मजदुरमारा महामारी!
कोरोनाभाइरसको पहिलो र दोस्रो लहरले थलिएका हेटौंडा औद्योगिक क्षेत्रका मजदूर र उद्योगी तेस्रो लहरसँग जुध्न खोपको प्रतीक्षामा छन्।
कोभिड-१९ को दोस्रो लहर वैशाखयता साम्य हुँदै आए पनि मकवानपुरको हेटौंडा उपमहानगरपालिका-६ हात्तिलेटका अर्जुन चौलागाईं परिवारसँग बस्न पाएका छैनन्। कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखेर उनी कार्यरत महाशक्ति सोप एन्ड केमिकल्स प्रालिले घरबाट आवतजावत गर्न रोकेको छ।
सधैं घरबाट उद्योग आवतजावत गर्ने अर्जुन चार महीनादेखि भने उद्योगमै बस्दै आएका छन्। उनीसँगै २४ जना मजदूरले पनि घर जान पाएका छैनन्।
उद्योगले कामबाट निकालेपछि घरमै बसिरहेका एक मजदूर भन्छन्, “अहिले त आर्थिक समस्या छ। कतै गुनासो गर्दा पनि पछि काममा जाने बाटो बन्द होला भनेर चुपचाप बसेको छु।”
हेटौंडा-८ का अर्का मजदूर भने एक वर्षदेखि घरमै छन्। कोरोनाका कारण रोजगारी गुमाएका उनी भन्छन्, “कोरोनाको समस्या छ। यस्तै वेला उद्योगले निकालेपछि घर चलाउनै गाह्रो भएको छ।”
कोरोना संक्रमण घटेपछि काममा लगाउने भन्दै उद्योगले कामबाट निकाल्यो। उनले पनि पछि काम नपाइएला कि भन्ने सोचेर विरोध गरेनन्। कतै उजुरबाजुर नगरी घरमै बसिरहेका उनी भन्छन्, “अहिले त आर्थिक समस्या छ। कतै गुनासो गर्दा पनि पछि काममा जाने बाटो बन्द होला भनेर चुपचाप बसेको छु।”
कोरोना महामारीको सबैभन्दा बढी असर मजदूरलाई परेको छ। कतिपय निकालिएका छन् भने कतिपयलाई बेतलबी बिदामा घर पठाइएको छ। उनीहरू सबैलाई दैनिकी चलाउन सकस भएको छ।
कोरोनाको दोस्रो लहरपछि मकवानपुरका १० प्रतिशत उद्योग बन्द छन्। अझ सञ्चालनमा रहेका उद्योग पनि पूर्ण क्षमतामा चलेका छैनन्। धेरैजसो उद्योग ७० प्रतिशत उत्पादन क्षमतामा सञ्चालन भइरहेका छन्। यसको मार पनि मजदूरलाई नै परेको छ।
पहिलो लहर थामिएसँगै उद्योग खुल्न थालेका थिए। तर, ६ महीना पनि सञ्चालन हुन नपाउँदै दोस्रो लहर चल्यो। त्यसले झन् शिथिल बनायो। फेरि उद्योग राम्ररी चल्न नपाउँदै तेस्रो लहरको त्रासमा छन्, मजदूर र उद्योगी।
यसको असर राजस्व संकलनमा पनि परेको छ। राज्यले झन्डै तीन अर्ब राजस्व गुमाउनुपरेको छ। सामान्य अवस्थामा हेटौंडा औद्योगिक क्षेत्रको उद्योगले वार्षिक १० अर्ब राजस्व बुझाउँदै आएका भए पनि गत आर्थिक वर्ष २०७६/७७ मा ३० प्रतिशतले कमी आएको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय, हेटौंडाले जनाएको छ।
यसको असर दीर्घकालीन रूपमा पर्ने व्यवस्थापन कार्यालयका प्रमुख राजेन्द्र कँडेल बताउँछन्। निषेधाज्ञा खुकुलो भएर व्यापार व्यवसाय सञ्चालनमा आए पनि औद्योगिक उत्पादन बढ्न सकेको छैन। “हालको मुख्य समस्या भनेको बजारको मागमा वृद्धि नहुनु हो,” कँडेलले भन्छन्, “उद्योगले उत्पादन गरेको केही प्रतिशत पनि सहज खपत छैन। धेरै उत्पादन गरेर पनि भण्डारणको समस्या छ।”
यहाँका उद्योगले वार्षिक ३० देखि ४० अर्बको उत्पादन गर्दै आएका थिए। तर, कोरोना महामारीयता ४० प्रतिशत उत्पादन घटेको उनी बताउँछन्। “निषेधाज्ञा खुकुलो गरिएसँगै बजारको माग बिस्तारै वृद्धि भएकाले उत्पादन बढाउन थालिएको छ। तर, तेस्रो लहरले पुर्याउने नोक्सानीबारे पनि व्यवसायी सशंकित छन्,” उनी भन्छन्।
उपभोक्ता हित संरक्षण मञ्चका वासुदेव खतिवडा भन्छन्, “ठूला उद्योगमा भीडभाड गरेर काम गराएको पाइएको थियो, तर प्रशासनले कारबाहीमा चासो देखाएन।”
