माघसम्म चार करोड २५ लाख खोप आउने, यस्तो छ तालिका
सरकारले कोभिड-१९ विरुद्धको थप चार करोड २५ लाख खोप ल्याउन लागेकाे छ। माघसम्म खोप ल्याएर चैतसम्म १८ वर्षभन्दा माथिका सबै नागरिकलाई लगाइने जनाइएकाे छ।
सोमबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले पत्रकार सम्मेलन गरी माघसम्म आउने खोपका विषयमा जानकारी दिएका छन्। चैतसम्म १८ वर्षमाथिका सबै नागरिकलाई खोप लगाउने तयारी गरिएको राज्यमन्त्री श्रेष्ठले बताए।
स्वास्थ्य मन्त्रालयका अनुसार, अहिलेसम्म ९७ लाख ८२ हजार डोज खोप आएको छ। भारत, चीन र अमेरिकाबाट अनुदानमा तथा भारत र चीनबाट खरीद गरेर खोप ल्याइएको हो।
जसमध्ये भारतबाट अनुदानमा ११ लाख र खरीद गरेर १० लाख डोज कोभिशिल्ड खोप आएको छ। त्यस्तै, चीनबाट अनुदानमा १८ लाख र खरीद गरेर ४० लाख डोज भेरोसेल खोप ल्याइएको छ। कोभ्याक्स सुविधा अन्तर्गत गाभीबाट अनुदानमा तीन लाख ४८ हजार डोज कोभिशिल्ड र अमेरिकाबाट १५ लाख ३४ हजार डोज जोन्सन एन्ड जोन्सन खोप आएको छ।
अब असोजसम्म थप एक करोड दुई लाख डोज खोप आउने स्वास्थ्य मन्त्रालयले जनाएको छ। जापानले अनुदानमा १६ लाख डोज अस्ट्राजेनेका र चीनले अनुदानमा १६ लाख डोज भेरोसेल दिन लागेका छन्। त्यस्तै, चीनबाट ६० लाख डोज भेरोसेल र भारतबाट १० लाख डोज कोभिशिल्ड खरीद गरिएको छ। यी सबै खोप असोजभित्र आउने स्वास्थ्य मन्त्रालयले जनाएको छ।
त्यसपछि माघसम्म थप तीन करोड २३ लाख डोज खोप आउने भएको छ। अमेरिकाबाट ४० लाख डोज मोडर्नाका लागि भुक्तानी भइसकेको छ। त्यस्तै, लागत सहभागितामा अमेरिकाबाटै एक करोड १० लाख डोज मोडर्ना आउने भएको छ।
कोभ्याक्स सुविधा मार्फत अनुदानमा एक करोड १३ लाख डोज मोडर्ना आउने स्वास्थ्य मन्त्रालयले जनाएको छ। यससँगै १२ देखि १८ वर्षसम्मका बालबालिकाका लागि अमेरिकाबाट ६० लाख डोज फाइजर खोप खरीद गरिने भएको छ। यो सबै खोप माघभित्र पुग्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ।