इतिहासकार शंकरमान राजवंशी, जसको मृत्यु कुनै खबर बनेन!
कुनै एक विषयमा दक्षता हासिल गर्दैमा इतिहास लेखनको क्षेत्रमा काम गर्न सकिँदैन। भाषा, ज्योतिष विज्ञान, गणित, विज्ञान, लिप्यन्तर, रूपान्तर, भाषान्तर, व्याख्या, विवेचना जस्ता विषयमा दक्षता हुनैपर्छ। शंकरमान तिनैमध्येका एक थिए।
इतिहासका अनुसन्धानकर्ताहरूले सन्दर्भ-सामग्री राख्ने क्रममा बाहेक राज्यका कुनै पनि निकायले इतिहासकार शंकरमान राजवंशीको योगदानलाई सम्झेका छैनन्। नेपाली पुराविद्याको खोजमा लागेका मसीजीवीहरूले पनि इतिहासमा उनको भूमिका र योगदानबारे छलफल र मूल्यांकन गरेको देखिँदैन। ‘अनुसन्धान केन्द्रमा बसेर पनि अनुसन्धान गर्ने बानी छैन, पढ्ने, लेख्ने बानी छैन’ भन्ने चिन्तनबाट माथि उठेका शंकरमान प्राज्ञिक वृत्तमा समेत गुमनाम जस्तै छन्।
पुरातत्त्व विभागमा रहेर अध्ययन, अनुसन्धानका क्षेत्रमा सुपरिचित सत्यमोहन जोशी, सूर्यविक्रम ज्ञवाली, रमेशजंग थापा, जनकलाल शर्मा, तारानन्द मिश्र, बाबुकृष्ण रिजाल, साफल्य अमात्य लगायत अध्येताको लहरमा शंकरमानको विशेष स्थान छ। नेपाली इतिहास, संस्कृति र पुरातत्त्वको परिशीलनमा उनले आफ्नो क्षमता र प्रतिभा राम्ररी उजागर गरेका छन्।
संशोधन मण्डलसँगको साइनो
इतिहास लेखनमा शंकरमान राजवंशीले दिएको योगदानको परिचर्चा गर्दा संशोधन मण्डलसँग उनको आबद्धतालाई बिर्सन मिल्दैन। गुरुकुलीय पद्धतिबाट पुराविद्याको खोज गर्नसक्ने जनशक्तिको उत्पादन गर्नु नै यसका संस्थापक नयराज पन्तको उद्देश्य थियो।
यसै अनुरूप नयराजले विसं १९९५ तिर संस्कृत पाठशालाको स्थापना गरेका थिए। उनी नेपालको इतिहास लेखनमा विदेशीहरूको एकाधिकार तोड्न चाहन्थे। उनले विदेशी विद्वान्हरू पुराविद्याको खोजी गर्न नेपाल आउनुको कुटिल उद्देश्य अर्कै थियो भन्ने बुझेका थिए।
इतिहासकार दिनेशराज पन्तका अनुसार, सरकारी संस्कृत पाठशाला पढ्दाताका नै शंकरमानका गुरु नयराज पन्त थिए। उक्त पाठशालामा विद्यालय शिक्षा पूरा गरे पनि उनी नयराजले घरमै स्थापना गरेको पाठशालामा थप अध्ययनका लागि आबद्ध भए। तर, शंकरमान स्थापनाकालीन विद्यार्थी भने होइनन्। उनले नयराजबाट ज्योतिष र इतिहास विधाका सैद्धान्तिक ज्ञान हासिल गरेका थिए (पासूका, २०५६, अंक १)।
