‘दलित पुजारी भनेर टीका नथाप्ने पो हुन् कि भन्ने चिन्ता लाग्छ’
गणेश मन्दिरको पुजारी घोषणा भएपछि प्रफुल्ल भएका लक्ष्मण रम्तेल कर्मकाण्ड सिक्ने तयारी त गरिरहेका छन् नै, तर दलित पुजारी भनेर गैरदलित नआउने पो हुन् कि भन्ने चिन्तामा पनि छन्।
पण्डित दीनबन्धु पोखरेलले २ साउनमा ललितपुरको गोदावरी नगरपालिका-१ गोदामचौरस्थित गणेश मन्दिरको पुजारी घोषणा गर्दा ३९ वर्षीय लक्ष्मण रम्तेल औधी खुशी भएका थिए। त्यसयता मन्दिर निर्माणकै काममा व्यस्त रहँदै आएका उनी केही चिन्तित पनि छन्।
पुजारी रम्तेललाई चिन्तित बनाउने कुरा के होला? व्यक्तिगत भन्दा समाजकै कुराले चिन्तित बनाएको बताउँदै रम्तेल भन्छन्, “कतै दलित पुजारीको हातको टीका लगाउँदिनँ भन्ने पो हुन् कि!”
यस्तो सोचाइ आउनुका पछाडि केही तीता भोगाइ पनि छन्, जसले उनलाई घरीघरी चिमोटिरहन्छन्। उनी २० वर्षअघिको घटना सम्झिन्छन्। एक साँझ साथीभाइ भेट्न भक्तपुर पुगेका थिए। उनका साथी दाह्री काटिरहेका थिए। लक्ष्मणले पनि दाह्री काट्न खोज्दा एक जना साथी जुरुक्क उठेर बोल्यो, “दलित र क्षेत्री बाहुनले एउटै ब्लेडले दाह्री काट्न हुँदैन।”
साथीको व्यवहारले मन कुँडिएको उनी सुनाउँछन्। “त्यो दिन सबैका अघि शिर झुक्यो। मन कुँडियो। घर आएर बेस्सरी रोएँ,” उनी भन्छन्।
त्यो घटना भएको दुई दशक बित्यो। तर, आजसम्म पनि उनले मन्दिर होस् वा बजार, गाउँ होस् वा शहर, चिनजानकै हुन् कि पराई, कहीँ कतै न कतै यस्तो दुर्व्यवहार भोग्दै आएका छन्। जातकै आधारमा अपमानित भइरहेकै छन्।
गणेश मन्दिरका मुख्य पुजारी समेत रहेका पण्डित पोखरेलले २ साउनमा उनलाई पुजारी घोषणा गर्दा भने विगतका विभेद एकछिनलाई भए पनि बिर्सिएका थिए। पुजारी हुन पाएकोमा खुशी पनि छन्। “मलाई यसका लागि योग्य ठानेर चुनिएको होला,” रम्तेल भन्छन्, “तैपनि यो निर्णयले जातीय विभेदमुक्त समाज निर्माणका लागि इँटा थप्ने विश्वास छ।”
उनी गोदामचौरकै बासिन्दा हुन्। पितापुर्खाले गोदामचौरमै जीवन बिताए। अझ घर नजिकै भएकाले मन्दिरको आँगन उनलाई घरकै आँगन जस्तो लाग्छ। त्यही सेरोफेरोमा हुर्किएका उनले आमाको पछ्यौरी समाएर सानै छँदा पनि कैयौं पटक मन्दिरको फेरो लगाएका छन्। “हरेक मंगलबार यही गणेश भगवान्लाई सम्झेर व्रत बसें। कैयौं रात सपनामा पनि गणेशलाई देखें। यो अवसर त्यही आस्थाको फल पनि हुनसक्छ,” उनी गम्भीर बन्छन्।
उनी वर्षौंदेखि मन्दिरको सरसफाइ र संरक्षणमा पनि जुट्दै आएका छन्। २०७२ को भूकम्पले मन्दिर भत्किएपछि संरक्षणमा उनी नै जुटेको रम्तेलकी श्रीमती पूजा रोक्का बताउँछिन्। मन्दिर भत्किँदा गणेशका मूर्ति, घण्ट लगायतका सरसामान उनले नै सम्हालेका थिए। घण्ट त अझै पनि उनको घरमै छ। निर्माण भइसकेपछि मन्दिरमै राख्ने रोक्का बताउँछिन्।
