खोप प्रमाणीकरण गर्दा शुल्क नलिन स्वास्थ्य मन्त्रालयको निर्देशन
कोभिड-१९ विरुद्धको खोप लगाएको प्रमाणपत्र दिँदा शुल्क नलिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ।
विदेश जाने मजदूर र विद्यार्थीले खोप लगाएको प्रमाणपत्र लिने गरेका छन्। यसका लागि सरकारले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, मीनभवनस्थित निजामती कर्मचारी अस्पताल, लगनखेलस्थित पाटन अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताललाई तोकेको छ।
खोप प्रमाणीकरणको शुल्क लिने गरेको गुनासो आएपछि स्वास्थ्य मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखाले नि:शुल्क गर्न निर्देशन दिएको हो। आइतबार महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक भीमप्रसाद सापकोटाले चारै अस्पताललाई पत्र पठाएर नि:शुल्क गर्न निर्देशन दिएका छन्।
७ साउनमा स्वास्थ्य मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट खोप प्रमाणीकरण निःशुल्क गरिएको थियो। त्यसलाई स्मरण गराउँदै स्वास्थ्य समन्वय महाशाखाले भनेको छ, “केही अस्पतालहरूबाट शुल्क लिएको जनगुनासो प्राप्त भएकोले कोभिड-१९ विरुद्धको खोप लगाएको प्रमाणीकरण कार्य निःशुल्क गर्नु गराउनु हुन निर्देशनानुसार अनुरोध छ।”