जब दौंतरीले ‘सम्धी’ भने ...
जति सहजै छोराहरूले अंश पाउँछन्, उसैगरी सहजै छोरी र बुहारीहरूले अंश पाउँदैनन्। यसका लागि कानूनी लडाइँ नै लडेर परिवारमा बेमेल खडा गरी अंश लिन प्रायः महिला तयार हुँदैनन्।
सरिता दाहाल
एकाबिहान सिमसिम झरी परिरहेको थियो। वनस्पतिका फरक फरक बास्नाले वातावरणलाई सुरम्य बनाएको थियो। मर्निङ वाकका क्रममा पारिवारिक कुराकानी हुँदा एक अग्रजले लामो समयदेखिको तनावबाट मुक्ति पाएकामा औधी खुशी लागेको सुनाउँदै भने, ‘अब म दौंतरीको सम्धी हुनेछैन।’
सामान्यतः पुरुष साथीहरूले एकआपसमा ‘सम्धी’ भनेर ख्यालठट्टा गरेको मैले पटक पटक देखे-सुनेकी थिएँ। साथी-साथीबीच ‘सम्धी’ सम्बोधन गरेको देख्दा मलाई चाहिँ निको लाग्दैनथ्यो।
उनीहरू एकआपसमा ख्यालठट्टा गरेर रमाइरहेका होलान्। तर, त्यो सीधै तिनका अबोध छोराछोरीप्रति लक्षित हुने शब्द हो। आजदेखि बोलिने यस्ता सम्बन्धवाचक शब्दले कतै न कतै केही न केही छाप छाड्दछन्।
कतिपय नेपाली र हिन्दी चलचित्रमा बाल्यकालीन दौंतरीहरूले भविष्यमा एकआपसमा सम्धी बन्ने रहर गरेको, एक-अर्कालाई वचन दिएको, तर सन्तानले नमान्दा पारिवारिक सम्बन्धमा विचलन आएका घटनाक्रम देखाइने गरेका छन्। व्यक्तिगत रूपमा भन्नुपर्दा, मलाई यो पटक्कै सही लाग्दैन।
अँ, म मर्निङ वाकको कुरा जोड्दै थिएँ। दौंतरीको ‘सम्धी’ बन्नुपर्नेछैन भनेर औधी खुशी भएका ती अग्रजको रहस्य बुझ्न खोजें। उनले आफू ४५ वर्ष नाघेपछि छोराको बाबु बनेकोमा खुशी भएको सुनाए। ३० वर्षको उमेरमा छोरीको बाबु भएका थिए उनी। मलाई झन् कौतूहल जाग्यो। अब छोरी १५ वर्ष भएपछि किन अर्को सन्तानको रहर गरे होलान्?
स्कूले दौंतरी भएकाले नामै किटेर तँ तँ-म म गरिने साथीहरूले ‘ओ सम्धी के छ तेरो खबर?’ भन्दा उनी आफ्नी छोरीमाथि अन्याय भएको महसूस गर्दथे।
उनी व्यावसायिक घरानाका व्यक्ति थिए। सामाजिक रूपमा समेत पहिचान बनाएका व्यक्ति। व्यक्तिगत रूपमा भन्नुपर्दा, उनलाई छोरा र छोरीमा कुनै भेदभाव छैन। श्रीमान्-श्रीमती दुवै आ-आफ्ना क्षेत्रमा चिनिएका छन्। उनीहरूको बुझाइ थियो- सन्तान, सन्तान नै हो, चाहे छोरा होस् वा छोरी।
छोरीको अभिभावकत्वका लागि मरिमेटेर लागेको देखेकी थिएँ मैले। तर, उनीहरूको मनमा गडेर पीडाबोध गरिरहने शब्द रहेछ, ‘सम्धी’। जुन शब्दसँग उनी अबोध बालापनमा खेलिरहेकी छोरीलाई हेरेर मनमनै दुखिरहन्थे।
व्यावसायिक जमघटमा आफ्नै दौंतरीहरूले ठट्यौली पारामा भन्दा रहेछन्, ‘तेरी एक्ली छोरीको मेरो छोरासँग बिहे गराउने हो, अनि यत्रो व्यवसायको एक्लो मालिक मेरो छोरो।’ स्कूले दौंतरी भएकाले नामै किटेर तँ तँ-म म गरिने साथीहरूले ‘ओ सम्धी के छ तेरो खबर?’ भन्दा उनी आफ्नी छोरीमाथि अन्याय भएको महसूस गर्दथे।
