पार्टी फुटाएको अपजस लिन चाहँदैनन् ओली-नेपाल
पार्टी फुटाएको अपजस लिन नचाहने केपी शर्मा ओली र माधवकुमार नेपालको चाहनाले एमाले न फुट न जुटको स्थितिबाट गुज्रिएको छ।
एक महीनाअघि नेकपा (एमाले)को दोस्रो तहका नेताको व्यस्तता यति थियो कि घण्टौंसम्म बैठकमै हुन्थे। अहिले भने फुर्सदमा जस्तै देखिएका छन्। यसको कारण हो, विवाद समाधान कार्यदलले गरेको १० बुँदे सहमति कार्यान्वयन नहुनु।
२७ असारमा भएको सहमतिले आन्तरिक विवाद समाधान भएर पार्टी एकताको दिशामा जाने उनीहरूको अपेक्षा थियो। किनकि, वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले उठाउँदै आएका मागलाई सम्बोधन गर्ने गरी कार्यदलले सहमति गरेको थियो। तर, एक महीना पुग्न लाग्दा पनि एमाले विवाद जहाँको त्यहीं छ, बरु झन् चर्किएको छ।
यसबीचमा नयाँ ‘ट्वीस्ट’ आएको छ, अध्यक्ष पदको। नेपाल पक्षले समान अध्यक्षको हिस्सेदारी खोजेका छन् भने अध्यक्ष केपी शर्मा ओली नेपाललाई अध्यक्ष दिन त तयार छन्, तर बराबर अधिकार र हैसियतको होइन, दोस्रो।
नेपाल पक्ष अधिकार विनाको अध्यक्षमा सहमत देखिँदैन। नेपाल पक्षका एमाले पोलिटब्युरो सदस्य सोमप्रसाद पाण्डे अध्यक्ष दिएर मात्रै नपुग्ने बताउँछन्। पार्टीमा यति ठूलो विवाद उत्पन्न भएर दुई वटा समूह बनिसकेकाले बराबर अधिकार सहितको अध्यक्ष दिन ओली तयार हुनुपर्ने पाण्डेको भनाइ छ।
एकताका लागि कुनै न कुनै बाटो निकाल्नुपर्ने उनी बताउँछन्। “नेपाल र ओलीबीच कामको बाँडफाँडको विषयमा ‘पावर शेयरिङ’को कुरा हुनुपर्छ,” पाण्डे भन्छन्, “यति अप्ठ्यारो परिस्थिति आइसकेपछि एकताबद्ध भएर जान त एउटा बाटो निकाल्नुपर्यो। दुई जनालाई समान हैसियत बनोस् भन्ने नराम्रो कुरा पनि होइन।”
अहिले एमालेको विवाद मुख्यतः अधिकार र समान हैसियतको अध्यक्षमा गएर अड्किएको छ। यदि ओली बराबर अधिकार र समान हैसियतको अध्यक्ष दिन तयार भए भने एमाले एक हुनसक्छ, नत्र महीनौंदेखि चलिरहेको एकताको अध्याय केही दिनमा समाप्त हुनसक्छ।
ओलीको ‘मूड’
अध्यक्ष ओलीले अब के गर्लान् भन्ने उनी नजिकका नेताहरूलाई पनि पत्ता छैन। आफू अप्ठ्यारो अवस्थामा पुग्ने बितिक्कै जति वेला जे पनि निर्णय गर्न सक्छन्। पछिल्ला केही दृष्टान्तले पनि त्यही देखाउँछन्। अझ केही समययता उनी आफूले लिएका अडानबाट पछि हट्दै आएका छन्।
जस्तो कि, २८ फागुनमा बसेको एमाले केन्द्रीय कमिटी बैठक नै आधिकारिक भएको र २ जेठमा फर्कन नसक्ने अडान राखे। त्यसपछि नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीलाई भंग गरेर १०औं महाधिवेशन आयोजक कमिटी बनाए। अनि नेपाल सहितका नेताहरूलाई पटक-पटक स्पष्टीकरण सोधे र कारबाही पनि गरे। तर, अन्तिममा ती सबै निर्णयलाई उल्ट्याएर २ जेठमा फर्किएको आफैंले घोषणा गरे। र, नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीकै १०औं बैठक बसाए।
