कस्तो रहला पारसको खेलाडीबाट ‘खेल राजनीति’को यात्रा?
एकाएक अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास घोषणा गरेका क्रिकेटर पारस खड्का खेलाडीबाट ‘खेल राजनीति’मा लाग्ने खबरले उनका समर्थक मात्रै होइन, आलोचकका लागि पनि उत्सुकता थपेको छ।
राष्ट्रिय टोलीका भरपर्दा खेलाडी एवं पूर्वकप्तान पारस खड्काले १९ साउन बिहान सामाजिक सञ्जाल मार्फत अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको घोषणा गर्दै लेखेका छन्, “अन्तर्राष्ट्रिय क्रिकेटरका रूपमा मेरो यात्रा टुंगिएको छ, तर नेपाली क्रिकेटको लागि मेरा सपना भने अझै बामे सर्दै छन्।”
यससँगै खड्काले नेपाली क्रिकेटमै जोडिइराख्ने बताएका छन्। उनी निकट खेलाडी तथा खेल अधिकारी पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएर नेपाल क्रिकेट संघ (क्यान)मा आउन खोजेको बताउँछन्। सफल खेलाडी र कप्तानपछि अब ‘खेल राजनीति’मा उनको प्रवेशले नेपाली क्रिकेटलाई कति फरक पार्ला?
क्यानका पूर्वअध्यक्ष विनयराज पाण्डे भन्छन्, “हामी क्रिकेटमा आउँदाको कुरा छोडिदिनुस्, त्यो समय र यो समय फरक छ। अब त खेलमा मात्रै होइन, कुनै पनि क्षेत्रमा त्यो क्षेत्र बुझेको मान्छे हुनुपर्छ।”
क्यानका पूर्वअध्यक्ष विनयराज पाण्डे खेलाडीबाट व्यवस्थापनमा आउँदा राम्रै हुने बताउँछन्। पाण्डे भन्छन्, “चौका र छक्का छुट्याउन नसक्ने मान्छे क्यानमा आयो भने कसरी क्रिकेटलाई राम्रो गर्नसक्छ? क्रिकेट बुझेकै मान्छे आउँदा राम्रै हुन्छ नि।”
क्यानमा आउँदा खड्काले राम्रो गर्नसक्ने पाण्डेको विश्वास छ। “पारसले खेल बुझेका छन्। खेलसँग सम्बन्धित समस्या थाहा छ,” उनी भन्छन्, “क्यानमा आए भने नेपाली क्रिकेटलाई राम्रै हुन्छ। उनीसँग राम्रो गर्नसक्ने क्षमता पनि छ।”
क्षमता त उनीसँग छ नै। यो उनले खेलाडी र कप्तानका रूपमा प्रमाणित गरिसकेका पनि छन्। १९ वर्ष लामो क्रिकेट यात्रा उनले आफ्नो क्षमताले नै डोर्याएका हुन्। सन् २००२ मा यू-१५ टोलीबाट क्रिकेट खेल्न थालेका खड्काले त्यसको दुई वर्षपछि यू-१९ विश्वकप खेले।
त्यसपछि सन् २००६ र २००८ मा भएको यू-१९ विश्वकपमा पनि नेपालको प्रतिनिधित्व गरे। सन् २००७ मा भएको यू-१९ एसीसी ट्रफीमा ‘प्लेयर अफ द टुर्नामेन्ट’को उपाधि नै पाए।
उमेर समूहमा गरेको उत्कृष्ट प्रदर्शनले सन् २००९ मा उनले राष्ट्रिय टोलीको नेतृत्व पाए। घरेलु मैदानमा सन् २०१० को विश्वकप क्रिकेट लिग डिभिजन-५ उपाधि उनकै नेतृत्वमा पायो। सन् २०१२ को लिग डिभिजन-४ होस् कि सन् २०१३ को लिग डिभिजन-३ नेपालले उनकै नेतृत्वमा जितेको थियो।
अनुभवी र भरपर्दा खेलाडीले अभाव खट्किने बताउँदै पूर्वकप्तान विनाेद दास भन्छन्, “अबको डेढ वर्ष हामीले जसरी खेल्नुपर्छ, त्यो प्रभावित हुन्छ। अझै दुई वर्ष खेलिदिएको भए नेपाली क्रिकेट र देशलाई फाइदा हुन्थ्यो।”
नेपालले सन् २०१४ मा टी-२० विश्वकप खेल्दा खड्का नै कप्तान थिए। पछिल्लो पटक सन् २०१८ मा एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई)को मान्यता पाउन पनि नेपालले उनकै नेतृत्वमा छनोट खेलेको थियो।