छोरी तोते बोल्दै ताते गर्दै गर्दा साथीभाइहरूसँगको जमघटमा छोरीलाई डोर्याउँदै पुग्ने यो दम्पतीलाई साथीहरूले प्रयोग गर्ने ‘सम्धी’ शब्दले बिस्तारै पीडा भर्दैै गएको रहेछ। ख्यालठट्टा हो भनेर वास्तै नगरेको तर साथीहरूले जिस्क्याउन नछाडेपछि उनलाई झन् पीडादायी लाग्न थाल्यो ‘सम्धी’। ठट्यौली पारामा भन्ने उनी गर्दा रहेछन्, ‘अति भएपछि अघिल्लो वर्षबाट छोराको चाह जाग्न थाल्यो अन्तरमनमा। भगवान्ले पनि चाहना पूरा गरिदिए।’ ओरालो झर्दै गर्दा उनले एकै श्वासमा सुुनाए।
‘कैयाैं दिन उपचार गरुन्जेलसम्म दाजुभाइले एक कल फोन गरेर कस्तो छ भनेर सोधेनन्, अहिले आमाको स्वास्थ्यमा सुधार नहुने भन्दै अस्पतालले घर फर्काएपछि दाजुभाइले छोरीको घरमा प्राण जानु हुन्न भनेर लगे,’ ती दिदीले दबिएको स्वरमा भनिन्, ‘आमा दाजुभाइकी मात्रै हुन् कि मेरी पनि? मैले आमा देख्ने त्यति नै होला अब।’
एक महीनाअघि रिपोर्टिङको सिलसिलामा मकवानपुरको बकैया गाउँपालिका जाँदै थिएँ। साथमा थिए केही पत्रकार र खेलप्रेमी। एक दिदीकी आमा धेरै बिरामी थिइन्। आमाको स्वास्थ्यमा सुधार भए नभएको सोध्दा दिदीले सुनाइन्, ‘छोरीको घरमा प्राण जाला भनेर दाजुभाइले लगे। पछिल्लो अवस्था थाहा छैन।’
दिदीले विगत १८ वर्षदेखि ओछ्यानमा परेकी दीर्घरोगी आमाको स्वास्थ्योपचारमा महँगो खर्चसँगै सयौं हन्डर खेप्दै आएको हामीले देखेका थियाैं। आफूले नसक्दा सहयोगी राखेरै पनि आमाको स्वास्थ्यका लागि केही कमी हुन दिएकी थिइनन्। उनले आमालाई एक्लै गरेको सेवा देखेर दाजुभाइ छैनन् जस्तो लाग्थ्यो हामीलाई।
‘यतिन्जेल दाजुभाइले एक कल फोन गरेर कस्तो छ भनेर सोधेनन्, अहिले आमाको स्वास्थ्यमा सुधार नहुने भन्दै अस्पतालले घर फर्काएपछि दाजुभाइले छोरीको घरमा प्राण जानु हुन्न भनेर लगे,’ ती दिदीले दबिएको स्वरमा भनिन्, ‘आमा दाजुभाइकी मात्रै हुन् कि मेरी पनि ? मैले आमा देख्ने त्यति नै होला अब।’
छोरीको घरमा आमाबुबाको प्राण पर्न नहुने यो संस्कार कि कुसंस्कार? लैंगिक समानता सवालमा कलम चलाउनेकै हालत यस्तो छ भने परम्परा र संस्कारकै पछाडि लाग्नेहरूको झन् अवस्था के होला?
वेलाबखत आमाबुबाको मृत्यु संस्कारमा छोरीहरू सहभागी भएको समाचार सुन्ने गरिन्छ, त्यसका लागि ठूलै साहस र संघर्ष गर्नुपर्दछ छोरीहरूले। तर, छोराहरूका लागि भने त्यो कर्तव्यको विषय बन्दछ। छोराको कर्तव्य र अधिकार हो भने छोरीको कसरी हैन?