त्यसैले अध्यक्ष ओलीले कति वेला के निर्णय गर्छन्, उनी निकटका नेताहरू समेत भन्न सक्दैनन्। उनले २४ साउनमा केन्द्रीय कमिटी बैठक बोलाएका छन्। त्यो बैठकबाट ओलीले केही महत्त्वपूर्ण निर्णय लिन सक्ने उनी निकट एक केन्द्रीय सदस्य बताउँछन्। “अब यो धरमरको अवस्था धेरै दिन रहन्न, केन्द्रीय कमिटी बैठकमा अध्यक्षज्यूले केही प्रस्ताव ल्याउने सम्भावना छ,” ती केन्द्रीय सदस्य भन्छन्।
ओलीले केन्द्रीय कमिटी बैठकमा ल्याउन सक्ने एउटा प्रस्ताव हो, पार्टी एकताको अध्याय समाप्त भएको निष्कर्ष साथ नेपाल सहित केही नेतालाई कारबाही। तर, पार्टी विभाजन भइहालेमा त्यो नेपालकै कारण भएको हो भन्ने देखाउन सकियोस् भन्नेमा सचेत छन् ओली। ताकि, भोलि कार्यकर्तामा जाँदा सजिलो होस् र विभाजनले ठूलो क्षति नगरोस्।
ओली निकट पोलिटब्युरो सदस्य एवं केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङ पनि विवादको विषयमा छिनोफानो नगरिने बताउँछन्। “हामी वारपार भनेर छिनोफानो गर्दैनौं, पार्टीको तर्फबाट गतिविधि बढाउँदै जान्छौं,” तामाङ भन्छन्, “जो पार्टी काममा लाग्छौं भनेर आउनुहुन्छ, स्वागत गर्छौं। जो आउनुहुन्न, उहाँहरूलाई पर्खेर बस्ने कुरा हुन्न। जति आउन ढिला गर्नुहुन्छ, २ जेठको पद पनि नपाउन सक्नुहुन्छ।”
नेपालको ‘मूड’
अहिले वरिष्ठ नेता नेपाल दोहोरो चेपुवामा छन्। अब छुट्टै पार्टी गठन गरेर अघि बढ्नुपर्छ भन्ने र पार्टी एकतालाई जोगाएर अघि बढ्नुपर्छ भन्ने दुई थरी नेता-कार्यकर्ताको दबाब छ, नेपालमाथि। त्यसले गर्दा पनि नेपालले लामो समयसम्म केही निर्णय गर्न सकेका छैनन्।
कहिले स्थायी कमिटी त कहिले केन्द्रीय कमिटीका आफू पक्षीय नेताको बैठक बसालेर दबाब थेग्ने प्रयास गरिरहेका छन्। नेता नेपालले २४ साउनसम्म एकिकरणको छिनोफानो गर्न आफू निकट वार्ता टोलीका सदस्यहरुलाई निर्देशन दिएका छन् । । त्यतिन्जेलसम्म ओली पक्षबाट केही निर्णय आओस् भन्ने रणनीतिमा देखिन्छन्, नेपाल।
यससँगै अध्यक्ष लिनुहुन्न भनेर नेपाललाई केही नेताले सुझाव पनि दिइरहेका छन्। अहिले पार्टी अध्यक्ष लिँदा व्यक्तिगत रूपमा पनि नोक्सान हुने उनीहरूको तर्क छ। उनी निकट एमाले उपाध्यक्ष भीम रावलले त टेलिभिजन अन्तर्वार्तामै अध्यक्ष चाहिए महाधिवेशनबाट लिनुपर्ने सुझाव दिएका थिए।
त्यस्तै, नेपाल निकट एक अर्का नेता अहिले अध्यक्ष पद लिएमा पार्टीभित्रै पनि आक्रमण हुने बताउँछन्। “कमरेड माधव नेपालले अध्यक्ष माग्नु पनि हुँदैनथ्यो। यसले ठूलो घाटा पुर्याउनेवाला छ। झन् ड्यामेज गर्छ,” उनी भन्छन्, “अहिले अध्यक्ष दिनेहरू नै भोलिपल्टदेखि लखेट्छन्। व्यक्तिगत रूपमा पनि घाटा हुन्छ। पार्टीलाई पनि फाइदा हुँदैन।”
समान हैसियत र अधिकारको अध्यक्षको विषय चर्चामा भए पनि अहिले नेपाल पनि दोधारमा छन्। छुट्टै पार्टी बनाएर सरकारमा सहभागी हुनुपर्ने उनी निकट सांसदको दबाब छ। तर, नेपाल पनि ओली जस्तै पार्टी विभाजनको दोष आफ्नो थाप्लोमा नआओस् भन्नेमा सचेत देखिन्छन्। त्यसैले ओलीले कारबाही गरून् भनेर पर्खिराखेका छन्, नेपाल।