मठमन्दिर निर्माण लगायतका सामाजिक कार्यमा अघि सर्ने रम्तेल भगवान्प्रतिको आस्था र श्रद्धाले मन्दिर निर्माणमा जुटेको बताउँछन्। “बाहुन–क्षेत्री पनि हिन्दू, म पनि हिन्दू। अरूको जस्तै मेरो पनि आस्था र श्रद्धा छ। त्यसैले मन्दिर निर्माणमा आफैं अघि सरें,” उनी भन्छिन्।
यही आस्था र लगाव देखेरै सनातन गोरक्ष राष्ट्र नेपालले पुजारी बनाउने निर्णय गरेको हुनसक्ने उनका बुबा गोविन्द रम्तेलको अनुमान छ। छोरा पुजारी भएकोमा ८९ वर्षीय गोविन्द पनि खुशी छन्, तर उनको मनमा पनि एउटा चिन्ता छ। “छोरा पुजारी बन्ने कुराले खुशी बनायो। पुजारी बनेर अरूलाई पनि खुशी दिन सकोस्,” वृद्ध भन्छन्, “भोलिका दिनमा दलितको छोरो पुजारी भनेर कसैले अपमान गर्ने हुन् कि भन्ने डर छ। कसैले नराम्रो नभन्दिऊन्।”
कर्मकाण्ड सिक्ने तयारी
बिहान ४ बजेसँगै रम्तेलको दैनिकी शुरू हुन्छ। नुवाइधुवाइसँगै नजिकै रहेको पीपल बोटमा अर्घ दिन्छन्। त्यसपछि अन्य काममा लाग्छन्। “पुजारी घोषणा भएपछि गरेको हैन, यो मेरो पहिल्यैदेखिको कर्म हो। यसमै खुशी हुन्छु,” उनी भन्छन्।
आस्थाले पूजापाठ गरे पनि उनी कर्मकाण्डबारे अनभिज्ञ छन्। त्यसैले पण्डित पोखरेलले कर्मकाण्ड सिकाउने बताएका छन्। केही दिनमै पण्डित पोखरेलबाट कर्मकाण्ड सिक्ने ध्याउन्नमा छन् उनी । त्यसअघि अहिले धार्मिक ग्रन्थहरू अध्ययन गरिरहेका छन्।
पेशाले उनी इलेक्ट्रिसियन हुन्। पिलास, पेचकस लगायत विभिन्न विद्युतीय औजार नछुट्ने उनको हातमा अहिले भने गीता, रामायण लगायतका धर्मसँग सम्बन्धित पुस्तक हुन्छन्।
उनलाई यो सिक्ने समय पनि मिलेको छ। मन्दिर निर्माण हुन तीन महीनासम्म लाग्ने देखिएको छ। “त्यति वेलासम्म म पनि तयारी गरिसक्छु,” उनी भन्छन्।
मन्दिर निर्माणपछिको योजना पनि उनले बनाइसकेका छन्। हरेक मंगलबार दिनभर मन्दिरमै बिताउनेछन्। अन्य दिन बिहानको समय मन्दिरलाई नै दिने उनको विचार छ। गणेशसँगै गोदामचौरका अन्य मठमन्दिर, पाटीपौवा बनाउने पनि उनको योजना छ।
यी सब योजना हुँदाहुँदै पनि उनको भोगाइले भने ऐंठन हुन्छ। पुजारी बन्दा पनि त्यही विभेद भोग्नुपर्ने हो कि भन्ने चिन्ता छ। “भगवान्ले त भेदभाव गरेका छैनन्। त्यसो गर्ने मान्छे नै हुन्,” उनी प्रश्न गर्छन्, “भगवान् पनि सानो ठूलो जातका हुन्छन् र?”
उनले केही वर्षअघिको एउटा घटना सम्झिए। जनैपूर्णिमाका दिन डोरो बाँध्दै आएका पण्डितले दलितको घर भन्ने थाहा पाएपछि आफूहरूलाई नबाँधेको उनी बताउँछन्। “अरूलाई डोरो बाँधे, दलित भन्ने थाहा पाएपछि हाम्रो हातमा बाँधेनन्, परैबाट हुत्याए,” उनी सम्झन्छन्, “अब म भने त्यस्तो गर्नेछैन। मन्दिरमा आएका सबैलाई सम्मान गर्नेछु।”