धितोपत्र बोर्डका अध्यक्षले शेयर लिएको विषयमा अख्तियारको अनुसन्धान
सर्वसाधारणका लागि शेयर निष्कासनको तयारीमा रहेको सर्वोत्तम सिमेन्टको शेयर नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले लिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान शुरू गरेको छ।
यस सम्बन्धी समाचार आएपछि अख्तियारले अनुसन्धान थालेको हो। यससँग सम्बन्धित सबै कागजात मगाएको जनाइएको छ। अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईले हिमालखबरसँग कुरा गर्दै सर्वोत्तम सिमेन्टको शेयर खरीद प्रकरणका विषयमा अर्थ मन्त्रालयसँग विस्तृत प्रतिवेदन र कागजात मगाइएको बताए।
नियामक निकाय धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाले पदीय मर्यादा र कानून विपरित सर्वसाधारणलाई शेयर निष्कासनको तयारीमा रहेको सर्वोत्तम सिमेन्टको शेयर लिएका थिए। उनले छोरी रेबिका ढुंगानाको नाममा ११ हजार ९१२ कित्ता शेयर लिएको हिमालखबरले समाचार प्रकाशित गरेको थियो। त्यस्तै, नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पनि श्रीमती सुशीलाकुमारी बोहराका नाममा ११ हजार ९१२ कित्ता शेयर लिएका थिए।
अर्थ मन्त्रालयले धितोपत्र बोर्ड र स्टक एक्सचेन्जलाई पत्र पठाउँदै तीन दिनभित्र यसबारे स्पष्टीकरण दिन भनेको थियो। मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख दीर्घराज मैनालीले स्पष्टीकरण पत्र प्राप्त भए पनि त्यसमा भएको व्यहोराबारे आफूलाई जानकारी नभएको बताए।
बोर्डले आइतबार मन्त्रालयलाई स्पष्टीकरण पत्र पठाउँदै कानुनले विवाहिता छोरीको नाममा शेयर खरीद गर्न नरोकेकाले ढुंगानाले शेयर खरीद गरेको जवाफ दिएको धितोपत्र बोर्ड सम्बद्ध स्रोतले जनाएको छ।