संशोधन मण्डल, पुरातत्त्व विभाग जस्ता गैह्रसरकारी र सरकारी संस्थामा आबद्ध रहेर शंकरमान अनुसन्धान, सम्पादन तथा प्रकाशनमा निरन्तर लागिरहे। उनका लिच्छवि संवत्को निकर्ष, लिच्छवि संवत्को विवादान्त, सेन वंशावली, सिद्धान्त सारणी, रानी पोखरीको इतिहास, झिगु संस्कृति म्हसिके, प्राचीन लिपि वर्णमाला, लिच्छवि लिपि संग्रह आदि १७ पुस्तक प्रकाशित छन्।
पछि, त्यसै पाठशालामा अध्यापन समेत गरी शंकरमानले नेपालको पुराविद्याको खोजमा आफूलाई समर्पित गरे। नेवारी मातृभाषा हुनुका साथै संस्कृत भाषा, ज्योतिष, गणित र प्राचीन लिपिमा समेत जानकार भएको हुँदा उनलाई यस मार्गमा कुनै कठिनाइ भएन। २००९ सालमा गुरु नयराजको निर्देशनमा उनी लगायत चेलाहरूले अभिलेखको खोज, अन्वेषण, लिप्यन्तर, रूपान्तर, भाषान्तर, व्याख्या र विवेचना गरी इतिहासका विभिन्न पक्ष उजागर गर्न थाले (महेशराज पन्त, नेपालको इतिहासको परिवेश, केही ऐतिहासिक र केही मसीजीवी, पृष्ठ २१३)।
यसरी नेपालको इतिहास खोजमा देखिएको विदेशी विद्वान्हरूको आधिपत्यलाई नयराज पन्तका चेलाहरूले तोडे। विशेषगरी रोमका रेन्यारो र लुसियानो पेटेकका लेखहरूलाई खण्डनमण्डन गर्दै अनुसन्धानमूलक लेखहरू प्रकाशित हुन थालेपछि संशोधन मण्डलको साख बढ्दै गयो। विसं २०२१ मा संशोधन मण्डलको ‘पूर्णिमा’ जर्नल (पत्रिका) को पूर्णांक १ देखि पूर्णांक २० (विस २०२५ चैत्र) सम्म शंकरमानले आफ्नो प्राज्ञिक भूमिका निर्वाह गरे।
संशोधन मण्डलमा रहँदा सिकेको ज्ञान सीपलाई निखार्दै अघि बढे, जसबाट इतिहास अन्वेषकको रूपमा परिचित हुँदै पनि गए। २५ वर्षजति संशोधन मण्डलमा आबद्ध रहेका उनी पूर्णाक २१ अर्थात् वि.सं. २०२६ साल वैशाखमा पूर्णिमा पत्रिकाको सम्पादन मण्डलबाट अलग भए।
संशोधन मण्डलसँग सम्बन्ध विच्छेद
नयराजले स्थापना गरेको पाठशालामा पढ्ने ४४ जनाभन्दा बढी देखिए तापनि भाषा पाठशालाको मर्म अनुसार लागिपर्ने २१ जना मात्रै थिए। २०२१ सालमा पूर्णिमा पत्रिका प्रकाशन गर्दा जम्मा ९ जना सदस्य सक्रिय थिए। त्यसमा धनवज्र वज्राचार्य र शंकरमान राजवंशीको नाम अग्रपंक्तिमा आउँछ। यसका साथै देवीप्रसाद भण्डारी, दिनेशराज पन्त, महेशराज पन्त, रामजी तिवारी, गौतमवज्र वज्राचार्य लगायतको समूह पनि पूर्णिमा प्रकाशनमा लागि परेको थियो।
तर, स्थापनाको जुझारु जोस बिस्तारै घट्दै गयो। पूर्णांक ६ पछि १ जना, पूर्णांक १० पछि अर्को १ जना र पूर्णांक २० पछि शंकरमान राजवंशी र पूर्णांक २४ पछि धनवज्र वज्राचार्य समेत अर्का एक जनाले संशोधन मण्डल परित्याग गरे। (को हुन् त नयराज पन्त, पृष्ठ १६३)
