एकै होइनन् गथांमुगः र घण्टाकर्ण
नेवार समाजमा सकारात्मक रूपमा लिइने ‘गथांमुगः’ र गैरनेवार समाज राक्षसका रूपमा लिइने ‘घण्टाकर्ण’लाई पर्यायवाची शब्दका रूपमा आफूखुशी प्रयोग गर्नु संस्कृति र इतिहासको अवशेषलाई मास्नु हो।
नेवार समुदायले साउन कृष्णपक्ष चतुर्दशीका दिन मनाउने महत्त्वपूर्ण सांस्कृतिक पर्व ‘गथांमुगः’लाई पात्रोमा ‘घण्टाकर्ण’ भनेर उल्लेख गरेको पाइन्छ। गथांमुगः शब्द नै प्रयोग गरिँदा पनि कोष्ठकमा ‘घण्टाकर्ण’ शब्द राखिएको हुन्छ।
यसले गथांमुगः र घण्टाकर्ण एउटै वा पर्यायवाचीको रूपमा बुझ्ने र बुझाउने गरिएको छ। तर, इतिहास र संस्कृतिको पृष्ठमूमिमा अध्ययन गर्दा गथांमुगः र घण्टाकर्ण बेग्लाबेग्लै विषय वा प्रसंग हुन्। यसलाई एउटैमा गाभेर प्राचीन संस्कृतिलाई बेग्लै धारमा लान खोजेको देखिन्छ।
सामान्यतः गथांमुगःको अनुवाद घण्टाकर्ण रहेको बुझाइ पाइन्छ। यसरी अनुवाद गर्नेहरूका अनुसार ‘गं’ शब्दले घण्ट बुझाउँछ। तर, गथांमुगःमा ‘गं’ शब्द छैन। यस्तै, ‘कर्ण’ शब्द बुझाउने कुनै संकेत गथांमुगःमा पाइँदैन।
स्थानीय बोलीचालीमा शब्द उच्चारणमा केही भेद भए पनि काठमाडौं उपत्यका र बाहिरका नेवारले स्पष्ट रूपमा गथांमुगः नै उच्चारण गर्छन्। गथांमुगःको ठाउँमा ‘गठेमंगल’ शब्द गैरनेवारले प्रयोग गर्ने अपभ्रंश रूप हो।
कृषिकर्मका लागि अत्यधिक श्रम चाहिने भएकाले नेवार समाजमा तान्त्रिक विधिपूर्वक साधना गरेरै भूतलाई आमन्त्रण गर्ने र रोपाइँको चटारो सकिएपछि विधिवत् बिदा दिने उत्सवका रूपमा गथांमुग: पर्वलाई लिइन्छ। यस अनुसार, गथांमुगः नकारात्मक पात्र होइन।
नेवार समाजमा मात्रै पाइने गथांमुगः संस्कृति प्राचीन कालदेखि प्रचलनमा छ। यो चाड मनाउने तौरतरिका तथा पूजाविधि अध्ययन गर्दा हिन्दू र बौद्ध धर्मसँग नेवार समाज परिचित हुनुअघिदेखि नै गथांमुगः मनाउने गरेको पाइन्छ। जुन भूतको अवधारणासँग सम्बन्धित छ।
नेवार समाजमा आजभोलि पनि गथांमुगःलाई भूत भनेरै सम्बोधन गरिन्छ। कृषिकर्मका लागि अत्यधिक श्रम चाहिने भएकाले नेवार समाजमा तान्त्रिक विधिपूर्वक साधना गरेरै भूतलाई आमन्त्रण गर्ने र रोपाइँको चटारो सकिएपछि विधिवत् बिदा दिने उत्सवका रूपमा गथांमुग: पर्वलाई लिइन्छ। यस अनुसार, गथांमुगः नकारात्मक पात्र होइन।
तर, नकारात्मक अर्थमा लिनेहरूले राक्षसका रूपमा चित्रण गरेको पाइन्छ। राक्षसका रूपमा चित्रण गरी घण्टाकर्ण भन्नेहरूको शास्त्रीय आधार ‘रुद्रयामल तन्त्र’ सम्बन्धी एउटा ग्रन्थ हो। यस अनुसार, घण्टाकर्ण कट्टर भौतिकवादी स्वभावका एक राक्षस हुन्। ईश्वरको नामसँग अत्यन्तै घृणा गर्ने उनी ईश्वरको नाम सुन्न नपरोस् भनेर कानमा घण्ट झुन्ड्याएर हिँड्थे। त्यसैले उनलाई घण्टाकर्ण भनिएको हो।
