के हो अल्मुटाइरीको ‘राजीनामा काण्ड’भित्रकाे राजनीति?
घरभित्रै मिलाउन सकिने विवाद तानिँदै जानुको कारण के हो? धेरैले यसलाई फूटबलभित्रको राजनीतिको रूप भनेका छन्, जहाँ लहरो तान्दा पहरो गर्जिने सम्भावना बढेर गएको छ।
‘प्रिय नेपाली समर्थकहरू, म राजीनामा दिन एन्फा जाँदै छु। र, मेरो राजीनामाको कारण वरिष्ठ उपाध्यक्ष हुन्। विगत तीन सातादेखि हरेक दिन उनले ममाथि ‘ड्रामा’ गरिरहेका छन्। पंकज नेम्वाङ मलाई आशा छ, अब तपाईंलाई खुशी होला।’
राष्ट्रिय फूटबल टोलीका प्रशिक्षक अब्दुल्ला अल्मुटाइरीले सामाजिक सञ्जालमा राखेको यही ‘स्टेटस’ पछि फूटबल विवादले उग्र रूप लिएको छ। यसले गत सातादेखि नेपाली फूटबल तरंगित छ।
विवाद तन्किँदै गएको छ। समस्या समाधानतिर नगई झन्-झन् बल्झिँदै गएको छ। र, समग्रमा यसले नेपाली फूटबलभित्रका राजनीतिक पाटो उदांगिंदै गएको देखिन्छ।
विवादका पात्रहरू
विवादमा प्रत्यक्ष तीन पात्र देखिन्छन्। सार्वजनिक स्थलमा धूमपान गर्ने प्रशिक्षक अल्मुटाइरी र त्यसमा प्रश्न तेर्स्याउने पत्रकार विभु श्रेष्ठ र विभा थापा। तेस्रो पात्र हुन्, अखिल नेपाल फूटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष नेम्वाङ। अल्मुटाइरीका अनुसार, यो काण्डमा नेम्वाङले पत्रकारको पक्ष लिए।
घटनाका चौथो पात्र पनि छन्, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा। त्यसपछि निरीह कार्यसमितिको पालो आउँछ।
घटनापछि प्रशिक्षक अल्मुटाइरीका पक्षमा फूटबल फ्यानहरू उर्लिए। हेटौंडामा त एक हुल फ्यानले ब्यानर बोकेरै प्रदर्शन गरे। आलोचना चाहिँ वरिष्ठ उपाध्यक्ष नेम्वाङ र पत्रकारले नराम्ररी खेपे।
पत्रकारले त्यो प्रश्न सोध्न मिल्थ्यो वा मिल्दैनथ्यो, त्यसमा अर्कै बहसको विषय होला। तर, एक महिला पत्रकारलाई हप्काएर जवाफ दिने काम गर्नुबाटै विवाद जन्मिएको हो। एउटा व्यावसायिक प्रशिक्षकले महिला पत्रकारमाथि देखाएको व्यवहार जुनसुकै दृष्टिकोणले गलत नै हो।
केही रस्साकस्सीपछि बैठकले निष्कर्ष निकाल्यो- छानबिनका लागि युवा तथा खेलकुद मन्त्रालयलाई अनुरोध गर्ने। अर्थात् आफूभित्रको घरझगडा मन्त्रालयलाई सुम्पेर एन्फाले विषयलाई आफ्नो नियन्त्रणभन्दा बाहिर पठाएको छ।
किन तन्काइयो विवाद?
प्रशिक्षक अल्मुटाइरीले राजीनामा दिने त भने, तर दिएनन्। न त वरिष्ठ उपाध्यक्ष नेम्वाङमाथि लगाएको आरोप प्रमाणित गरे। विवादको बीउ मात्रै रोपे।
अब समस्या समाधानका लागि भएका पहललाई हेरौं। निष्पक्ष छानबिनका लागि पत्रकार, अल्मुटाइरी र नेम्वाङ तीनै पात्रले एन्फा गुहारे। एन्फाको केन्द्रीय पदाधिकारीको आकस्मिक बैठक पनि बस्यो।
केही रस्साकस्सीपछि बैठकले निष्कर्ष निकाल्यो- छानबिनका लागि युवा तथा खेलकुद मन्त्रालयलाई अनुरोध गर्ने। अर्थात् आफूभित्रको घरझगडा मन्त्रालयलाई सुम्पेर एन्फाले विषयलाई आफ्नो नियन्त्रणभन्दा बाहिर पठाएको छ।
अनि सन्देश गएको छ, एन्फा केन्द्रीय कार्यसमितिसँग एउटा सामान्य घटनाको समाधान गर्ने क्षमता पनि रहेनछ। र, धेरैले प्रश्न गरेका छन्- के अब मन्त्रालयले गर्ने जुनकुनै खाले निर्णय एन्फाले मान्छ?
