माओवादी पूर्वसांसदको निवेदन ‘हेर्न नभ्याइने’मा
नेकपा (माओवादी केन्द्र)का चार जना पूर्वसांसदले दिएको निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुन सकेन।
सर्वोच्च अदालतका न्यायाधीश दीपकुमार कार्कीको इजलासमा तोकिएको निवेदनमाथि सुनुवाइ गर्न समय पुगेन। त्यसअघिको एउटा मुद्दामाथि सुनुवाइमै समय लागेपछि चार जना पूर्वसांसदको निवेदनलाई ‘हेर्न नभ्याइने’मा राखिएको छ।
नेकपा (एमाले) प्रवेश गर्दा कारबाहीमा परेका माओवादीका पूर्वसांसद लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरीशंकर चौधरी र प्रभु साह १३ साउनमा सर्वोच्च अदालत पुगेका थिए। आफूहरू माओवादीमै रहेको जिकिर गर्दै उनीहरूले सांसद पदमा पुनर्बहाली गर्न माग गरेका छन्।
चारै जनाको निवेदनमाथि आज सुनुवाइ तोकिएको थियो। ‘हेर्न नभ्याइने’मा परेको उनीहरूको निवेदनमाथि अब १५ साउनमा सुनुवाइ तोकिएको छ।