दुःख दिएर समाजलाई आतंकित पनि पार्थे। एक दिन तान्त्रिकले भ्यागुताको रूप धारण गरी हाँक दिएछन्। घमण्डले चूर राक्षस भ्यागुतालाई लखेट्ने क्रममा दलदलमा फसेछन् र मान्छेले ढुंगा हानेर मारेछन्। नेवार समाजमा प्रचलित ‘ब्याँजा नकेगु’ पर्वलाई पनि त्यही कथा वा घटनासँग जोडेर राक्षसबाट त्राण पाउन सहयोग गरेकाले भ्यागुताको पूजा गर्न थालिएको भन्ने किंवदन्ती छ।
तर, ‘ब्याँजा नकेगु’ पूजाको सम्बन्ध गथांमुगःसँग देखिन्न। जैविक विविधताको प्राचीन ज्ञानसँग सम्बन्धित ‘ब्याँजा नकेगु’ पर्व नेवार समाजमा गाईजात्राको अघिल्लो दिन अर्थात् जनैपूर्णिमाका दिन सम्पन्न गरिन्छ। रुद्रयामल तन्त्रमा उल्लिखित घण्टाकर्ण राक्षसलाई गथांमुगःसँग जोडे जस्तै भ्यागुताको प्रसंगलाई ‘ब्याँजा नकेगु’ संस्कृतिसँग जोड्नु हदैसम्मको लापरवाही र मौलिक संस्कृतिमाथि अतिक्रमण हो।
पुरुष गथांमुगःका लागि पुरानो चलनमा दुई वटा भोगटे र बीचमा मकैको खोया राखेर जनेन्द्रिय बनाउने गरिन्थ्यो। अचेल नर्कटको बोट र त्यसमा चित्रकला प्रयोग गरिँदै आएको छ। स्त्री आकृतिको गथांमुगः उभ्याउने चलन कम हुँदै गएको छ। तथापि, स्त्री गथांमुगःका लागि एउटा भोगटेमा लाम्चो हुने गरी घाउ पारेर योनीको आकृति दिने गरिन्छ।
कस्ता हुन्छ आकृति?
गथांमुगःको आकृति डरलाग्दो र नग्न रूपमा बनाइन्छ। प्रायः नर्कटको बोटलाई तीन मुठ्ठा पारेर बाँधी त्रिखुट्टे बनाई बीच बाटोमा उभ्याइन्छ। महिला वा पुरुष कुन लिंगको गथांमुगः बनाउने भन्ने स्वैच्छिक नभएर स्थानविशेषको परम्परामा आधारित हुन्छ।
पुरुष गथांमुगःका लागि पुरानो चलनमा दुई वटा भोगटे र बीचमा मकैको खोया राखेर जनेन्द्रिय बनाउने गरिन्थ्यो। अचेल नर्कटको बोट र त्यसमा चित्रकला प्रयोग गरिँदै आएको छ। स्त्री आकृतिको गथांमुगः उभ्याउने चलन कम हुँदै गएको छ। तथापि, स्त्री गथांमुगःका लागि एउटा भोगटेमा लाम्चो हुने गरी घाउ पारेर योनीको आकृति दिने गरिन्छ। यसरी नै नाङ्लोमा डरलाग्दो मुखाकृति लेखेर टाँस्ने गरिन्छ। यसअघि पुतली बनाएर खेल्ने गरिन्थ्यो। आजभोलि सबै गथांमुगःको शरीरमा झुन्ड्याउने गरिन्छ।
भक्तपुरमा छ्वालीको प्रयोगबाट गथांमुगः बनाइन्छ भने पूजाविधि सकिएपछि यथास्थानमा जलाइन्छ। नर्कटको ठूलो गथांमुगः बनाइने समाजमा पनि प्रत्येक घरधुरीमा दुई वटा छ्वालीको मुठालाई गथांमुगः बनाइन्छ। यसलाई बोलीचालीमा ‘भूत’ भने पनि यथार्थमा गथांमुगःकै सानो रूप हो।