यसरी संशोधन मण्डलका सदस्यहरूले आफ्नो ज्ञान आर्जन गरेको संस्था छोड्नुमा सैद्धान्तिक असहमतिभन्दा पनि आर्थिक कारण नै प्रमुख रह्यो। संशोधन मण्डलमा रहेर काम गर्दा आर्थिक आम्दानीको कुनै माध्यम थिएन, उस्तै परे आफ्नै खल्तीबाट संस्थाका लागि पैसा हाल्नुपर्ने अवस्था आउँथ्यो।
नयराज आफैं शिक्षण पेशामा आबद्ध रही बाँकी रहेको समयमा पाठशाला र अनुसन्धान कार्यमा लागिपरेका थिए। चेलाहरू आर्थिक उपार्जनका लागि अन्य संस्थामा आबद्ध रहे तापनि संशोधन मण्डलसँग रहिरहून् भन्ने धारणा नयराजको थियो।
विशेषतः संशोधन मण्डलमा रहँदारहँदै २०१३ सालमा शंकरमान राजवंशी पुरातत्त्व विभागमा खरिदार सरहको पण्डित पदमा सेवा प्रवेश गरे। उनले २०१३ देखि २०२५ सम्म १२ वर्ष सरकारी सेवा र संशोधन मण्डलसँगको सहकार्यलाई सँगै लिएर गए। तर, पछि उनी बिस्तारै संशोधन मण्डलबाट पृथक् रहे। त्यसपछि नायब सुब्बा, अस्थायी अधिकृत हुँदै अधिकृत स्तरको सम्पादक पदमा रही २०४७ मा सेवानिवृत्त भए।
उसो त शंकरमान संशोधन मण्डलबाट पृथक् रहनुमा नैतिक र आर्थिकका साथै सैद्धान्तिक मतभेद पनि कारण हुनसक्छ। दुवै संस्थामा आबद्ध रहेर काम गर्दा प्राज्ञिक गोपनीयता कायम गर्न र सन्तुलित सम्बन्ध कायम राख्न नसकेका पनि हुनसक्छन्। हालै पुरातत्त्व विभागबाट अवकाशप्राप्त शंकरमानका छोरा श्यामसुन्दर राजवंशीका अनुसार, सैद्धान्तिक विमति नै दोस्रो कारण हुनसक्छ। सुमतितन्त्र ग्रन्थका आधारमा लिच्छविकालमा दुइटा संवत् चलेको संशोधन मण्डलको तर्कमा विमति जनाउँदै शंकरमानले लिच्छविकालमा शक संवत् मात्र चलेको तथ्यमा जोड दिए (लिच्छवि संवत्को निष्कर्ष)।
त्यसो त धनवज्र वज्राचार्य २०२७ सालमा त्रिभुवन विश्वविद्यालय सेवा प्रवेश गरेसँगै संशोधन मण्डलबाट पृथक् रहेबाट इतिहासकारहरू मूलतः आर्थिक समस्यामा रहेका देखिन्छन्। शंकरमानपुत्र श्यामसुन्दर राजवंशीले भने झैं सैद्धान्तिक असहमतिका कारण दुईबीच दूरी बढ्न गएको भन्ने तर्क मनासिव देखिंदैन। तर, नयराजले भने झैं आर्थिक उपार्जनका लागि अन्य संस्थामा आबद्ध भए तापनि संशोधन मण्डललाई त्याग्न हुँदैनथ्यो कि भन्ने तर्क गर्न नसकिने होइन।
इतिहास, संस्कृति र पुरातत्त्व अर्थात् पुराविद्याको खोजमा आजीवन लागिपरेका शंकरमान आम पाठकबाट भने टाढा रहे भने प्राज्ञिक वृत्त, आमसञ्चार र उनले सेवा गरेको संस्थामा समेत अपरिचित रहेको प्रतीत हुन्छ।
