नेप्से परिसूचक ३०९४ बिन्दुमा, तीन कम्पनीमा सकारात्मक सर्किट
बुधबार शेयर बजार परिसूचक, नेप्से ३०९४.९५ बिन्दुमा पुगेको छ। यो हालसम्मकै उच्च बिन्दु हो।
यसअघि १२ साउनमा परिसूचक ३०७९ बिन्दुमा पुगेको थियो। आज तीन कम्पनीमा सकारात्मक सर्किट लाग्यो। नारायणी विकास ब्यांक, मल्टीप्रपोज फाइनान्स कम्पनी र चन्द्रागिरि हिल्स लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको हो।
बुधबार १२३ कम्पनीको शेयर मूल्य बढेको छ भने ८९ कम्पनीको शेयर मूल्य घटेको छ। ६ कम्पनीको शेयर मूल्य भने स्थिर रह्यो।
नेप्से परिसूचकले रेकर्ड बनाए पनि आज कारोबार रकम भने घटेको छ। आज २१९ कम्पनीको २ करोड ८१ लाख ७० हजार कित्ता शेयर खरीदबिक्री हुँदा १३ अर्ब २९ करोड १९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। १२ साउनमा १५ अर्ब १७ करोड रुपैयाँको कारोबार भएको थियो।