कोरोना महामारी भित्रिएको डेढ वर्षमा पनि सरकारले पढाइ र परीक्षाका लागि वैकल्पिक उपायको व्यवस्था नगर्दा हजारौंं विद्यार्थी ज्यान जोखिममा राखेर परीक्षा हलमा बस्न बाध्य छन्।
राष्ट्रिय परीक्षा बोर्डले ३१ साउनदेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ। यसअघि गत वैशाखका लागि तोकिएको परीक्षा बन्दाबन्दीका कारण स्थगित भएको थियो। कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्न सकिने बताएपछि ५ साउनको बोर्ड बैठकले भौतिक रूपमा परीक्षा सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको हो।
बोर्डले परीक्षा सञ्चालनको तयारी गरे पनि कोरोना महामारीको जोखिम कम भएको छैन। २१ साउनमा तीन हजार ९३८ संक्रमित थपिए। यो संख्या परीक्षणको २१.३९ प्रतिशत हो। २१ साउनमा पुष्टि भएका कुल संक्रमितमध्ये २६६ जना ११ देखि २० वर्ष उमेर समूहका छन्। यो झन्डै ७ प्रतिशत हो। १२ पढ्ने शतप्रतिशत यही उमेर समूहका हुन्छन्। २२ साउनमा १५ हजार ६७५ जनामा परीक्षण गर्दा तीन हजार ७२९ संक्रमित थपिएका छन्। २२ साउनमा ११–२० उमेर समूहका २०० जनामा संक्रमण देखियो। यो संख्या कुल संक्रमितको ५.३६ प्रतिशत हो।
उचित समय होइन : जनस्वास्थ्यविद्
यसरी कोरोना महामारी दिनानुदिन बढिरहेका वेला भौतिक रूपमा परीक्षा सञ्चालन गर्नु जोखिमयुक्त हुने जानकारहरू बताउँछन्। जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी अहिले परीक्षा सञ्चालनका लागि उचित समय नभएको बताउँछन्। “शैक्षिक वर्षको निरन्तरताका लागि वैकल्पिक उपाय सोच्नुपर्यो,” उनी भन्छन्, “शैक्षिक क्यालेन्डर बिग्रिने डरले विद्यार्थीलाई जोखिममा पार्नु भएन।”
हाम्रा अधिकांश कक्षाकोठा खुला छैनन्। गाउँका अधिकांश विद्यालयका कक्षाकोठामा एउटा ढोका र एकाध झ्याल भए पनि शहरी विद्यालयमा त्यो पनि देखिंदैन। एकदेखि अर्को बेन्चको दूरी पनि नजिकै हुन्छ।
त्यसो त राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीलाई ध्यान दिएरै ‘होम सेन्टर’ (पढेकै विद्यालयमा परीक्षा) दिने व्यवस्था गरेको छ। यसले विद्यार्थीलाई टाढा पुग्नुनपर्ने र कोरोना जोखिम कम हुने बोर्डको बुझाइ छ। एउटा बेन्चमा दुई जना र एउटा कक्षामा बढीमा २० जना विद्यार्थी मात्रै राखेर परीक्षा लिन बोर्डले सम्बन्धित विद्यालयलाई निर्देशन दिएको छ। तर पनि, स्वास्थ्य मापदण्डको पालना हुनेमा आशंका छ। कारण, हाम्रा अधिकांश कक्षाकोठा खुला छैनन्। गाउँका अधिकांश विद्यालयका कक्षाकोठामा एउटा ढोका र एकाध झ्याल भए पनि शहरी विद्यालयमा त्यो पनि देखिंदैन। एकदेखि अर्को बेन्चको दूरी पनि नजिकै हुन्छ। भीडभाड र बन्द कोठामा लामो समय बस्नु स्वास्थ्यका हिसाबले जोखिमपूर्ण मानिन्छ नै।
मानसिक तनावमा परीक्षार्थी
यही कारण १२ कक्षाको परीक्षा दिने किशोर उमेरका विद्यार्थीको मनमा डरले ‘डेरा’ जमाउन सक्ने मनोविद्हरू बताउँछन्। मनोविद् डा. गंगा पाठक कोरोनाको त्रासले विद्यार्थीमा मानसिक तनाव थपिने बताउँछिन्। “निर्धक्क भएर जाँच दिन पाएनन् भने सोचे जस्तो नतीजा आउँदैन,” उनी भन्छिन्, “विद्यार्थीलाई ढुक्कको वातावरणमा परीक्षा दिने वातावरण चाहिँ बनाउनैपर्छ।” गाउँतिर र शहरमा पनि सम्भव भएका विद्यालयले खुला स्थान/चौरमा परीक्षा लिनु उचित हुने उनको सुझाव छ।
