६५ वर्षमाथिकालाई कोभिशिल्ड खोपको दोस्रो मात्रा २५ साउनदेखि
सरकारले कोभिशिल्ड खोपको दोस्रो मात्रा २५ साउनदेखि दिने भएको छ।
देशभरका ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप दिने तयारी गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।
मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेल करीब १४ लाख ज्येष्ठ नागरिक कोभिशिल्ड खोपको दोस्रो मात्रा कुरिरहेको बताउँछन्।
६५ वर्षमाथिका ज्येष्ठ नागरिकले गत फागुनको पहिलो हप्ता कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएका थिए।
आज मात्र भुटानबाट २ लाख ३० हजार मात्रा अस्ट्राजेनेका खोप आएको छ। आगामी हप्ताभित्र जापानबाट ८ लाख अस्ट्राजेनेका आउँदै छ। जापान सरकारले १६ लाख अस्ट्राजेनेका खोप उपलब्ध गराएको छ।
प्रवक्ता पौडेलका अनुसार, अस्ट्राजेनेका र कोभिशिल्ड एकै प्रकारका खोप हुन्। बेलायतको ‘युनिभर्सिटी अफ अक्सफोर्ड’ले बनाएको अस्ट्राजेनेका खोपलाई भारतमा सिरम इन्स्टिच्यूटले ‘कोभिशिल्ड’ नाम दिएर उत्पादन गर्छ।
सबै कम्पनीको गरेर हालसम्म कुल एक करोड खोप आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।