१२ हजार स्वाब परीक्षण गर्दा २५ सयमा संक्रमण
कोभिड-१९ को परीक्षण घट्दा संक्रमितको संख्या पनि घटेको छ। कोरोनाबाट निको हुनेको संख्या भने केही बढेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, आइतबार देशभर दुई हजार ५६८ जनामा संक्रमण देखिएको छ। आज १२ हजार ६३६ जनाको स्वाब परीक्षण गरिएको थियो। शनिबार १३ हजार ५१९ जनाको स्वाब परीक्षण गर्दा तीन हजार १०६ जनामा संक्रमण पुष्टि भएको थियो।
आज आठ हजार ४०२ जनाको पीसीआर परीक्षण गर्दा एक हजार ९८१ र चार हजार २३४ जनाको एन्टिजेन परीक्षण गर्दा ५८७ जनामा कोरोना देखिएको हो।
त्यस्तै, आज कोरोनाबाट १८ जनाको मृत्यु भएको छ। शनिबार २३ जनाको मृत्यु भएको थियो। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या नौ हजार ८७५ पुगेको छ।
पछिल्लो २४ घण्टामा दुई हजार २० जना निको भएका छन्। शनिबार एक हजार ९१६ जना निको भएका थिए। सक्रिय संक्रमितको संख्या पनि ३१ हजार २९८ पुगेको छ।
आज देशभर एक लाख ९५ हजार १३२ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ। योसँगै पहिलो डोज लगाउनेको संख्या ४० लाख ६४ हजार २८८ पुगेको छ। अहिलेसम्म १८ लाख १३ हजार ४७१ जनाले दुवै डोज लगाइसकेका छन्।