देशभर ३० हजार नाघे सक्रिय संक्रमित
कोभिड-१९ संक्रमितको संख्या बढ्न थालेसँगै सक्रिय संक्रमितको संख्या पनि बढेको छ। पछिल्लो १० दिनमा सक्रिय संक्रमितको संख्या २५ हजारबाट बढेर ३० हजार नाघेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, सक्रिय संक्रमितको संख्या ३० हजार ३९० पुगेको छ। १० दिनअघि ४ साउनमा सक्रिय संक्रमितको संख्या २५ हजार ८३७ थियो।
दैनिक संक्रमितको संख्या बढ्दै आएको छ। त्यो अनुपातमा निको हुनेको संख्या भने बढ्न सकेको छैन। जसले गर्दा सक्रिय संक्रमितको संख्या बढेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
सक्रिय संक्रमितको संख्या बढेसँगै आईसीयू र भेन्टिलेटरमा राख्नुपर्ने संक्रमितको संख्या पनि बढेको छ। ४ साउनमा आईसीयूमा ५६४ र भेन्टिलेटरमा १५५ जना थिए भने आज आईसीयूमा ६३६ र भेन्टिलेटरमा १६० जना छन्।
पछिल्लो १० दिनमा अस्पताल भर्ना हुने संक्रमितको संख्या पनि बढेको छ। ४ साउनमा दुई हजार ५०३ जना अस्पताल भर्ना भएका थिए भने आज तीन हजार ३५ जनाको अस्पतालमा उपचार भइरहेको छ।
यससँगै होम आइसोलेसनमा रहेका संक्रमित पनि चार हजारले बढेका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार, २७ हजार ३५५ जना संक्रमित होम आइसोलेसनमा छन्। १० दिनअघि २३ हजार ३३४ जना होम आइसोलेसनमा थिए।
देशभरसँगै काठमाडौं उपत्यकामा पनि सक्रिय संक्रमितको संख्या बढेको छ। ४ साउनमा सात हजार ९५ जना सक्रिय संक्रमित थिए भने आज आठ हजार ४४१ जना सक्रिय संक्रमित रहेका छन्।
आज काठमाडौं उपत्यकामा ८६० जना संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा ५९७, ललितपुरमा १५५ र भक्तपुरमा १०८ जनामा संक्रमित देखिएको हो।
त्यस्तै, देशभर तीन हजार ३६५ जनामा संक्रमण देखिएको छ भने १६ जनाको मृत्यु भएको छ। आज एक हजार ३७३ जना निको भएका छन्।