लडाकु दस्तामा प्रतिस्पर्धा : राजनीतिको अपराधीकरण
विचार, तर्क र दर्शनबाट निर्देशित हुनुपर्ने राजनीतिक दलले शक्ति संघर्षका नाममा गठन गरेका लडाकु दस्ताले राजनीतिक मुठभेडको जोखिम बढाएको छ।
प्रतिनिधि सभा विघटन गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयलाई बदर गर्दै विपक्षी गठबन्धनका शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतले आदेश दिएको भोलिपल्ट २९ असारमा युवा संघले युथ फोर्स ब्युँतिएको घोषणा गर्यो। ओली पक्षीय युवा संघले ब्युँताएको युथ फोर्सको संयोजक छन्, क्षितिज थेबे।
त्यसको चार महीना अघि ५ चैत, २०७७ मा बसेको नेकपा (माओवादी केन्द्र) का युवाको भेलाले वाईसीएल ब्युँताउने निर्णय गरेको थियो। २०६५ मा वाईसीएलका नाममा माओवादीको ज्यादती बढेको भन्दै एमालेको युवा संघका नेता महेश बस्नेतको संयोजकत्वमा युथ फोर्स गठन गरिएको थियो। जुन वाईसीएलको विघटनसँगै निष्क्रिय थियो। फेरि दुवै ब्युँताइएका छन्।
अझ नेकपा (एमाले)का अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष फोर्स गठनको प्रतिस्पर्धा छन्। सरकारबाट बाहिरिएसँगै शुरू भएको फोर्स गठनको प्रतिस्पर्धामा एमालेभित्रको आन्तरिक विवाद उत्प्रेरक बनेको छ।
युवा संघ मातहत रहने गरी ओली पक्षले युथ फोर्स ब्युँताएको घोषणा गरे लगत्तै नेपाल पक्षले पनि युवा संघ मातहत नै रहने गरी पिपुल्स भोलेन्टियर्स गठन गरेको छ। एक हजार एक सदस्यीय भोलेन्टियर्सको प्रमुखमा शिव श्रेष्ठ छन्। त्यसैगरी, नेपाल पक्षले टपेन्द्रजंग शाहीको नेतृत्वमा अनेरास्ववियू मातहत अखिल फोर्स पनि गठन गरेको छ।
फोर्स गठनको प्रतिस्पर्धा यतिमै सीमित छैन। एमालेभित्र केही महीनाअघि घोषणा गरिएको साइबर सेना र माओवादीबाट एमालेमा आएका प्रभु साहको अग्रसरतामा बनाइएको आईटी आर्मी पनि छन्। विशेष गरी सामाजिक सञ्जालमा सक्रिय राखिने यी समूह विपक्षी विरुद्ध गलत सूचना फैलाउन क्रियाशील बनाइएका हुन्।
नाम सुन्दै सैन्य संरचना जस्ता लाग्ने दुवै पक्षका फोर्स पार्टीको शक्ति संघर्षमा प्रतिस्पर्धाका लागि गठन गरिएकोमा कुनै सन्देह छैन। तर, दुवै पक्ष सुशासन र जनताको पक्षमा तथा माफिया विरुद्ध काम गर्न बनाइएको बताउँछन्। ओली पक्षीय युवा संघका अध्यक्ष किरण पौडेल युथ फोर्स फरक संगठन संरचना नभई युवा संघमा युवा आकर्षण बढेकाले उनीहरूलाई समेट्न बनाएको बताउँछन्।
नेपाल पक्षीय अनेरास्ववियूका सह–अध्यक्ष वसिम आलम शैक्षिक र स्वास्थ्य क्षेत्रका माफिया तह लगाउनका लागि अखिल फोर्स बनाएको बताउँछन्। उनी भन्छन्, “शिक्षा र स्वास्थ्य क्षेत्रमा माफियाको जुन जालो छ, त्यसलाई तोड्न अखिल फोर्सको निर्माण गरेका छौं। शिक्षा र स्वास्थ्य क्षेत्रको गुन्डागर्दीलाई तह लगाउन हाम्रो फोर्स ‘मुभ’ हुन्छ।”
