यो सरकार असफल भएमा व्यवस्था नै असफल हुन्छ : प्रदीप गिरि
नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप गिरिले यो सरकार असफल भएमा संविधान र व्यवस्था नै असफल हुने बताएका छन्।
शुक्रबार प्रतिनिधि सभामा बोल्दै सांसद गिरिले गठबन्धनमा रहेका सबै दल र नेताले संविधान र व्यवस्था जोगाउन ध्यान दिनुपर्ने बताए। संविधान जारी हुँदा केही विषयलाई लिएर आफू असन्तुष्ट रहेको भए पनि अब यसलाई जोगाएर अघि बढ्नुपर्ने बताए।
धेरै प्रयासबाट संसद् जोगिएको बताउँदै सांसद गिरिले भने, “यो सरकार असफल भयो भने शेरबहादुरजी मात्रै असफल हुनुहुन्न, संविधान असफल हुन्छ, यो व्यवस्था असफल हुन्छ। यो सोच्दा पनि कहाली लाग्छ।”
यसका लागि अर्को बाटो नभएको उनको भनाइ थियो। त्यसैले संविधानको रक्षाका लागि संसद्मा बोलेको उनले बताए।
अब सरकारले कोरोना खोप मात्रै भनेर नहुने उनले बताए। कोरोना खोपसँगै सुशासन प्रदान गर्नुपर्ने उनको भनाइ थियो। “खोप जत्तिकै महत्त्वपूर्ण सुशासन हो,” सांसद गिरिले भने, “एकातिर खोप सम्झनुहोस्, एर्कातिर आम जनताका दैनन्दिनका समस्या सम्झनुहोस्।”
उनले लोकतन्त्र भनेर मात्रै नहुने र त्यस अनुसार काम गर्नुपर्ने बताए। “लोकतन्त्र पाँच वर्षको चुनाव मात्रै होइन, धेरै गहिरो कुरा हो। लोकतन्त्र भनेको संख्यातन्त्र होइन, यो पूर्वप्रधानमन्त्री (केपी शर्मा) ओलीजीले बुझ्नुभयो,” सांसद गिरिले भने, “लोकतन्त्रको मर्म बुझ्दै, यसलाई बलियो बनाउँदै लग्नुपर्छ। लोकतन्त्रको जडसूत्रवादी व्याख्याबाट माथि उठ्नुपर्छ।”
उनले संघीयतालाई बलियो बनाउँदै लग्नुपर्ने बताए। यसअघिको सरकारले संघीयतालाई बलियो बनाउने काम नगरेको आरोप लगाउँदै उनले भने, “संघीय राज्य कागजमा सीमित छ।” उनले संघीय राज्यलाई बलियो बनाउन आवश्यक निजामती र प्रहरी ऐन लगायतका ऐन-कानून बनाउनुपर्ने बताए।
उनले कोभिड-१९ को समयमा स्थानीय सरकारले राम्रो काम गरेको उल्लेख गरे। “कोभिडमा स्थानीय सरकारले प्रशस्त काम गरेका छन्। स्थानीय सरकारलाई बलियो बनाउनुस्,” सांसद गिरिले भने। उनले विगतबाट सिकेर काम गर्नुपर्ने बताए।