उही सकस सहेर, उही संघर्ष, अभाव र सपनाहरू झल्दै र सम्हाल्दै हुर्काइन्छन् आमाबुबाबाट छोराछोरी। तर, सामाजिक जिम्मेवारीमा किन विभेद? कतै आमाबुबाले नै छोरा र छोरीमा भेद राख्दछन् भने केही उदार दिल भएका आमाबुबाले छोरी र छोरामा फरक छैन भनेर सत्य स्वीकार गर्दा समाजले किन अवरोध सिर्जना गर्दछ?
अन्तरिम संविधानले छोरीले पनि अंश पाउने उल्लेख गरेको भए पनि त्यस बमोजिमको हक दाबी गर्दै अंश लिने छोरीहरू देखिएनन्। अझै पनि छोरीलाई छोरा सरह अंश दिने बाबुआमा सहजै भेटिँदैनन्।
अघिल्लो प्रसंगका व्यवसायी छोरीलाई अंशसहित वंश दिन तयार थिए। उनका लागि छोरा रहरको विषय थिएन। समाज (साथीभाइ)ले छोराका लागि अघोषित दबाब दियो। जुन दबाब सहन नसकेर उनीहरूले डेढ दशकपछि छोराको चाह राखे।
अर्को प्रसंगमा, दुई दशकदेखि छोरीको सहारामा बाँचेकी आमालाई जीवनको अन्तिम घडीमा आएर छोराहरूले लैजानुको पछाडि आमाको नाममा रहेको जायजेथा नै थियो। समाजको बिल्ला भिरेर उनीहरूले बिरामी आमालाई हैन, आमाका नाममा रहेको अंशमाथि आँखा गाडेका थिए।
कुरा जोडौं कानूनी पाटोबारे। मुलुकी देवानी (संहिता) ऐन, २०७४ ले छोरीलाई पनि अंशबण्डामा समान हकदार बनाएको छ। संहिताको परिच्छेद १० को अंशबण्डा सम्बन्धी व्यवस्थाको दफा २०५ मा सगोलको सम्पत्ति अंशबण्डा गर्ने प्रयोजनका लागि पति, पत्नी, बाबु, आमा, छोरा, छोरी सबै अंशियार मानिने उल्लेख छ। साथै, दफा २०६ मा सबै अंशियारको हक समान रहने स्पष्ट उल्लेख छ।
२०६३ सालको अन्तरिम संविधानमै पैतृक सम्पत्तिबाट छोरीले पनि अंश पाउने व्यवस्था गरिएको थियो। तर, त्यसको कार्यान्वयनमा अन्य कानून उदार बन्न नसक्दा छोरीहरूले अंश पाउन सकेका थिएनन्, वंशको त कुरै रहेन। छोरीको शिक्षामा लगानी गर्नेहरू बढेका छन्, छोरीको बिहेमा दाइजो दिन जति नै सम्पत्ति खर्च गर्न तयार हुनेहरू पनि बढेका छन्। तर, समाजले छोरीलाई अंश दिने व्यवस्था अझै पनि सहजै स्वीकार गरेको अवस्था छैन।
अन्तरिम संविधानले छोरीले पनि अंश पाउने उल्लेख गरेको भए पनि त्यस बमोजिमको हक दाबी गर्दै अंश लिने छोरीहरू देखिएनन्। अझै पनि छोरीलाई छोरा सरह अंश दिने बाबुआमा सहजै भेटिँदैनन्। छोरीले अंशका लागि कानूनी लडाइँ नै लड्नुपर्ने हुन्छ।
हुन त परिवर्तन एक्कासि सम्भव छैन। २०२० सालमा बनेको मुलुकी ऐनले पनि ३५ वर्षको उमेरसम्म बिहे नगरेका छोरीलाई छोरा सरह अंश दिने व्यवस्था गरेको थियो। त्यसलाई २०५९ सालमा संशोधन गरेर छोरा र छोरीलाई अंश दिने व्यवस्था गरे पनि विवाहिताले अंश नपाउने व्यवस्था गर्यो। तर, त्यो एक हातले दिए जस्तो गर्ने र अर्को हातले खोस्ने जस्तो देखियो।