विश्लेषकहरू भने विरोधीलाई तह लगाउन र भयको वातावरण सिर्जना गर्न यी समूह बनाएको बताउँछन्। “यी संगठन यस्तो वेला अस्तित्वमा आएका छन्, जतिवेला एमाले सत्ताबाट बाहिरिएको छ र पार्टी संकटमा छ,” वामपन्थी विश्लेषक एवं लेखक झलक सुवेदी भन्छन्, “आफ्नो विपक्षमा नबोलून् भन्न खोजेको देखियो। उनीहरूभित्र हतास र भयको मनोविज्ञानले काम गरेको छ। के गरौं, के गरौं भनेर यतातिर लागेका हुन्।”
एमालेभित्रै विरोध
ओली र नेपाल पक्षले बनाएका युथ फोर्स, अखिल फोर्स, साइबर सेना, आइटी आर्मी जस्ता युवा समूहलाई लिएर एमालेभित्रै पनि आलोचना शुरू भएको छ। यद्यपि औपचारिक रूपमा भने एमाले नेताहरू बोल्दैनन्।
पार्टीको विधानमा कहीँकतै उल्लेख नभएका यी समूहको वैधानिकता नभएको एमालेका एक स्थायी कमिटी सदस्य बताउँछन्। “यस्ता फोर्सले पार्टीलाई विचारप्रधान भन्दा बलप्रधान बनाउँछ र बदनाम गर्छन्,” उनी भन्छन्, “युवा शक्तिलाई विचारका आधारमा गोलबन्द गरेर उत्पादनशील काममा लगाउनुपर्छ, बलका आधारमा होइन।”
पाँच महीनाअघि एमाले केन्द्रीय सदस्य महेश बस्नेतले साइबर सेना बनाउँदा अर्का केन्द्रीय सदस्य गोकुल बास्कोटाले सार्वजनिक रूपमै विरोध जनाएका थिए। बास्कोटाले ट्वीट गर्दै भनेका थिए, “म राज्यको सेनामाथि विश्वास गर्छु, अरू कुनै नाम वा प्रकारको सेनामाथि होइन। ओली नेतृत्वको नेकपा साइबर सेनाको टुकडीमा होइन, सम्पूर्ण जनताको विवेकमाथि भर पर्छ।”
अहिले एमाले विभाजनको सँघारमा छ। प्राविधिक रूमा एउटै पार्टी भए पनि दुई पार्टीको अभ्यास भइरहेको छ। एमाले विभाजनको आकलन गरेर नै दुवै पक्षले शक्ति आर्जनका लागि फोर्स निर्माण गरेको देखिन्छ।
युवा संघका अध्यक्ष पौडेल कसैमाथि आक्रमण गर्ने नीति नभएको, तर कसैले आक्रमण गरेमा प्रतिरोध गरिने बताउँछन्। “हामीले अहिलेको परिस्थितिको नजिकबाट आकलन गरिरहेका छौं,” नेपाल पक्षले गर्ने गतिविधिप्रति लक्षित गर्दै उनी भन्छन्, “राजनीतिक भाइरसलाई तह लगाउनका लागि पनि युथ फोर्सले काम गर्छ।”
त्यसैगरी, नेपाल पक्ष पनि ओली पक्षको भण्डाफोर गर्ने भन्दै शक्ति सञ्चय गरिरहेको देखिन्छ। नेपाल पक्षीय अनेरास्ववियूका सह-अध्यक्ष आलम धाकधम्की दिने र तर्साउने विरुद्ध अखिल फोर्सको निर्माण गरिएको बताउँछन्।
बाहुलीमा विश्वास
राजनीतिक दल विचार, सिद्धान्त र दर्शनबाट निर्देशित हुन्छन्। दलले लिएको विचार र दर्शनका आधारमा जनतालाई संगठित गर्दै आफ्नो शक्तिलाई बलियो गराउने राजनीतिको बाटो हो। जब राजनीतिक दल यो बाटोलाई छाडेर शक्ति निर्माणको प्रतिस्पर्धामा लाग्छन्, त्यसपछि विचारले भन्दा मुढे बलका आधारमा पार्टी चल्न थाल्ने विश्लेषकहरू बताउँछन्।