उद्योगहरूले उत्पादन वृद्धि नगर्दा प्रत्यक्ष असर मजदूरमै परेको छ। कोरोनाका कारण रोजगारी गुमाएका मजदूरले सहज हुँदा पनि काममा जान पाएका छैनन्।
सुरक्षित छैन उद्योगको बास
संक्रमणको जोखिमका कारण आंशिक रूपमा सञ्चालन भएका उद्योगले मजदूरलाई उद्योगमै बसोबासको व्यवस्था गरेका छन्। स्वास्थ्य मापदण्ड पूर्ण रूपमा पालना गराइएको व्यवसायीको दाबी छ।
तर, जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा गरिएको अनुगमनमा मापदण्ड अनुसारको स्वास्थ्य सुरक्षाको प्रबन्ध नगरिएको पाइएको उपभोक्ता हित संरक्षण मञ्चका वासुदेव खतिवडाले बताए। “ठूला उद्योगमा भीडभाड गरेर काम गराएको पाइएको थियो, तर प्रशासनले कारबाहीमा चासो देखाएन,” खतिवडा भन्छन्।
आवासीय सुविधा दिएका कारणले बाहिर सम्पर्क नहुँदा संक्रमणको जोखिम कम भएको उद्योगी बताउँछन्। उद्योग संघको पहलमा सबै उद्योग मजदूर र कर्मचारीको एन्टिजेन परीक्षण गर्दा केहीमा संक्रमण देखिएको थियो। यससँगै उद्योगमा कार्यरत मजदूर र कर्मचारीलाई खोप लगाउने अभियान थालिएको छ। अहिलेसम्म पाँच हजारभन्दा बढी उद्योगी र मजदूरले खोप लगाएको उद्योग संघ मकवानपुरका अध्यक्ष लेखराज पोख्रेलले बताए।
हेटौंडा औद्योगिक क्षेत्रमा १३३ उद्योग छन्। जसमध्ये १०० उद्योग आंशिक रूपमा सञ्चालन भइरहेका छन्। फर्निचर, प्लास्टिकका सामान बनाउने, निर्माण सामग्री तथा वर्क शप, मासु प्रशोधन लगायतका उद्योग बन्द छन्। दैनिक उपभोग्य वस्तु उत्पादन गर्ने उद्योग भने सञ्चालनमा छन्।
सरकारी स्वामित्वको उद्योग झन् घाटामा
कोरोनाको पहिलो र दोस्रो लहरले यहाँका उद्योग पनि थलिएका छन्। सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगले गत आर्थिक वर्षमा २५ करोड घाटा व्यहोरेको छ। चालू आर्थिक वर्षमा पनि घाटा कम नहुने देखिएको उद्योगका कायममुकायम प्रबन्धक (अर्थ) रामबाबु शाहको अनुमान छ।
उत्पादन लागतमा वृद्धि, उद्योग सञ्चालन खर्च अन्य समयको तुलनामा बढी मूल्य पर्ने, योजना अनुसार सिमेन्ट उत्पादन र बिक्री नभएकाले घाटा पूर्ति गर्न पनि गाह्रो हुनसक्ने उनी बताउँछन्। “अघिल्लो आर्थिक वर्षको घाटालाई यस वर्ष केही भए पनि उठाउन सकिन्छ कि भन्ने थियो, तर अवस्था उस्तै भयो,” शाह भन्छन्। दुई वर्षदेखि योजना अनुसार सिमेन्ट उत्पादन तथा बिक्री हुन नसक्दा घाटा भएको उनले बताए।
सरकारी स्वामित्वको यो उद्योग अघिल्ला वर्षहरूमा पनि घाटामै थियो। गत वर्ष घाटा झन् बढेको हो। पुराना मेसिनरी प्रविधि र पटक पटक बिग्रने समस्या तथा लागत खर्च बढी आउने कारणले अन्य निजी सिमेन्ट उद्योगसँग प्रतिस्पर्धा गर्न नसक्दा नोक्सानी व्यहोर्नुपरिरहेको उद्योगका महाप्रबन्धक प्रेमशंकर सिंह बताउँछन्। उनका अनुसार, कर्मचारी पारिश्रमिक, कच्चापदार्थ व्यवस्थापन तथा मर्मतसम्भारमा धेरै खर्च हुने गरेको छ।
यो उद्योगले आर्थिक वर्ष २०७५/७६ मा १६ करोड ६५ लाख घाटा व्यहोरेको थियो। यसअघि २०७४/७५ मा १६ करोड र २०७३/७४ मा १५ करोड नाफा कमाएको थियो। २०३३ सालमा स्थापना भएयता २०४८/४९ मा बाहेक सधैं घाटामा रहँदै आएको थियो।
करीब १०१ बिघा क्षेत्रफलमा फैलिएको उद्योगका लागि आवश्यक कच्चापदार्थ खानी (चुनढुंगा) निकाल्न २०० बिघा क्षेत्र पनि छ। मकवानपुरको ओखरे, भैंसे, मजुवा र धादिङको जोगिमारामा उद्योगको चुनढुंगा खानी छ। चालू आथिर्क वर्षमा ३१ लाख बोरा सिमेन्ट र एक लाख ५० हजार मेट्रिक टन क्लिंकर उत्पादन गर्ने लक्ष्य रहेको उद्योगको बिक्री महाशाखाले जनाएको छ। उद्योगमा स्थायी २८५ र ज्यालादारीमा काम गर्ने कर्मचारी र मजदूर एक सय छन्।