त्यसो त हालको मुलुकी देवानी संहिताले पुराना कानूनमा भएका बाधाहरूलाई सल्ट्याएको छ। संहिताले अंशमा छोरीहरूको पनि समान हैसियत कायम गरिदिएको छ। छोरा र छोरीलाई कुनै विभेद नगरी पैतृक सम्पत्तिमा बराबर अंश दिनुपर्ने व्यवस्था त गर्यो, तर परिवार र समाजको नियममा देशको कानूनलाई वास्तै गरेन।
समाजका विभिन्न कुप्रथा, परम्परा तथा रीतिरिवाजहरूले कानूनलाई सकेसम्म बेवास्ता गर्ने, मिचेर जाने प्रयास गरेको देखिन्छ। यसो हुनु भनेको परिवर्तनलाई आत्मसात् नगरिनु हो। समयसापेक्ष रूपमा समाज चल्नका लागि परिवर्तन जरुरी छ।
अहिले ऐनमा छोरालाई मात्रै अधिकार दिने व्यवस्था गरेका ठाउँमा छोरी शब्द पनि थपेको छ। साथै, अविवाहिता छोरी भन्ने शब्द हटाएर सगोलकी छोरी (अंशियार) भन्ने शब्द राखेको छ। ऐनले छोरीलाई दोहोरो अंशको हकदार बनाएको छ, बिहे गरेको छोरीलाई पनि अंश दिने भनेसँगै जन्मघर अर्थात् माइती पक्षबाट अंश पाउने निश्चित छ नै। र, सोही ऐनमा श्रीमान्का तर्फबाट पनि अंशियार रहने देखाएको छ। यसरी महिलालाई माइती पक्ष र श्रीमान् पक्ष दुवैतर्फबाट अंश पाउने निश्चित गरिएको भए पनि यो पटक्कै व्यावहारिक छैन।
कारण उही हो सामाजिक सोच, जति सहजै छोराहरूले अंश पाउँछन्, उसैगरी सहजै छोरी र बुहारीहरूले अंश पाउँदैनन्। यसका लागि कानूनी लडाइँ नै लड्नुपर्ने हुन्छ। कानूनी लडाइँ नै लडेर परिवारमा बेमेल खडा गरी अंश लिन प्रायः महिला तयार हुँदैनन्।
कानूनी व्यवस्थाले मात्र छोरीको समान हक समाजमा स्थापित भइहाल्दैन। यसका लागि सामाजिक सोच र चिन्तनमा परिवर्तन अपरिहार्य छ। पुरानो कानून कार्यान्वयन गर्न बनेका नीतिनियम र निर्देशनले नयाँ कानूनी व्यवस्था लागू गर्न बाधा पुर्याइरहन्छन्। अंशबण्डाको सन्दर्भमा अझै पनि कानून फितलो नै छ। अभिभावकले छोराहरूलाई अंशबण्डा गर्दा कुनै विवाहिता वा अविवाहिता छोरीको स्वीकृति चाहिने बाध्यकारी नियम अझै बनिसकेको छैन। यो पनि सहजै स्वीकार्य नभएकै अवस्था हो।
यसरी हेर्दा समाजका प्रथा, परम्परा तथा रीतिरिवाजहरूले कानूनलाई सकेसम्म बेवास्ता गर्ने, मिचेर जाने प्रयास गरेको देखिन्छ। यसो हुनु भनेको परिवर्तनलाई आत्मसात् नगरिनु हो। समयसापेक्ष रूपमा समाज चल्नका लागि परिवर्तन जरुरी छ।
सभ्य र परस्पर हितकारी समाज निर्माणका लागि सन्तानलाई त्यसकै रूपमा स्वीकार गर्नुपर्छ, चाहे छोरा होस् वा छोरी या लैंगिक अल्पसंख्यक। समाजका हरेक व्यक्तिसँगको आपसी सम्बन्धमा प्रत्यक्ष वा परोक्ष रूपमा चोट नपुर्याउन हरदम सचेत बनौं। सद्भावले भरिएको समाजले नै युगान्तकारी परिवर्तनलाई आत्मसात् गर्न सक्दछ।