माओवादी पूर्वसांसदको निवेदन न्यायाधीश भट्टराईको इजलासमा
माओवादीका पूर्वसांसदको निवेदनमाथिको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा तोकिएको छ।
१४ साउनमा ‘हेर्न नभ्याइने’मा परेको निवेदनमाथि आज पुनः सुनुवाइ तोकिएको हो। बिहीबार न्यायाधीश दीपककुमार कार्कीको इजलासमा पेशी तोकिएको थियो भने आज न्यायाधीश भट्टराईको इजलासमा परेको छ।
नेकपा (एमाले)मा प्रवेश गरेपछि कारबाहीमा परेका लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरीशंकर चौधरी र प्रभु साह १३ साउनमा सर्वोच्च अदालत पुगेका थिए। उनीहरूले दिएको निवेदनमा आफूहरू नेकपा (माओवादी केन्द्र)मै रहेकाले सांसद पदमा पुनर्बहाली गर्न माग गरिएको छ।
यसअघि उनीहरूले माओवादीविरुद्ध निर्वाचन आयोगमा पनि निवेदन दिएका थिए। माओवादीको वैधानिकता सकिएको भन्दै पार्टीको दर्ता खारेज गर्न माग गरेका थिए। त्यसलाई निर्वाचन आयोगले अस्वीकार गरेपछि उनीहरू सर्वोच्च अदालत पुगेका हुन्।
आज पनि उनीहरूको निवेदनको पेशी शुरूआतमा परेको छैन। चारै जनाको निवेदनको पेशी पाँचौं, छैटौं, सातौं र आठौं नम्बरमा छ।