माओवादीका पूर्वसांसदको निवेदन न्यायाधीश कार्कीको इजलासमा
नेकपा (एमाले)मा प्रवेश गरेपछि कारबाहीमा परेका नेकपा (माओवादी केन्द्र)का पूर्वसांसदको निवेदनमाथि सर्वोच्च अदालतका न्यायाधीश दीपकुमार कार्कीको इजलासमा सुनुवाइ हुने भएको छ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले पूर्वसांसदको निवेदनमाथिको सुनुवाइ कार्कीको इजालसमा तोकेका हुन्। सर्वोच्चको दैनिक पेशी सूचीमा माओवादीका चारै जना पूर्वसांसदको निवेदनमाथिको सुनुवाइ न्यायाधीश कार्कीको इजालसमा तोकिएको छ।
सर्वोच्चको गत २३ फागुनको आदेशपछि एमाले र माओवादी ब्युँतिएका थिए। माओवादीका तत्कालीन सांसदहरू लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरीशंकर चौधरी र प्रभु साह एमालेमा प्रवेश गरेका थिए। २८ फागुनमा बसेको एमाले केन्द्रीय कमिटी बैठकबाट अध्यक्ष केपी शर्मा ओलीले चारै जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए।
त्यसपछि माओवादीले चारै जना सांसदलाई कारबाही गरेको थियो। माओवादी केन्द्रीय कमिटीको सिफारिशमा संसद् सचिवालयले पनि उनीहरूको सांसद पद रिक्त भएको सूचना जारी गरेको थियो।
अहिलेसम्म एमालेमै रहेका उनीहरू गत महीना माओवादीविरुद्ध निर्वाचन आयोग पुगेका थिए। उनीहरूले माओवादीको वैधानिकता सकिएको भन्दै पार्टी खारेज गर्न माग गरी निवेदन दिएका थिए। तर, आयोगले उनीहरूको निवेदन खारेज गर्दै माओवादी वैधानिक रहेको ठहर गरेको थियो।
त्यसपछि उनीहरू १३ साउनमा सर्वोच्च अदालत पुगेका हुन्। आफूहरू माओवादीमा रहेको जिकिर गर्दै उनीहरूले सांसद पद पुनर्बहाली गर्न माग गरेका छन्। चारै जनाको निवेदनमाथि आज सुनुवाइ तोकिएको हो।