एन्फा प्रवक्ताबाट राजीनामा दिनुअघि किरण राईले भने, “जिम्मेवारी सुम्पिएपछि त जे निर्णय गरे पनि मान्नैपर्यो।”
राजीनामाभित्र राजनीति
यो घटनाले केही महत्त्वपूर्ण प्रश्न उब्जाएको छ। प्रशिक्षकको क्षेत्राधिकारको प्रश्न, पदाधिकारी हैसियतबारे प्रश्न अनि यी सबै परिघटनाले उब्जाएको अहं प्रश्न हो- एन्फाभित्र के भइरहेको छ?
के यो मन्त्रालय नै गुहार्नुपर्ने पेचिलो विषय हो? सामान्य जवाफ ‘होइन’मा आउने देखिन्छ। विवादका तीनवटै पक्षलाई एक ठाउँमा राखेर छलफल गरेको भए विषय त्यहीं टुंगिन्थ्यो।
आगामी निर्वाचनमा अध्यक्ष शेर्पाविरुद्ध वरिष्ठ उपाध्यक्ष नेम्वाङ नै लड्ने तयारीमा छन्। उनले हाकाहाकी अध्यक्षलाई आरोप लगाइसके, “मैले एन्फाले गरेको हरेक गलत क्रियाकलापमा आवाज उठाउँदै आएको छु। त्यसैले यो मलाई निर्वाचन अगाडि बदनाम गराउने सुनियोजित चाल हो।”
त्यसो भए के यो एन्फाको आगामी निर्वाचनभित्रको राजनीतिकै एउटा पाटो हो त? विकसित घटनाले यसैलाई पुष्टि गर्न थालेको देखिएको छ।
दिन गन्ने हो भने एन्फाको आगामी निर्वाचनका लागि आठ महीना मात्र बाँकी छ। यद्यपि कोरोना संक्रमणको असरले गर्दा निर्वाचन मिति सर्नसक्छ।
आगामी निर्वाचनमा अध्यक्ष शेर्पाविरुद्ध वरिष्ठ उपाध्यक्ष नेम्वाङ नै लड्ने तयारीमा छन्। उनले हाकाहाकी अध्यक्षलाई आरोप लगाइसके, “मैले एन्फाले गरेको हरेक गलत क्रियाकलापमा आवाज उठाउँदै आएको छु। त्यसैले यो मलाई निर्वाचन अगाडि बदनाम गराउने सुनियोजित चाल हो।”
कतिपय पदाधिकारीले अध्यक्ष शेर्पाले चुनावी राजनीतिलाई मध्यनजर गरेर जानी-जानी विषयलाई तन्काउन खोजेको बताउँछन्। एन्फा उपाध्यक्ष वीरबहादुर खड्का भन्छन्, “विवाद जति बढ्यो त्यसमा घाटा भनेको उपाध्यक्ष नेम्वाङलाई या प्रशिक्षक अल्मुटाइरीलाई। नेम्वाङ जति विवादित भए, फाइदा अध्यक्ष शेर्पालाई छ। त्यसैले उनी किन समाधान खोज्थे र?”
अब मन्त्री नभएको मन्त्रालयमा दिएको निवेदन उपर काम–कारबाही कहिले होला? सम्भवतः मन्त्रालयले विवाद मिलाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई भन्नेछ। अनि राखेप आउने एन्फामा नै हो। घुमिफिरी विषय एन्फामै फर्किने देखिन्छ।
त्यति वेलासम्म विभु, विभा, नेम्वाङ र अल्मुटाइरीले बारम्बार बयान दिइरहनुपर्ने भयो। प्रशंसा वा आलोचना खेपी नै रहनुपर्ने भयो।
एन्फा अध्यक्ष शेर्पा भने चुनावलाई ‘टाढाको विषय’ बताउँदै अरूलाई नहडबडाउन सुझाव दिन्छन्। भन्छन्, “निर्वाचनका लागि धेरै समय छ। त्यतातिर मैले सोचेको पनि छैन। साथीहरूले पनि हतार नगरौं।”
चुनावको विषयमा निर्धक्क देखिएका उनले थपे, “चुनावमा मत हाल्ने क्लब र जिल्ला निर्क्योल हुन बाँकी नै छ। लिगमा को कसले जित्ने हो, थाहा छैन। धेरै कुरा पो बाँकी छ। फेरि किन हतार? बरु राजनीति कम गरौं। मिलेर समाधान खोजौं।”
प्रवक्ता किरण राईले राजीनामा दिएपछि अल्मुटाइरीलाई लक्ष्य गरी सामाजिक सञ्जालमा लेखेका छन्, “नेपाल गरीब भएको प्रचार गरेर सहयोग प्राप्त भयो भन्दैमा सबै मान्यता र स्वाभिमान नै झुक्ने गरी सम्झौता गर्न मिल्ला र।”
लहरो तान्दा पहरो