राष्ट्रिय परीक्षा बोर्डका सदस्य–सचिव दुर्गा अर्याल सुरक्षित तरिकाले परीक्षा सञ्चालन गर्न सम्बन्धित विद्यालयलाई निर्देशन दिइएको बताउँछन्। “सुरक्षाका सबैजसो उपाय अपनाएर परीक्षा चलाउन भनेका छौं,” उनी भन्छन्, “विद्यार्थी, शिक्षक, कर्मचारी सबैको स्वास्थ्यप्रति हामी सचेत छौं।” छलफल भए पनि परीक्षा स्थगित गर्ने मनसाय नरहेको अर्यालको भनाइ छ।
'पहिले खोप अनि परीक्षा'
त्यसो त सामाजिक सञ्जालतिर ‘पहिले खोप अनि परीक्षा’ भन्ने माग चुलिएको छ। धेरै जनाले खोप लगाइसकेपछि परीक्षा लिनु उचित हुने बताउँदै आएका छन्। अहिले त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहको परीक्षा चलाइरहेको छ। स्नातक, स्नातकोत्तर लगायत तहका विद्यार्थीका लागि उचित भए पनि १२ कक्षाका लागि यो माग सान्दर्भिक हुँदैन। कारण– कक्षा १२ पढ्ने अधिकांश विद्यार्थी १८ वर्ष पूरा भएका हुँदैनन्। त्यस कारण परीक्षा सञ्चालन र जोखिम कम गर्न पीसीआर परीक्षण एउटा विकल्प हुनसक्ने जानकारहरू बताउँछन्।
जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी संक्रमित र अन्यलाई छुट्याउन सकियो भने जोखिम कम हुने बताउँछन्। उनी भन्छन्, “परीक्षणपछि संक्रमितलाई वैकल्पिक उपाय दिने र अन्यलाई भौतिक रूपमा परीक्षामा सामेल गराउन सकिन्छ।” यत्तिकै परीक्षामा सहभागी गराउनु भनेको जानाजान जोखिमलाई निम्त्याउने कारक हुने मरासिनीको भनाइ छ।
लगानी छैन सफ्टवेयरमा
नेपालमै कोरोना भित्रिएको डेढ वर्ष कटिसक्यो। यसबीचमा १० हजार व्यक्तिको ज्यान गइसकेको छ। ७ लाख ८ हजारभन्दा बढीमा संक्रमण देखियो। तर पनि, सरकारले दैनिक भीडभाड हुने विद्यालय, विश्वविद्यालय लगायतको पढाइ तथा परीक्षालाई वैकल्पिक उपाय दिन सकेको छैन। परीक्षा त टाढाको कुरा अनलाइन कक्षालाई समेत व्यवस्थित गरिएको छैन।
अहिले अनलाइन कक्षा भने पनि वास्तविकतामा त्यो अनलाइन कक्षा होइन। जुम वा मेसेन्जरमा पढाइने माध्यमलाई अनलाइन कक्षा भन्न नसकिने शिक्षाविद् विद्यानाथ कोइराला बताउँछन्। “यो त अप्ठ्यारो अवस्थामा गरिएको जोहो मात्रै हो,” उनी भन्छन्, “वास्तविक अनलाइन कक्षाको लागि पढाइमैत्री सफ्टवेयरको आवश्यकता पर्छ।”
धेरै मुलुकका विद्यालय, विश्वविद्यालय लगायतले प्रयोग गरेका यस्ता सफ्टवेयरमा ‘राइटिङ बोर्ड’ को व्यवस्था हुन्छ। जसमा शिक्षकले लेखेको कुरा सबै विद्यार्थीमाझ पुग्छ। कुनै विद्यार्थी उक्त समयमा कक्षामा उपस्थित हुन पाएन भने पनि पछि उक्त कुरा पढ्न पाउँछ।
सरकारले दैनिक भीडभाड हुने विद्यालय, विश्वविद्यालय लगायतको पढाइ तथा परीक्षालाई वैकल्पिक उपाय दिन सकेको छैन।
यस्तो सफ्टवेयर प्रयोगमा ल्याउँदा परीक्षा पनि सहजै लिन सकिन्छ। विद्यार्थीलाई सोही सफ्टवेयर मार्फत प्रश्नपत्र पठाउनेदेखि समयमावधि सकिएपछि विद्यार्थीले स्वतः उत्तर लेख्न नपाइने व्यवस्था हुन्छ। उनीहरूले परीक्षाको क्रममा ‘गुगल’ गरेको, किताब, कापी हेरेको वा अरूले सिकाएको पनि रेकर्डमा रहन्छ।
त्यस्तै शैक्षिक सफ्टवेयरबाट परीक्षा लिंदा भौतिक रूपमा भन्दा बढी उपयोगी र सुरक्षित हुने भए पनि यसमा सरकारदेखि विश्वविद्यालय, विद्यालय कसैले ध्यान दिन सकेका छैनन्। शिक्षाविद् कोइराला भन्छन्, “केही समयलाई जोहो गरिएको माध्यमबाट माथि उठ्न यस्ता उपयोगी सफ्टवेयरमा लगानी गर्न कोही तयार भएनन्।”