चार वर्षका लागि ओडीआई मान्यता पाएको नेपालले अहिलेसम्म थुप्रै प्रतियोगिता खेलिसक्नुपर्थ्याे। तर, क्यान नेतृत्वविहीन रहँदा शुरूआती समयमा खेलतालिका व्यवस्थित हुन सकेन भने पछिल्लो डेढ वर्ष कोभिड-१९ महामारीले खेल क्षेत्र नै प्रभावित बन्यो। अबको डेढ वर्ष नेपालले थुप्रै ओडीआई प्रतियोगिता खेल्नुपर्नेछ। यस्तो वेला राष्ट्रिय टोलीका अनुभवी तथा भरपर्दा खेलाडीले सन्न्यास लिएका छन्। खड्काले एकाएक लिएको सन्न्यासले ओडीआई मान्यतामै प्रभाव पर्न सक्ने पूर्वकप्तान विनोद दासको चिन्ता छ। उनी भन्छन्, “पारसले सन्न्यास लिएको समाचार सुन्दा नरमाइलो लाग्यो। अहिले सन्न्यास नलिएको भए हुन्थ्यो जस्तो लाग्यो। उनको सन्न्यासले नेपाली क्रिकेटलाई असर पार्छ नै।”
नेपालले ओडीआई मान्यता जोगाउन अब डेढ वर्षको अवधिमा खेल्नुपर्ने खेलमा यसको प्रभाव पर्ने उनी बताउँछन्। अनुभवी र भरपर्दा खेलाडीको अभाव खट्किने बताउँदै पूर्वकप्तान दास भन्छन्, “अबको डेढ वर्ष हामीले जसरी खेल्नुपर्छ, त्यो प्रभावित हुन्छ। अझै दुई वर्ष खेलिदिएको भए नेपाली क्रिकेट र देशलाई फाइदा हुन्थ्यो।”
देशका लागि १९ वर्ष क्रिकेट खेलेका खड्काले १० वटा ओडीआईमा ३१५ रन बनाएका छन्। त्यस्तै, ३३ वटा टी-२० अन्तर्राष्ट्रिय खेलमा ७९९ र प्रथम श्रेणीका ४४ खेलमा एक हजार ४९७ रन बनाएका छन्।
बलिङमा पनि उनको प्रदर्शन सम्झनलायक नै छ। १० वटा ओडीआई खेलमा नौ विकेट लिएका छन् भने ३३ वटा टी-२० अन्तर्राष्ट्रिय खेलमा ६.२० का दरले रन खर्चिँदै आठ विकेट लिएका छन्। प्रथम श्रेणीका ४४ खेलमा पनि २६ विकेट लिएका छन्।
तैपनि, अझै राष्ट्रिय टोलीमा उनको आवश्यकता खट्किँदै छ। क्यानकी पूवसीईओ भावना घिमिरे भने खड्काको सन्न्यास लिने निर्णयलाई सकारात्मक रूपमा लिनुपर्ने बताउछिन्। “सन्न्यास लिने निर्णयलाई मैले त सकारात्मक रूपमै लिएकी छु,” घिमिरे भन्छिन्, “एउटा इनिङ्स सकिएको छ। अब अर्को इनिङ्स शुरू हुन्छ। खेलमा जुन उदाहरण सेट गर्नुभएको छ, अर्को इनिङ्समा पनि उदाहरण सेट गर्नुहुन्छ भन्ने विश्वास छ।”
खेल्ने वा बिदा लिने भन्ने खेलाडीमा निर्भर हुने उनको भनाइ छ। उमेर, फिटनेस लगायतले खेल्ने समय निश्चित हुने बताउँदै उनी भन्छिन्, “भविष्यबारे सोचेरै निर्णय गर्नुभएको होला। ठीक समयमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिनुभएको छ, राम्रो गर्नुभएको छ।”
क्यानकी पूर्वसीईओ भावना घिमिरे भन्छिन्, “क्यानमा आउने कुरा राम्रो छ। एक त खेलाडी भएर खेल क्षेत्रको अनुभव छ, अर्को व्यवस्थापनको विद्यार्थी भएकाले क्यानमा पनि राम्रो गर्न सक्नुहुन्छ।”
उसो त खड्काले ३३ वर्ष पार गरिसकेका छन्। सानै उमेरदेखि क्रिकेट खेल्न थालेका उनले १४ वर्षको हुँदा यू-१५ बाट राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए। ओडीआई डेब्यूमा त अलराउन्डर खड्काको कीर्तिमान नै छ। सन् २०१८ मा नेदरल्यान्ड्स विरुद्धको डेब्यू खेलमा चार विकट लिएका थिए। जसले उनलाई डेब्यू खेलमा सबैभन्दा बढी विकेट लिने १५औं खेलाडीमा पारेको छ।