तर, यो प्रकरणमा एन्फा पदाधिकारीबीचको असन्तुष्टिको लहरो भने बढ्दै गएको छ। एन्फामा मनोनीत सहायक महासचिव वसन्त अर्यालले १७ साउनमा राजीनामा दिएका छन्।
राजीनामामा उनले भनेका छन्, “संस्थाभित्र छलफल गरेर समाधान गर्न सकिने विषयलाई छानबिनका लागि मन्त्रालय लेखी पठाउनुले संस्थाको क्षेत्राधिकारमाथि प्रश्न चिह्न तेर्सियो। एक दुःखद घटना हो।”
त्यसको भोलिपल्ट १८ साउनमा किरण राईले एन्फाको प्रवक्ता पदबाट राजीनामा दिए। एक जना तलब खाने प्रशिक्षक कर्मचारी एन्फामा हाबी भएकोमा उनको आपत्ति रहँदै आएको थियो।
अल्मुटाइरीलाई लक्ष्य गरी उनले सामाजिक सञ्जालमा लेखेका छन्, “नेपाल गरीब भएको प्रचार गरेर सहयोग प्राप्त भयो भन्दैमा सबै मान्यता र स्वाभिमान नै झुक्ने गरी सम्झौता गर्न मिल्ला र।”
लहरो तान्दा पहरो गर्जिने उखान जस्तै राजीनामाको क्रम बढ्दै जाने सम्भावना रहेको पदाधिकारी बताउँछन्।
कतार पनि कारण
अल्मुटाइरी कतार फूटबल संघले उपलब्ध गराइदिएका प्रो-लाइसेन्सयुक्त प्रशिक्षक हुन्। उनको सम्पूर्ण तलब कतारले व्यहोर्छ। साथै, कतार एअरलाइन्स शहीद स्मारक ‘ए’ डिभिजन लिग फूटबलको मुख्य प्रायोजक हो भने कतारले नेपालमा घाइते भएका खेलाडीलाई उपचारदेखि अन्य धेरै विषयमा एन्फालाई सहयोग गर्दै आएको छ।
प्रशिक्षक अल्मुटाइरीलाई खुशी पार्न नै राजीनामा प्रकरण मन्त्रालय पुर्याएको कतिपयले आरोप लगाएका छन्। किनकि, अल्मुटाइरीले आफ्नो निवेदनमा सरकारी निकायबाट छानबिन हुनुपर्ने र त्यो सार्वजनिक गरिनुपर्ने माग राखेका छन्।
त्यसैले कतारसँगको सम्बन्धमा कुनै व्यवधान नआओस् भन्ने अध्यक्ष शेर्पाको चाहनाले गर्दा प्रशिक्षकले धेरै छूट पाएको बताइन्छ। त्यसैले अल्मुटाइरी नेपाली फूटबलमाथि हाबी हुन खोजेको देखिन्छ। उनले आफू आउनुअघि नेपाली खेलाडीले फूटबल खेल्नै नजानेको, खेलाडी-पदाधिकारी विदेश मात्र घुम्न जाने गरेको जस्ता अभिव्यक्ति दिएका छन्।
अल्मुटाइरीलाई खुशी पार्न नै राजीनामा प्रकरण मन्त्रालय पुर्याएको कतिपयले आरोप लगाएका छन्। किनकि, अल्मुटाइरीले आफ्नो निवेदनमा सरकारी निकायबाट छानबिन हुनुपर्ने र त्यो सार्वजनिक गरिनुपर्ने माग राखेका छन्।
अब के होला विवाद?
एन्फाभित्र यो प्रकरणले जेजस्तो रूप लिए पनि यसको समाधान तत्काल गर्नैपर्ने स्थिति छ। किनकि, अल्मुटाइरीले २६ साउनभित्र समाधान गर्न अल्टिमेटम दिएका छन्। त्यो दिनसम्म समाधान भएन भने आफूले राजीनामा दिने भनेर उनले एन्फालाई दिएको पत्रमा उल्लेख छ।
वरिष्ठ उपाध्यक्ष नेम्वाङले पनि सत्यतथ्य छानबिन गर्न र आफू दोषी भए राजीनामा दिने बताइसकेका छन्। प्रशिक्षक अल्मुटाइरीले माफी माग्नुपर्ने पत्रकारद्वयको पत्र पनि छँदै छ।
तर, नयाँ मन्त्री पर्खिरहेको खेलकुद मन्त्रालयले अर्को साताभित्र समाधान दिने कुनै छाँट देखिंदैन। यस्तोमा सबै पक्ष एन्फामै बसेर विषय टुंग्याउँछन् वा एन्फा राजनीतिमा अब कुन पक्षले के कार्ड खेल्ला? त्यो हेर्न बाँकी छ।
विषय के पनि हो भने एन्फाभित्रको चलखेलमा अल्मुटाइरी वा पत्रकारहरू जोकोही ‘बहाना पात्र’ बन्न सक्छन्। अनि समर्थक पनि छन्। उनीहरूलाई प्रशंसा वा आलोचना गर्न केही बुझ्नुपर्दैन।