कोरोनाबाट १० हजारभन्दा बढीले गुमाए ज्यान
कोरोनाभाइरसको संक्रमणबाट १० हजारभन्दा बढीले ज्यान गुमाएका छन्। शुक्रबार २५ जना संक्रमितको मृत्यु भएसँगै अहिलेसम्म ज्यान गुमाउनेको संख्या १० हजार नाघेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, शुक्रबारसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार १९ पुगेको छ। यो २०७२ सालको भूकम्पमा ज्यान गुमाउनेको भन्दा बढी हो। भूकम्पमा आठ हजार ५६७ जनाको ज्यान गएको थियो।
कोरोनाको पहिलो लहरभन्दा दोस्रो लहरमा दोब्बरभन्दा बढीले ज्यान गुमाएका छन्। पहिलो लहर चलेको एक वर्षको अवधिमा गत चैतसम्म तीन हजार ५८ जनाले ज्यान गुमाएका थिए। त्यसयता चार महीनामा ६ हजार ९६१ जनाको ज्यान गएको छ।
अहिलेसम्म कोरोना संक्रमण भएकामध्ये १.४१ प्रतिशतले ज्यान गुमाएका छन्। यो भारतको भन्दा पनि बढी हो। भारतमा १.३ प्रतिशतले ज्यान गुमाएका छन्।
कोरोनाबाट ज्यान गुमाउनेमा सबैभन्दा बढी वृद्धवृद्धा छन्। ६० वर्षभन्दा माथिका पाँच हजार ३८७ जनाको ज्यान गएको छ।
त्यस्तै, ५० देखि ५९ वर्षसम्मका एक हजार ९६१ जना, ४० देखि ४९ वर्षसम्मका एक हजार ४३७ जना, ३० देखि ३९ वर्षसम्मका ८२८ जना र २० देखि २९ वर्षसम्मका ३०४ जनाले ज्यान गुमाएका छन्।
कोरोनाबाट ९५ जना बालबालिकाको पनि ज्यान गएको छ। जसमा ९ वर्षसम्मका ४५ जना र १० देखि १९ वर्षसम्मका ५० जना छन्।
प्रदेशमा सबैभन्दा बढी बागमतीमा चार हजार २७४ जनाले ज्यान गुमाएका छन्। त्यसपछि लुम्बिनीमा एक हजार ६२२, प्रदेश १ मा एक हजार ४०४ र गण्डकीमा एक हजार १०१ जनाको ज्यान गएको छ। त्यस्तै, प्रदेश २ मा ७४७, सुदूरपश्चिममा ४४६ र कर्णालीमा ४२५ जनाको कोरोनाका कारण ज्यान गएको छ।
शुक्रबार तीन हजार ७२९ जनामा कोरोना देखिएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या सात लाख १० हजार ५०९ पुगेको छ। जसमध्ये ६ लाख ६५ हजार ५४८ जना निको भएका छन्।
पछिल्लो दुई सातादेखि फेरि संक्रमण बढ्न थालेको छ। योसँगै सक्रिय संक्रमितको संख्या पनि ३४ हजार ९४२ पुगेको छ। जसमध्ये तीन हजार ५१५ जना अस्पताल भर्ना भएका छन्।
यससँगै आईसीयू र भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने बिरामीको संख्या पनि बढ्दै गएको छ। शुक्रबारसम्म ७३२ जनाको आईसीयू र १५८ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।