वाम विश्लेषक सुवेदी राजनीतिक दल विचारका आधारमा सञ्चालन हुनुपर्ने बताउँछन्। “समाजलाई भयग्रस्त बनाउने, दबाब सिर्जना गर्ने र त्यसका आधारमा संगठन विस्तार गर्ने गरी फोर्स बनाएको देखिन्छ, भयको मनोविज्ञानबाट राजनीति गर्न खोजेको अर्थ लाग्छ,” उनी भन्छन्, “जसले यस्ता संगठन बनाए, उनीहरू नै हतास मनस्थितिमा छन्, आफ्नो अस्तित्व र भविष्यलाई लिएर भयग्रस्त छन् भन्ने देखाउँछ।”
एउटा राजनीतिक दलले युवालाई संगठित गर्ने नाममा विभिन्न फोर्स बनाउँदा अन्य राजनीतिक दल पनि त्यतैतिर लाग्न थाल्छन्। त्यसले राजनीतिको आडमा गुन्डागर्दी बढ्ने जोखिम हुन्छ। विगतको अनुभव पनि त्यस्तै छ।
केही वर्षअघि माओवादीले वाईसीएल बनाएर दबाब सिर्जना गरेपछि एमाले लगायत अन्य दलले पनि युवालाई संगठित गर्ने नाममा विभिन्न दस्ता निर्माण गरेका थिए। ती दस्तामा आबद्ध व्यक्ति विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भएको पाइएको थियो। जस्तो, १३ चैत २०६७ मा बुटवलमा वाईसीएलका जिल्ला नेता सुजित विकले युथ फोर्सका जिल्ला नेता प्रचण्ड थैबलाई गोली हानी हत्या गरे। दुई फरक संगठनमा रहेका उनीहरू ठेक्कापट्टा र आर्थिक लेनदेनदेखि राजनीतिक प्रतिस्पर्धाले हत्यासम्म भएको त्यतिवेलै सार्वजनिक भएको थियो।
यसरी युवालाई राजनीतिक स्वार्थका लागि प्रयोग गरिँदा भविष्यमा सुरक्षा चुनौती बढ्न सक्ने नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) हेमन्त मल्ल बताउँछन्। “यी फोर्स एक–अर्का पार्टी विरुद्ध भिड्नका लागि बनाइएका हुन्। शुरूआतमा आफैं-आफैंमा र पछि सुरक्षाकर्मीसँग भिडन्त हुने सम्भावना हुन्छ,” मल्ल भन्छन्।
उनी युवालाई यस्तो फोर्सभन्दा उत्पादनशील काममा लगाउनुपर्ने बताउँछन्। “युवा परिचालन गर्दा आर्थिक व्यवस्थापनका लागि चन्दा उठाउने क्रम बढ्नसक्छ। यसले भविष्यमा सुरक्षासँगै अन्य चुनौती थप्छ,” मल्ल भन्छन्, “युवालाई त उत्पादनशील काममा पो लगाउने हो नि।”
“वाईसीएलले त माओवादीलाई दीर्घकालीन रूपमा फाइदा गरेको रहेनछ भन्ने २०७० सालको निर्वाचनले देखायो,” विश्लेषक झलक सुवेदी भन्छन्, “मान्छेले तत्काल विरोध जनाई हाल्दैनन्। समयक्रममा अरू माध्यमबाट विरोध जनाउँछन्। माओवादीलाई भोट नदिएर विरोध गरेका थिए।”
बदनाम बाहुबल
दलहरूमा धाक, धम्की र रवाफबाट पार्टी र सत्ता बलियो हुन्छ भन्ने भ्रम छ। तर, विगत भने यस्तो छैन। २०१७ मा तत्कालीन राजा महेन्द्रले शासनसत्ता हातमा लिएपछि त्यस विरुद्ध भित्रभित्रै संघर्ष शुरू भयो। २०३० सम्म आइपुग्दा पञ्चायत विरुद्ध आन्दोलनरत विद्यार्थी एकीकृत रूपमा अघि बढे। पञ्चायती व्यवस्थाले त्यसको काउन्टरमा राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डल बनायो।
