लुम्बिनीमा मिलिजुली सरकार गठनका लागि आह्वान गर्न प्रदेश प्रमुखलाई ४१ सांसदको निवेदन
लुम्बिनी प्रदेशमा मिलिजुली सरकार गठनका लागि आह्वान गर्न माग गर्दै विपक्षी गठबन्धनका ४१ जना सांसदले प्रदेश प्रमुखलाई निवेदन दिएका छन्।
सोमबार नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता कुलप्रसाद केसीको नेतृत्वमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाका सांसदले निवेदन दिएका हुन्। प्रदेश प्रमुख अमिक शेरचनलाई बुझाएको निवेदनमा शंकर पोखरेल नेतृत्वको सरकार अल्पमतमा परेको उल्लेख गरेका छन्।
अहिले प्रदेश सभामा ८० सांसद छन्। मुख्यमन्त्री पोखरेलको पक्षमा नेकपा (एमाले)का ३८ सांसद छन्। विपक्षमा रहेका कांंग्रेसका १९, माओवादीका १८, जसपाका तीन र जनमोर्चाका एक सांसदले निवेदन दिएका हुन्।
२०७४ मा पोखरेलको नेतृत्वमा संविधानको धारा १६८ को उपधारा २ बमोजिम माओवादीको समर्थनमा एमालेको सरकार बनेको थियो। ३ जेठ, २०७५ मा एमाले र माओवादी एकीकरण भएर नेकपा बनेपछि उनी संविधानको धारा १६८ को उपधारा १ बमोजिम बहुमत प्राप्त संसदीय दलको नेताको हैसियतमा मुख्यमन्त्री बनेका थिए।
२३ फागुन, २०७७ को सर्वोच्च अदालतको फैसलापछि एमाले र माओवादी ब्युँतिएका छन्। माओवादीले पोखरेललाई दिएको समर्थन फिर्ता लिइसकेको छ।
अब संसद्मा मुख्यमन्त्री पोखरेलको बहुमत नभएकाले संविधानको धारा १६८ को उपधारा २ बमोजिम नयाँ मिलिजुली सरकार गठनका लागि आह्वान गर्न विपक्षी गठबन्धनका सांसदले प्रदेश प्रमुखसँग माग गरेका हुन्।