संशोधन मण्डलबाट अलग रहे पनि पुरातत्त्व विभागमा शंकरमानले खोज तथा अध्ययन कार्यलाई निरन्तरता दिइरहे। प्रशासनिक कार्य, अन्य विज्ञ सहकर्मी र समयको अभाव अनि पुरातत्त्वको आफ्नै शैली र विशेषताका कारण उनले संशोधन मण्डलको शैलीलाई पालना गर्न सकेनन्। त्यसैले उनको पहिलेको प्राज्ञिक स्तर खस्केको आर्थिक इतिहासकार महेशचन्द्र रेग्मीले सुनाएको अर्का इतिहासकार महेशराज पन्तको कथन छ।
महेशराजको शब्दमा, संशोधन मण्डलबाट ‘पियर रिभ्यू’ गरी लेखहरू प्रकाशित हुन्थे। यसै कारण शंकरमानले संशोधन मण्डलमा रहँदा प्रकाशन गरेका लेखहरू उत्कृष्ट थिए। तर, उनी पुरातत्त्व विभाग गएपछि प्रकाशन गरेका लेखहरू तुलनात्मक रूपमा कमजोर हुनुको प्रमुख कारण संशोधन मण्डलको परीक्षण प्रणालीलाई नअपनाइनु नै हो। संशोधन मण्डलमा रहँदा सिकेको ज्ञानकै कारण पुरातत्त्व विभागका लागि उनी विज्ञ ठहरिए पनि संशोधन मण्डलकै कसीमा आफ्नो अभ्यासलाई निरन्तरता दिन सकेनन्।
आजीवन ज्ञान साधना
संशोधन मण्डल, पुरातत्त्व विभाग जस्ता गैह्रसरकारी र सरकारी संस्थामा आबद्ध रहेर शंकरमान अनुसन्धान, सम्पादन तथा प्रकाशनमा निरन्तर लागिरहे। उनका लिच्छवि संवत्को निकर्ष, लिच्छवि संवत्को विवादान्त, सेन वंशावली, सिद्धान्त सारणी, रानीपोखरीको इतिहास, झिगु संस्कृति म्हसिके, प्राचीन लिपि वर्णमाला, लिच्छवि लिपि संग्रह आदि १७ पुस्तक प्रकाशित छन्। ऐतिहासिक कुण्डली, पुरातत्त्व पत्रसंग्रह (तीन भाग), भूमि सम्बन्धी तमसुक ताडपत्र (चार भाग), नेपाली लिपि विकास लगायतका पुस्तकले पनि उनलाई चिनाएकै छन्।
संशोधन मण्डलको पूर्णिमा, पुरातत्त्व विभागको जर्नल प्राचीन नेपाल, राष्ट्रिय अभिलेखालयबाट प्रकाशित अभिलेख पत्रिकाहरूमा उनका दर्जनौं अनुसन्धानमूलक लेख समेटिएका छन्। उनका पुस्तक तथा आलेखहरूमाथि इतिहासकार योगेशराजले अनुसन्धान, सम्पादन तथा प्रकाशन गरेका छन्। उक्त टिपोट अनुसार, २३ वटा पुस्तक (संशोधनमण्डलमा आबद्ध रहँदा त्यहाँका अन्य सदस्य समेतको योगदान रहेको), अभिलेख पत्रिकामा ५, पूर्णिमा पत्रिकामा १९, प्राचीन नेपालमा ३० र इनापमा २६ वटा गरी ८० भन्दा बढी अनुसन्धानमूलक लेख प्रकाशित छन्।
कुनै एक विषयमा दक्षता हासिल गर्दैमा इतिहास लेखनको क्षेत्रमा काम गर्न सकिंदैन। भाषा, ज्योतिष विज्ञान, गणित विज्ञान, लिपि, लिपिको लिप्यन्तर, रूपान्तर, भाषान्तर, व्याख्या, विवेचना जस्ता विषयमा दक्षता प्राप्त गरेर मात्र इतिहासको अन्वेषक बन्न सकिन्छ । उल्लिखित विधामा शंकरमान काम गर्न सक्थे भन्ने उनका प्रकाशित कृतिबाट पुष्टि हुन्छ।
