लेख्थे। तर, अब त्यो सुकुल ओछ्याएर लेखपढ गर्ने ठाउँ कहाँ हो भन्ने देख्न सकिने छैन।
घर भत्किएसँगै देवकोटासँग जोडिएका धेरै कुरा सकिएको संस्कृतिविद् टण्डन बताउँछन्। “देवकोटा कस्तो घरमा बस्नुहुन्थ्यो? कसरी लेखपढ गर्नुहुन्थ्यो? सबैलाई चासो हुन्छ, तर अब त्यस्तो जिज्ञासा राख्नेहरूले देवकोटाको घर देख्न पाउने छैनन्,” उनी भन्छन्, “घरै भत्काएपछि उहाँको जीवनसँग सम्बन्धित अवशेष पनि सकियो।”
अब बनाइने संग्रहालयमा देवकोटाका पुस्तक र उनले प्रयोग गरेका वस्तुहरू राखिनेछन् । तर, त्योसँग भावनात्मक सम्बन्ध नजोडिने टण्डन बताउँछन्। “घर जीर्णोद्धार गरिएको भए भावनात्मक रूपमा पनि देवकोटासँग जोडिन सजिलो हुन्थ्यो,” उनी भन्छन्।
महाकवि देवकोटाका छोरा पद्म देवकोटा पनि घर भत्काएकोमा दुःखी भएका छन्। उनले सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन्, “आफू जन्मे–हुर्केको घर भत्केको देख्दा मनमा अनेकौं तरंग उत्पन्न हुने रहेछ। दुख्दो पनि रहेछ। कोठाकोठाका यादहरू बौरिएर आएका छन् यसपालि।”
कस्तो बन्नेछ संग्रहालय?
प्रज्ञा–प्रतिष्ठानका कुलपति उप्रेतीले अहिलेकै स्वरूपमा नयाँ घर बनाइने बताएका छन्। घरको जग बलियो नभएकाले भत्काउनुपरेको उनको तर्क छ।
उनका अनुसार, अब संग्रहालय प्रांगणमा देवकोटाको पूर्ण कदको प्रतिमा राखिनेछ। त्यो क्षेत्रमा हरियालीयुक्त सानो उद्यान हुनेछ। प्रतिमासँगै पश्चिमतिरको भागमा पानीको फोहोरा बनाइनेछ।
संग्रहालयको भुइँतलामा स्वागत कक्ष, प्रतीक्षा कक्ष र देवकोटासँग सम्बन्धित श्रव्य/दृश्य सामग्री राखिनेछन्। पहिलो तलामा देवकोटाले प्रयोग गरेका उपलब्ध भएसम्मका सामग्री रहनेछन् भने दोस्रो तलामा उनका प्रकाशित कृति, प्राप्त भएसम्म अप्रकाशित पाण्डुलिपि र स्वदेशी तथा विदेशीले देवकोटाका विषयमा लेखेका कृति तथा शोधपत्र राखिनेछन्।
यससँगै तेस्रो तलामा देवकोटाको जीवन, व्यक्तित्व र कृतित्वका विषयमा विचार–विमर्श, अन्तरक्रिया तथा गोष्ठी गर्न सभाकक्ष बनाइने उप्रेतीले बताए। उनका अनुसार, सबैलाई सहज अवलोकनका लागि 'लिफ्ट'को व्यवस्था गरिनेछ।