सर्वोत्तम सिमेन्टको शेयर प्रकरणमा मुछिएका धितोपत्र बोर्डका अध्यक्षमाथि छानबिन गर्न कर्मचारी युनियनको माग
नेपाल धितोपत्र बोर्डको आधिकारिक कर्मचारी युनियनले सर्वोत्तम सिमेन्टको शेयर प्रकरणमा आरोपित अध्यक्ष भीष्मराज ढुंगानालाई तत्काल निलम्बन गरी छानबिन थाल्न माग गरेको छ।
कर्मचारी युनियनले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै बोर्ड अध्यक्षको इमानदारी, कानूनी प्रावधान, आचारसंहिता अनुसार गम्भीर नैतिक पतन देखिएको भन्दै बोर्डको गरिमालाई आँच आउन नदिन आरोपित व्यक्तिमाथि छानबिन अघि बढाएर कारबाही गर्न माग गरेको छ।
धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाले सर्वसाधारणलाई शेयर निष्कासनको तयारीमा रहेको सर्वोत्तम सिमेन्टको शेयर छोरीका नाममा हात पारेका थिए। यस सम्बन्धी समाचार हिमाल खबर ले सार्वजनिक गरेको थियो।
कर्मचारी युनियनले अध्यक्षले गरेको गल्तीमा सिंगै संस्थालाई मुछेर अर्थ मन्त्रालयले पत्र पठाएकोप्रति पनि ध्यानाकर्षण भएको जनाएको छ। अर्थ मन्त्रालयले १३ साउनमा धितोपत्र बोर्डलाई सम्बोधन गर्दै मिडियामा आएका विषयमा तीन दिनभित्र प्रष्टीकरण दिन भनेको थियो।
कर्मचारी युनियनले बुक बिल्डिङ मार्फत धितोपत्र जारी गर्ने प्रक्रियामा गएको संस्थाको धितोपत्र र सोसँग निहित संवेदनशील जानकारीका आधारमा आफ्नो निकट पारिवारिक सदस्यका नाममा धितोपत्र खरीद गर्नु बोर्डका अध्यक्षको गम्भीर विचलन भएको उल्लेख गरेको छ।