काठमाडौं बाहिर पनि बढ्दै कोरोना संक्रमित
कोरोनाभाइरसको संक्रमण काठमाडौं बाहिरका जिल्लामा पनि बढ्न थालेको छ। पछिल्लो २४ घण्टामा केही जिल्लामा संक्रमितको संख्या बढेको देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, आज काठमाडौं उपत्यकामा ८१९ जनामा कोरोना देखिएको छ। जसमध्ये काठमाडौंमा ५५६, ललितपुरमा १८७ र भक्तपुरमा ७६ जनामा कोरोना देखिएको छ।
योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या पनि बढेको छ। काठमाडौंमा नौ हजार ५०३, ललितपुरमा एक हजार ४७८ र भक्तपुरमा एक हजार १२० जना सक्रिय संक्रमित पुगेका छन्।
आज काठमाडौं बाहिर सबैभन्दा बढी कास्कीमा ३३३ जनामा कोरोना देखिएको छ। बिहीबार कास्कीमा २४८ जनामा कोरोना देखिएको थियो।
त्यस्तै, झापामा २३६, सुनसरीमा १७०, मकवानपुरमा १०४, चितवनमा ८२, सुर्खेतमा ७१, नवलपरासी पूर्वमा ५८, रुपेन्देहीमा ५७ र गोरखामा ४० जनामा कोरोना देखिएको छ। बिहीबार झापामा २७२, सुनसरीमा १७०, मकवानपुरमा ६६, चितवनमा ९६, सुर्खेतमा १७, नवलपरासी पूर्वमा ५६, रुपन्देहीमा ३४ र गोरखामा ३१ जनामा कोरोना देखिएको थियो।
योसँगै ५०० भन्दा बढी सक्रिय संक्रमित भएका जिल्ला पनि १२ पुगेका छन्। मोरङ, सुनसरी, झापा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, नवलपरासी पूर्व, कास्की, रुपन्देही र सुर्खेतमा सक्रिय संक्रमित ५०० नाघेका हुन्। त्यस्तै, २०० भन्दा बढी सक्रिय संक्रमित भएका जिल्ला पनि २३ पुगेका छन्।
आज देशभर तीन हजार ६११ जनामा कोरोना देखिएको छ भने २७ जनाको मृत्यु भएको छ। कोरोनाबाट एक हजार ८१६ जना निको भएका छन्।