तकदीरसँग जोडिने एकदिने फूल
झापाको जलथल जंगल क्षेत्रका बासिन्दाले तकदीरसँग जोडेर सम्झिने पाँचफलको फूल एक दिनका लागि मात्रै फुल्ने भए पनि लामो समय टिक्ने फल भने बहुउपयोगी हुन्छ, तर संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेको छ।
ठाइडिठ बिबाराब बारा खै,
आङनी खाफालाव गेवा खै।
अर्थात्
ठाइडिठ पनि फुलेन,
यसैले मेरो तकदीर पनि फुलेको छैन।
पाँचफलबारे जिज्ञासा राख्दा झापाको हल्दीबारी गाउँपालिका-३ का सन्तलाल मेचेले यो गीत सुनाएका थिए। मेचे भाषामा पाँचफललाई ठाइडिठ भनिँदो रहेछ।
लामो समय झापाको चौकीबिरान सामुदायिक वन उपभोक्ता समूहको नेतृत्व तहमा रहेर काम गरेका सन्तलाल झापाको जलथल जंगलकोे जैविक विविधता र भूगोलका राम्रो जानकार हुन्। पाँचफलबारे जिज्ञासा राख्दा उनले यससँग जोडिएको गीतको हरफ सम्झेका थिए।
यो वनस्पतिबारे बुझ्दै जाँदा मेचे समुदायमा प्रकृतिको कति सूक्ष्म अध्ययन रहेछ भन्ने थाहा पाएँ। किनभने, यसको फूल र फल कस्तो हुन्छ भन्ने विषयमा वनस्पति अध्ययन तथा अनुसन्धातालाई पनि खासै जानकारी हुँदैन। अर्को, यो वनस्पति फुल्ने र फल्ने प्रक्रिया पनि पृथक् हुन्छ।
ठाइडिठलाई पूर्वी नेपालमा पाँचफल, औंट्याङ्गा, टेंगा, रामफल, ठूलो टाँटरी आदि नामले चिनिन्छ। भारतको पूर्वोत्तर राज्य असमसँगै नेपालमा पनि औंट्याङ्गा भनिने हुँदा अपभ्रंश भएर टेंगा नाम रहन गएको हुनसक्छ।
फलमा पाँचवटा फक्लेटा वा पत्रहरू हुने भएकाले पाँचफल नाम रहन गएको हो। फलको आकार स्याउ जत्रो र जस्तै हुन्छ। यसको फल हात्तीले स्वादिष्ट मानेर खान्छ। त्यसैले ‘एलिफेन्ट एप्पल’ नाम पनि पाएको छ। पाँचफलको वैज्ञानिक नाम भने ‘डिलेनिया इन्डिका’ हो।
तराईमा सालको जंगलमा हुने टाँटरी भनिने वनस्पति पाँचफलको सहगोत्री प्रजाति हो। पाँचफलको रूख १५-२० मिटरसम्म अग्लो हुन्छ। बोटका सबै पात एकैपटक झर्दैनन्। त्यसैले यो सदाबहार वनस्पतिमा पर्छ।
पाँचफलको पातको आकृति टाँटरीको जस्तै हुन्छ। पातको वरिपरिको घेरामा टाँटरीको जस्तै दाँत हुन्छन्, तर पातको चौडाइ र लम्बाइ भने टाँटरीको भन्दा कम हुन्छ। फूल सेतो र घ्यू रंगको तथा ब्यास २० सेन्टिमिटरसम्म हुन्छ।
फूलमा एक-आपसमा नजोडिएका पाँच-पाँच वटा पत्रदल र पुष्पदल हुन्छन्। फल गोलाकार हुन्छ। सप्रियो भने एउटा फल आधा किलोग्रामभन्दा बढी हुन्छ। टाँटरीको फूल र फल भने निकै सानो हुन्छ।
पाँचफल खोला किनारको चिसो र खुल्ला ठाउँमा प्राकृतिक रूपमै हुर्किन्छ। नेपाल, भुटान, भारत, बर्मा हुँदै पूर्वी एशियाको मलेसियासम्म पाइने यो प्रजाति पूर्वी र मध्य नेपालका सीमित ठाउँमा पाइएकोे अभिलेख छ।
विचित्र पत्रदल, पृथक् र छद्म फल
आँप, लिची, सुन्तला जस्ता अधिकांश फलफूलमा खाने भाग भनेको मूल फल हो, तर पाँचफलमा भने मूल फलभन्दा अन्य भाग अर्थात् पत्रदल हो। पत्रदल भनेको फलको भेट्नासँगै फूलको तल्लो भागमा हुने फूल वा फलको सबैभन्दा बाहिरी भाग हो, जुन सामान्यतया हरियो हुन्छ।
फूलमा पत्रदल फरक-फरक हुन्छन्। अधिकांश बिरुवामा परागसेचन पश्चात् फलको विकाससँगै पत्रदल झर्ने वा थप नबढी फलको फेदमा टाँसिएर रहने गर्छ। यस्तो प्रकृतिको पत्रदल गोलभेँडाको हुन्छ। अम्बामा भने फलको टुप्पोमा टाँसिएर रहन्छ। तर, अत्यन्त थोरै प्रजातिमा फलसँगै पत्रदल पनि विकसित हुन्छ, बढ्छ र फललाई ढाकेर राख्छ। पाँचफल यही प्रकृतिको वनस्पति हो।