दुई वटा भूतमध्ये एउटालाई आ-आफ्नो छ्वास (निश्चित सांस्कृतिक महत्त्व रहेको दोबाटो)मा जलाइन्छ भने अर्कोलाई घरछेउमा नै जलाउने चलन छ। भूत वा गथांमुगःलाई बिदाइ गरेपछि घर र टोल समाजबाट रोगव्याधि तथा अन्य अशुभ कुरा पनि सँगै लिएर जान्छ भन्ने मान्यता छ।
अर्थ नभेटिएको ‘गथांमुगः’
गथांमुगः र घण्टाकर्ण बेग्लाबेग्लै हुन् भनेपछि उठ्ने प्रश्न हो, यसको शाब्दिक अर्थ के हो? यस सन्दर्भमा गम्भीर भएर विचार गर्नु आवश्यक छ। नेपालभाषामा मूल शब्दलाई छोट्याएर बोल्ने चलन पाइन्छ, तर प्रयोगमा मूल शब्दको तत्क्षण नै हुँदै गर्छ। उदाहरणका लागि ‘छ्यन’ (टाउको) र ‘झ्याल’ दुई मूल शब्दलाई लिन सकिन्छ, जसको प्रयोगमा ‘छ्यं’ र ‘झ्याः’ मात्रै बोल्ने र लेख्ने गरिन्छ। तर ‘छयनं’ (टाउकोले) र ‘छ्यनय्’ (टाउकोमा) तथा ‘झ्यालं’ (झ्यालबाट) र ‘झ्यालय्’ (झयालमा) भनेर प्रयोग गर्दा मौलिक रूप सहजै प्रकट हुन्छ।
शाब्दिक अवशेषलाई जोगाउन सकियो भने भविष्यमा हुने अध्ययन अनुसन्धानले निरूपण गर्ने सम्भावना रहन्छ। यस अर्थमा, ‘घण्टाकर्ण’ जस्तो बेग्लै प्रसंगको शब्दले विस्थापित गर्नुभन्दा ‘गथांमुगः’ शब्दलाई यथावत् प्रचलनमा राख्नु बुद्धिमानी हुन्छ।
मूल शब्द पत्ता लगाउने तरिका यो भए पनि ‘गथां’को मूल शब्द पहिल्याउन सकिएको छैन। ‘मुगः’को मूल ‘मुगल’ भन्न सकिए पनि यसको अर्थ निश्चित गर्न सकिन्न। यसलाई अर्थ हराएको शब्द भन्न सकिन्छ।
व्यक्तिविशेषबाट सम्भव नभएका सामूहिक महत्त्वका सांस्कृतिक गतिविधिको सञ्चालन नेवार समाजमा गुठीबाट गरिन्छ। गथांमुगः संस्कृतिको प्रयोजन व्यक्ति, घरपरिवार, टोल र समाजको हितका लागि हो। टोलवासी नै मिलेर यो पर्व मनाउने भए पनि गुठी भने हुँदैन। अघिल्लो दिनसम्म कुनै चासो नराख्ने स्थानीय पनि गथांमुगः बनाउन र अन्य व्यवस्थापन गर्न टोलवासी घरघरबाट निस्कन्छन् र आवश्यक काममा जुट्छन्।
सामूहिक रूपमा टोलमा गरिने होस् वा घरघरमा गरिने पूजा, सूक्ष्म रूपले हेर्दा त्यसमा आदिम मानव सभ्यताको झल्को पाइन्छ। पूजाविधि र मान्यतामा पनि खासै फरक पाइँदैन। ‘गथांमुगः’को शाब्दिक अर्थ हाललाई पहिल्याउन नसके पनि मूल संस्कृति यथावत् रहनु र नेवार समाजमा महत्त्वपूर्ण पक्षकै रूपमा ग्रहण गर्नु उल्लेख्य पक्ष हो।
त्यसैले, अर्थ थाहा नभएको भन्दैमा अन्य शब्दले प्रत्यारोपण गर्नु वा आफूखुशी प्रयोग गर्नु संस्कृति र इतिहासको अवशेषलाई मास्नु पनि हो। विगत छिचोल्ने अनेक साधनमा यस्ता स-साना शब्द पनि हुन्छन्। शाब्दिक अवशेषलाई जोगाउन सकियो भने भविष्यमा हुने अध्ययन अनुसन्धानले निरूपण गर्ने सम्भावना रहन्छ। यस अर्थमा, ‘घण्टाकर्ण’ जस्तो बेग्लै प्रसंगको शब्दले विस्थापित गर्नुभन्दा ‘गथांमुगः’ शब्दलाई यथावत् प्रचलनमा राख्नु बुद्धिमानी हुन्छ।