अब खेलाडीबाट ‘खेल राजनीति’मा डेब्यू कस्तो होला? क्यानकी पूर्वसीईओ घिमिरे व्यवस्थापनमा पनि खड्काले राम्रो गर्नसक्ने बताउँछिन्। “खेल जीवनबाट सन्न्यास लिएपछि प्रशिक्षक नै बन्नुपर्छ भन्ने छैन। जहाँ रुचि लाग्छ, त्यहीं जाने हो,” उनी भन्छिन्, “क्यानमा आउने कुरा राम्रो छ। एक त खेलाडी भएर खेल क्षेत्रको अनुभव छ, अर्को व्यवस्थापनको विद्यार्थी भएकाले क्यानमा पनि राम्रो गर्न सक्नुहुन्छ।”
क्यानका पूर्वअध्यक्ष पाण्डे पनि खेल व्यवस्थापकमा खेलाडी नै आउँदा राम्रो हुने बताउँछन्। पहिले जो जसरी आएको भए पनि अब भने सम्बन्धित क्षेत्र बुझेको हुनुपर्ने उनको भनाइ छ। “कसैले पनि सधैंभरि खेल्न सक्दैन। निश्चित समयपछि विश्राम लिने नै हो,” खेल बुझेको मान्छे भएकाले अब व्यवस्थापनमा लाग्दा नेपाली क्रिकेटलाई फाइदा पुग्ने बताउँदै पाण्डे भन्छन्, “हामी क्रिकेटमा आउँदाको कुरा छोडिदिनुस्, त्यो समय र यो समय फरक छ। अब त खेलमा मात्रै होइन, कुनै पनि क्षेत्रमा त्यो क्षेत्र बुझेको मान्छे हुनुपर्छ।”
यो अवधिमा खड्काले प्रशंसासँगै आलोचना पनि खेप्नुपर्यो। लामो समय कप्तानका रूपमा देशको नेतृत्व गर्दा पाएको ख्याति र सम्बन्धले खेलाडीमाथि मात्रै होइन, पदाधिकारीमाथि पनि प्रभाव पार्ने गरेको आरोप लाग्यो। उनकै नेतृत्वमा क्यानका पदाधिकारीविरुद्ध २०७१ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पनि पर्यो।
त्यसपछि अख्तियारले तत्कालीन क्यान अध्यक्ष टंक आङबुहाङ, उपाध्यक्षद्वय चतुरबहादुर चन्द र विनोद मैनाली तथा महासचिव अशोकनाथ प्याकुरेलसहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गर्यो। यससँगै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले पनि नेपाललाई निलम्बन गर्यो।
विशेष अदालतले दोषी ठहर नगरेपछि तत्कालीन उपाध्यक्ष चन्द फेरि क्यानमा फर्किए। उनी अध्यक्ष निर्वाचित भएसँगै आईसीसीले पनि निलम्बन फुकुवा गर्यो। त्यसको भोलिपल्ट २८ असोज, २०७६ मा एकाएक कप्तानबाट राजीनामा दिएका खड्काले अहिले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन्।
खेलाडीबाट ‘खेल राजनीति’ मा लाग्न अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको अड्कल काटिरहेका वेला क्यान पूर्वअध्यक्ष पाण्डे उनले जता गए पनि शुभकामना दिनुपर्ने बताउँछन्। पाण्डे भन्छन्, “खेलाडीका रूपमा राम्रो गरेका छन्। अब जे गरे पनि राम्रै गर्लान्। बरू भविष्यमा राम्रो गर्न सकून् भनेर सबैले शुभकामना दिऔं।”
पूर्वकप्तान खड्काले पनि आफ्ना समर्थक र शुभेच्छुकसँग मात्रै होइन, नेपाली क्रिकेटका समर्थक र सरोकारवालासँग पनि त्यस्तै अपेक्षा गरेका छन्। “मैदानभित्रका यी दुई दशक जीवन रहुन्जेल मीठो यादका रूपमा मसँगै रहनेछन्,” उनले सन्न्यास घोषणा गर्दा जारी गरेको ‘नोट’को अन्तिम अनुच्छेदमा भनेका छन्, “हामी सबै मिलेर नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याउनेछौं भन्ने विश्वास लिएको छु।”