बेलायतमा बेरोजगारको संख्या घट्यो, ४५ वर्षयताकै न्यून
बेलायतको बेरोजगार दर ४५ वर्षयताकै न्यून अवस्थामा पुगेको बेलायती सरकारी तथ्याङ्कले देखाएको छ ।
बेलायतको यूरोपेली संघ (ईयू) बाट हुने भनिएको बहिर्गमन प्रक्रिया लम्बिएर अनिश्चिततातर्फ जाँदा पनि बेलायतको अर्थतन्त्रमा स्थिरता कायम देखिएको मंगलबार सार्वजनिक तथ्याङ्कमा उल्लेख छ ।
सन् २०१९ को शुरुवाती तीन महिनामा यहाँको बेरोजगार दर ३.८ प्रतिशत कायम भएको र यो सन् १९७४ को अन्तिम त्रैमासिकपछिको न्यून बेरोजगार दर भएको बेलायती तथ्यांक मामिला हेर्ने कार्यालय (ओएनएस)ले एक विज्ञप्तिमार्फत जानकारी गराएको हो ।
सन् १९७४ (४४ वर्ष पहिले) को आर्थिक वर्षको अन्तिम त्रैमासिकमा बेरोजगार दर ३.९ रहेको थियो भने त्यसपछि कहिल्यै पनि यो विन्दुमा नझरेको ओएनएसले जनाएको छ ।
“ब्रेक्जिटसम्बन्धी अनिश्चितताको मुखमा पनि बेलायतको श्रम बजार आश्चर्यजनकरूपमा लचकदार देखिएको छ,” हारग्रिभ्स ल्यान्सडाउनका वरिष्ठ अर्थशास्त्री बेन ब्रेटेलले पछिल्लो तथ्याङ्कपछि प्रतिक्रिया दिए ।
“यी साँच्चै अर्थतन्त्रले सामना गरेका मजबुत तरंग हुन् जसलाई तथ्याङ्कले प्रष्ट्याएको छ ।”
ओएनएसले भनेको छ, “बेलायतको रोजगारदर ७६.१ प्रतिशत हुने अनुमान गरिएको थियो, जुन सबैभन्दा उच्च संयुक्त तथ्याङ्क हो जुन रेकर्डमा राखिएको छ ।”
यस्तै औसत साप्ताहिक आम्दानीलगायत अधिक लाभांशमा भने मार्चसम्म अर्थात् गत तीन महिनामा ३.२ प्रतिशतले कमी आएको तथ्याङ्कमा उल्लेख छ ।