किन आउँछ मेलम्चीमा पटक-पटक बाढी?
मनसुन भित्रिएसँगै सिन्धुपाल्चोकको मेलम्ची नदीमा बाढी आएको डेढ महीनापछि गएराति फेरि ठूलो बाढी आएको छ। पुनःस्थापना हुन नपाउँदै बाढी आएपछि स्थानीय बासिन्दा त्रसित बनेका छन्।
१ असारमा आएको बाढीले जनधनको क्षति गरेको थियो। सिन्धुपाल्चोकबाट निर्वाचित सांसद शेरबहादुर तामाङका अनुसार, पहिलो पटकको बाढीले ६ वटा पक्की पुल, १२ वटा झोलुङ्गे पुल बगाएको थियो।
त्यस्तै, ४०० घरपरिवार विस्थापित भएका थिए। बाढीका कारण मेलम्ची, ग्यालफुङ, चनौटे, गणेशबगर, क्युल बगर, हल्दे, टिम्बुको तल्लो बजार एकरातमै बगरमा परिणत भएको थियो। बाढीका कारण रु.२० अर्ब बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ।
फेरि दोस्रो पटक गएराति आएको बाढीका कारण भएको क्षतिको विवरण त आइसकेको छैन। स्थानीयका अनुसार, १ असारको बाढीको लेदोले पुरेको रेडियो मेलम्चीको भवन बगाएको छ।
मेलम्चीबासीका लागि बाढीको यो घटना नौलो हो। किनभने पछिल्लो १०० वर्षमा मेलम्चीमा यति ठूलो बाढी आएको जानकारी नरहेको स्थानीय हस्त पण्डित बताउँछन्।
यी दुई त ठूला बाढी भए। वर्षा हुँदा ढुंगो, रूखका हाँगाबिँगा बगाएर लेदो सहित बाढी आउने क्रम केही वर्षदेखि चलिरहेकै छ।
आखिर मेलम्चीमा त्यति ठूलो क्षति हुने गरी अप्रत्याशित बाढी आउनको कारण के हो? भू-गर्भशास्त्री एवं त्रिभुवन विश्वविद्यालय भूगर्भशास्त्र केन्द्रीय विभागका सह–प्राध्यापक रञ्जनकुमार दाहालको भनाइमा मेलम्ची नदीको मुहान क्षेत्रमा २०७२ सालको भूकम्पका कारण थुप्रै पहिरो गएका थिए। वर्षाले पहिरोलाई बगाएर नदी थुन्यो र मेलम्चीमा बाढी आयो।
उनका अनुसार, भूकम्प गएको जमीन पहिलेकै अवस्थामा फर्कन आठदेखि १० वर्ष लाग्छ। “भूकम्प गएको जमीन पुरानै अवस्थामा फर्कने क्रममा थियो र वर्षाले त्यसलाई पहिरोको रूपमा परिणत गरदियो,” भू-गर्भशास्त्री दाहाल भन्छन्।
पहिलो पटक बाढी आएपछि मेलम्चीको मुहान क्षेत्रमा पुगेर फर्किएका हेलम्बु गाउँपालिका–१ चोप्पुका स्थानीयका अनुसार, मुहान क्षेत्रमा साना ठूला गरी १३ वटा पहिरो गएका थिए। अझै पनि वर्षा हुँदा पहिरो जाने क्रम यथावत् रहेको स्थानीय बासिन्दा बताउँछन्।
त्यस बाहेक हिमनदीले थुपारेर ल्याएको गेग्र्यान पनि बाढी आउनुको अर्को कारण हो। “हिमनदीले ल्याएर थुपारिएको मटेरियल पनि पहिल्यैदेखि थियो, पहिरो झरेर थुनिएको पानीले त्यो पुरानो मटेरिललाई पनि बगाएर ल्यायो, त्यसले पानीको बहाव झन् शक्तिशाली भयो,” भू-गर्भशास्त्री दाहाल भन्छन्।
इन्द्रावती नदीको बगरमा देखिएका बालुवाका कणहरूले त्यसको पुष्टि गरेको उनी बताउँछन्। फेरि पनि मेलम्ची नदीमा बाढी आउन सक्ने उनको भनाइ छ।