एकै दिन दुई लाख ८० हजारले लगाए कोरोना खोप
देशभर पछिल्लो २४ घण्टामा दुई लाख ८० हजार ९४१ जनाले कोरोनाभाइरस विरुद्धको खोप लगाएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, पहिलो र दोस्रो डोज गरी देशभर दुई लाख ८० हजार ९४१ जनाले खोप लगाएका हुन्। जसमध्ये एक लाख ५६ हजार ७९२ जनाले पहिलो डोज र एक लाख २४ हजार १४९ जनाले दोस्रो डोज लगाएका छन्। जसमा जोन्सन एन्ड जोन्सनको खोप लगाउनेको संख्या पनि समेटिएको छ।
सरकारले अहिले देशभर खोप अभियान सञ्चालन गरिरहेको छ। प्राथमिकता प्राप्त उमेर समूहलाई चीनबाट ल्याइएको भेरोसेल खोप लगाइँदै छ। त्यस्तै, विदेश जाने मजदूर र विद्यार्थीलाई जोन्सन एन्ड जोन्सनको खोप लगाउने गरिएको छ।
शनिबारसम्म ३९ लाख ३६ हजार ७२४ जनाले पहिलो डोज लगाइसकेका छन्। त्यस्तै, १७ लाख ४५ हजार ९०३ जनाले दोस्रो डोज अर्थात पूर्ण खोप लगाएका छन्। पूर्ण खोप प्राप्त हुनका लागि भेरोसेलको दुई डोज लगाउनुपर्छ भने जोन्सन एन्ड जोन्सनको एकै डोजले पुग्छ।
शुक्रबारसम्म देशभर ३७ लाख ७९ हजार ९३२ जनाले पहिलो डोज लगाएका थिए। त्यस्तै, १६ लाख २१ हजार ७५४ जनाले दोस्रो डोज लगाएका थिए।
अहिलेसम्म कोभिशिल्ड, भेरोसेल र जोन्सन एन्ड जोन्सनको खोप लगाइँदै आएको छ। विभिन्न देशबाट अनुदान र खरीद गरेर ९७ लाख ८२ हजार ८५० डोज खोप ल्याइएको छ।
असोज मसान्तसम्म थप ८६ लाख डोज खोप आउने स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यस्तै, कोभ्याक्स सुविधा मार्फत एक करोड ५० लाख र १२ वर्षभन्दा माथिका बालबालिकाका लागि ६० लाख डोज फाइजर खोप ल्याउने प्रक्रिया अगाडि बढेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले जनाएका छन्।
यससँगै कोभ्याक्स सुविधा मार्फत नै चैतसम्म एक करोड १३ लाख डोज खोप आउने भएको छ। यससँगै सरकारले खोप खरीदका लागि निजी क्षेत्रलाई पनि अनुमति दिएको छ। सबैलाई आफ्नो पालोमा खोप लगाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ।
कुन प्रदेशमा कतिले लगाए खोप?