फूलमा परागसेचन पश्चात् निषेचन हुँदै लामो प्रक्रियाबाट मात्र फल बन्छ। अधिकांश वनस्पतिको खान मिल्ने फल र बीउ यही प्रक्रियाबाट बन्छ। हामीले खाने भाग भनेको धेरैजसो फलमा निषेचन पश्चात् विकसित हुने अंगहरू हुन्।
पाँचफलमा भने फूलमा शुरूआतदेखि अवस्थित पत्रदल नै खाने मुख्य वस्तु हो, यद्यपि पत्रदलभित्रको मूल फल पनि खान मिल्छ। पाँचफलमा प्रमुख र ठूलो हिस्सा ओगट्ने भाग नै पत्रदल हो। प्राविधिक आधारमा यस्तो प्रकृतिको फललाई ‘स्युडोकार्प’ वा छद्म फल भनिन्छ।
पाँचफलको रहस्य भनेको यसको मूल फल सहजै बाहिर देखिँदैन। बोक्राभित्र लुकेको हुन्छ। मूल फल बाहिर देखिन या त फल झरेर बोक्रा (पत्रदल) आफैं कुहिन पर्छ वा त्यसलाई काट्नै पर्छ। यस कारण, पाँचफल अन्य फलभन्दा फरक हुन्छ। सामान्यतया एउटा परिपक्व फलमा पत्रदलको तुलनामा बाँकी फलको आकार र वजन कैयौँ गुणा धेरै हुन्छ। उदाहरणका लागि, गोलभेँडाकै पत्रदल हेरौँ। तर, पाँचफलमा फलको तुलनामा पत्रदल तीन-चार गुणा बढी हुन्छ।
एकदिने सुन्दर फूल
फूल कुन सिजनमा, कुन समयमा (दिउँसो वा राति) र कति लामो समयसम्म फुल्छन् भन्ने प्रजाति अनुसार फरक-फरक हुन्छ। पारिजात, टटेलो, रातकी रानी, ड्रागन फ्रुट र जलकुम्भी (जंगली रूख) जस्ता वनस्पतिका फूल राति फुल्छन् भने अन्य वनस्पतिका फूल बिहान-दिउँसो फुल्छन्। कुनै फूल एक सातादेखि महीना दिनसम्म फुल्छन्, जस्तै सुनाखरी। घण्टी फूल त दुई सातासम्म रहन्छ, तर पाँचफलको फूल निकै छोटो समयका लागि फुल्छ।
त्यसैले मेचे भाषाको ‘ठाइडिठ बिबाराब बारा खै, आङनी खाफालाव गेवा खै’ अर्थात् ‘पाँचफल पनि फुलेन, यसैले मेरो तकदीर पनि फुलेको छैन’ गीत बनेको छ। कुनै वर्ष फूल फुलेको नदेखिएको प्रसंगमा यो गीत रचिएको हुनुपर्छ।
पाँचफल र फूलसँग सम्बन्धित तीन वटा तथ्यले यो गीतको सन्दर्भ बुझ्न सहयोग गर्छन्। वर्षायामसँगै फुल्ने यसका फूल तुलनात्मक रूपमा ठूलो हुने भए पनि बाक्लो पातबीच भुइँतिर फर्किने भएकाले अलि परबाट वा रूखको वरिपरिबाट सहजै देख्न सकिँदैन। रूखमुनि नै गएर नहेरसम्म फूल फुलेको देखिँदैन।
घण्टी जस्तै झुन्डिने सेतो, निकै आकर्षक र हल्का बास्नादार यो फूलको सौन्दर्य धेरै लामो समयसम्म रहँदैन। कोपिलाबाट फक्रेर पुष्पदल खस्दै फूल बन्द हुनेसम्मको समयलाई आयु मान्ने हो भने यो निकै छोटो हुन्छ।
सन् १९९७ मा प्लान्ट सिस्टम्याटिक्स एन्ड इभोलुसन जर्नलमा प्रकाशित एक अध्ययन अनुसार, पाँचफलको फूल बिहान फुल्छ र दिउँसो चाँडै झर्छ (पुष्पदल मात्र)। तसर्थ नियमित अवलोकन नगर्ने हो भने फूल फुलेको देख्न पाइन्न। अर्को, यो जलथल क्षेत्रमा दुर्लभ भएकाले पनि फूल देख्ने सम्भावना त्यसै कम हुन्छ।
फूलका ठूला सेता वा घ्यू रंगका पुष्पदल खसेसँगै फूल बन्द हुने क्रम शुरू हुन्छ। त्यससँगै पत्रदलको पनि थप विकास हुन्छ। भित्रतिरको एउटा पत्रदल घुम्रिँदै गएर निषेचन भएको गर्भकेशरलाई वरिपरिबाट ढाक्छ। बाँकी चारवटा पत्रदल भित्री पत्रदलको वरिपरि बलियो गरी टमक्क परेर बस्छन्।