विद्यार्थी मण्डलका नाममा भय, डर, त्रास र आतंक सिर्जना गरियो। बहुदल पक्षधरलाई तह लगाउन बनाइएको विद्यार्थी मण्डलले पञ्चायतलाई टिकाउन त सकेन नै, उल्टै पञ्चायती व्यवस्थाको बदनाम भयो।
शान्ति प्रक्रियामा आएपछि माओवादीले पनि वाईसीएल बनायो। त्यसको आतंक यति थियो कि होटलमा खाना खाएर पैसा नतिर्ने, चन्दाका नाममा धम्क्याउने र अपहरण गर्नेसम्मका क्रियाकलाप भए। २०६४ काे संविधानसभा निर्वाचनमा ठूलो शक्ति बनेको माओवादी २०७० मा तेस्रो दलमा खुम्चिनुको एउटा कारण वाईसीएलकाे ज्यादती पनि थियाे।
विश्लेषक सुवेदी पञ्चायत र माओवादीलाई त फोर्सले फाइदा नगरेको बताउँछन्। “वाईसीएलले त माओवादीलाई दीर्घकालीन रूपमा फाइदा गरेको रहेनछ भन्ने २०७० सालको निर्वाचनले देखायो,” विश्लेषक सुवेदी भन्छन्, “मान्छेले तत्काल विरोध जनाइहाल्दैनन्। समयक्रममा अरू माध्यमबाट विरोध जनाउँछन्। माओवादीलाई भोट नदिएर विरोध गरेका थिए।”
पञ्चायतकालमा राजनीतिक दलले उमेर समूहका आधारमा युवा र विद्यार्थीलाई समेट्न बनाएका युवा र विद्यार्थी संगठनमा आबद्ध हुन त्याग र समर्पण चाहिन्थ्यो। तर, २०४६ मा बहुदलीय व्यवस्था पुनःस्थापनापछि भने राजनीतिक दलसँग आबद्ध युवा संगठन बिस्तारै स्खलित हुन थाले।
त्यो रेडगार्ड!
राजनीतिक दलले उमेर समूहका आधारमा युवा र विद्यार्थीलाई समेट्न युवा र विद्यार्थी संगठन बनाएका हुन्। पञ्चायतकालमा यस्ता संगठनमा आबद्ध हुन त्याग र समर्पण चाहिन्थ्यो।
विचारबाट आकर्षित भएर युवा यस्ता संगठनमा आबद्ध हुन्थे र उनीहरूले विचारका माध्यमबाट संगठन निर्माणमा जोड दिन्थे। तर, २०४६ मा बहुदलीय व्यवस्थाको पुनःस्थापनापछि भने राजनीतिक दलसँग आबद्ध युवा संगठन बिस्तारै स्खलित हुन थाले।
त्यसको एउटा उदाहरण हो, रेडगार्ड। को–अर्डिनेसन केन्द्र (कोके) ले युवालाई संगठित गर्न २०३१ मा रेडगार्ड अर्गनाइजेसन बनायो। त्यतिवेला पार्टीको नीति नै सशस्त्र विद्रोहको तयारी थियो। सबै संगठन सैनिक संरचनामा थिए। त्यसैले, युवालाई रेडगार्डमा संगठित गरेर लडाकु चरित्रको बनाइएको थियो।
२०३५ मा बनेको नेकपा (माले) ले २०३७ मा जनसंघर्षको कार्यनीति लियो। त्यसपछि रेडगार्डलाई योङ कम्युनिष्ट लिगमा रूपान्तरण गर्यो। त्यसैलाई २०४२ पछि युवा लिग भन्न थालियो।
र, २०४७ मा आएर एमालेले प्रजातान्त्रिक राष्ट्रिय युवा संघ बनायो। त्यही संगठन २०६५ आएर नाम परिवर्तन गर्दैै युवा संघ नेपाल बन्यो। अहिले युवासँग विभिन्न फोर्स घोषणा गरिरहेको छ।