इतिहास, संस्कृति र पुरातत्त्व अर्थात् पुराविद्याको खोजमा आजीवन लागिपरेका शंकरमान आम पाठकबाट भने टाढा रहे भने प्राज्ञिक वृत्त, आम सञ्चार र उनले सेवा गरेको संस्थामा समेत अपरिचित रहेको प्रतीत हुन्छ। १९८१ फाल्गुण शुक्ल प्रतिपदा १२ गते गोपालमान र जोगकुमारीको सन्तानका रूपमा जन्मेका शंकरमानले मध्यमा शास्त्री शिक्षा प्राइभेट उत्तीर्ण गरेका देखिन्छन्। उनले २०५५/५६ मा राष्ट्रिय प्रतिमा पुरस्कार पाएका थिए।
अझै पनि राज्य र समाजले नचिनेका शंकरमानका प्रकाशित, अप्रकाशित कृतिहरूको खोज, अध्ययन र अनुसन्धान गरी उनको व्यक्तित्व र कृतित्वको खोजी गर्नु नै सम्बन्धित प्राज्ञिक संस्थाहरूको महत्त्वपूर्ण दायित्व हुनुपर्थ्याे।
शंकरमान २०५५ देखि पक्षाघातले पीडित भए। २०५६ वैशाखमा माइला छोरा बितेपछि विक्षिप्त भए। यसरी २०५६ साउन १७ मा मुटुको व्यथाका कारण त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा देहान्त हुँदा पनि सञ्चार गृह तथा प्राज्ञिक जगत् बेखबर थिए। इतिहासकार योगेश राजले पासूका (वर्ष ४ अंक १ २०५६) मा लेखेका छन्, ‘साहित्यकार र अरू कला सर्जकहरूले बाँचुन्जेल दुई छाक खान पाउँदैनन्, सम्मान पाउँदैनन्, तर मरेपछि भने कमसेकम एक–दुई घण्टाकै लागि भए पनि हाम्रो श्रद्धाञ्जली पाउने सौभाग्य पाउँछन्। इतिहासकारहरूले त्यति पनि पाउँदैनन्। शंकरमान राजवंशीको मृत्यु कुनै खबर बनेन।’
‘शंकरमान २०५५ देखि पक्षाघातले पीडित हुँदा कुन्नि कतिले थाहा पाए? कतिले चासो राखे? कतिले उनीकहाँ जाने फुर्सद निकाले? कतिले उनको उपचारका लागि सहयोग गरे? श्यामसुन्दर दाइले नै बताउन सक्नुहोला। अब उनी बितिसकेपछि पनि दिनहुँजसो खाली नहुने समवेदना सन्देशहरूको बीचमा उनको फोटो देखिएको छैन। यस्तै हुने भयो अब,’ योगेश राजले थपेका छन्।
अझै पनि राज्य र समाजले नचिनेका शंकरमानका प्रकाशित, अप्रकाशित कृतिहरूको खोज, अध्ययन र अनुसन्धान गरी उनको व्यक्तित्व र कृतित्वको खोजी गर्नु नै सम्बन्धित प्राज्ञिक संस्थाहरूको महत्त्वपूर्ण दायित्व हुनुपर्थ्याे। अब ढिला नगरी उनका भूमिकाहरूको खोजी गर्नुपर्छ। नेवारी सभ्यता र संस्कृतिको खोजमा उनको विशेषत: योगदान छ। त्रिभुवन विश्वविद्यालय, सिनास, पुरातत्त्व विभाग, राष्ट्रिय अभिलेखालय, नेपाल प्रज्ञा प्रतिष्ठान लगायत संस्थाहरूले उनको योगदानमथि खोजबिन गर्नु जरुरी छ।