पत्रदलको माथिल्लोको तुलनामा तल्लो भाग बाक्लो हुन्छ र बलियो गरी गर्भकेशरको मुनि भेट्नासँग जोडिन्छ। यसको पत्रदल भेट्ना बाहेक अन्यत्र एक-आपसमा नजोडिने भए पनि बलियोसँग टाँसिएको हुन्छ। हातले एक-अर्काबाट छुट्याउन मुश्किल हुन्छ।
अचारदेखि औषधिसम्म
बहुउपयोगी वनस्पति पाँचफलको फूल र फल खाइन्छ। हरियो पत्रदल र घ्यू वा सेतो रंगको पुष्पदल अचार बनाएर खाने गरिन्छ। यो अमिलो हुन्छ, जसलाई तरकारी, अचार, चटनी र जाम समेत बनाएर खाइन्छ। फलमा हुने लेसिलो चोप रोटी नरम बनाउन पनि प्रयोग गरिन्छ।
भारतको असमतिर यसको फलमा हुने लेसिलो पदार्थलाई स्याम्पुका रूपमा पनि प्रयोग गरिन्छ। चोपलाई शक्तिवर्द्धक औषधिका रूपमा उपयोग गरिँदै आएको छ। यसको काठबाट हल्का खाले फर्निचर बनाउन प्रयोग गरिन्छ।
पाँचफलको फूल, फल र पातलाई परम्परागत उपचार प्रणालीमा विभिन्न रोगको उपचार गर्न प्रयोग गरिन्छ। यसको रासायनिक गुणबारे पनि थुप्रै अध्ययन भएका छन्। केही अध्ययनमा मधुमेह नियन्त्रण गर्न, घाउ निको बनाउन र दुखेको कम गर्न प्रयोग गरिने उल्लेख छ।
सन् २०१३ मा इन्टरनेशनल जर्नल अफ रिसर्च इन आयुर्वेद एन्ड फार्मेसीमा प्रकाशित एक अध्ययन अनुसार, भारतको असममा गरिएको परीक्षणमा यसको फलको पाउडरले मधुमेहका बिरामीमा ग्लुकोजको मात्रा नियन्त्रण गर्न सफल भएको देखाएको छ।
त्यस्तै, सन् २०१९ मा जर्नल अफ डायबिटिज रिसर्चमा प्रकाशित एक लेखले पाँचफलको प्रयोग मधुमेह र यससँग सम्बन्धित अन्य जटिलतामा समेत उपयोगी हुने उल्लेख गरेको छ। सन् २०१७ मा फर्मास्युटिकल बायोलोजी जर्नलमा प्रकाशित एक अध्ययनले मुसामा गरिएको परीक्षणमा यसको फलमा पाइने ‘बेटुलिनिक एसिड’ले घाउ सन्चो हुने र दुखाइ कम हुने पाइएको जनाइएको छ।
घट्दो घनत्व
तीन दशकअघिसम्म झापाका वनमा पाँचफलका रूख प्रशस्तै थिए। जलथल जंगल आसपासका मेचे समुदायका पाका मानिसले यसको फल संकलन गरेर उपयोग गरेको बताए। पछिल्लो पिँढीमा भने खासै जानकारी राखेको समेत देखिँदैन।
पाँचफलको फूल र फलको प्रकृति, परम्परागत प्रयोग, रासायनिक परीक्षण र पुनरुत्पादनबारे प्रशस्तै प्रकाशन भएका छन्। तर, नेपालमा भने यसमा केन्द्रित भएर गरिएका अध्ययन खासै भेटिँदैनन्। हालै मात्र ‘फरेस्ट एक्सन नेपाल’ संस्थाका अनुसन्धानकर्ताले गरेको अध्ययनले जलथल वनमा यसका रूख निकै दुर्लभ अवस्थामा रहेको जनाएको छ।
वन सर्वेक्षण, घुमफिर र स्थानीयले दिएको जानकारीका आधारमा अनुमान गर्दा जलथलमा यसका रूख दोहोरो अंकभन्दा कमै छन्। दाउराका लागि काट्ने गरेकाले घटेको हुनुपर्छ। अझै पनि पूर्वी नेपालको चुरे फेदतिर केही ठाउँमा पाँचफल पाइन्छ। झापाको अर्जुनधारा नगरपालिकास्थित जुकेखाडी सामुदायिक वनको दहिझेडा खोला क्षेत्रमा यसका बोट उल्लेख्य संख्यामा छन्।
नेपालका अन्य ठाउँका वनमा पनि यसका रूख पक्कै छन्, तर अवस्थाबारे अभिलेख पाइन्न। तसर्थ डिभिजन वन कार्यालय, सामुदायिक वन उपभोक्ता समूहले पाँचफलबारे विस्तृत अध्ययन गरी जोगाउने उपायको योजना बनाउनुपर्छ। त्यस्तै, संघीय सरकारको वन तथा वातावरण शाखाले पनि यसको दिगो संरक्षणको कार्यक्रम ल्याउनुपर्छ। नत्र भने पाँचफल मेचे गीतमै सीमित रहनेछ।