वैज्ञानिक वन व्यवस्थापन, कतै खुशी कतै आशंका
ममता भट्ट, डडेल्धुरा
‘वैज्ञानिक वन व्यवस्थापन अवधारणा अन्तर्गत पुरानो वनबालीलाई हटाएर नयाँ वनबाली बनाउने र हैसियत बिग्रेको वन र रुखलाई सुधार गरेर नयाँ वन बनाउने हो ।”
वनको घनत्व बढाउन, यसबाट बढी फाइदा लिन र पूरा रुखलाई विस्थापन गरेर नयाँ रुख बिरुवा हुर्किने वातावरण बनाउने उद्देश्यले डडेल्धुरामा अहिले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू भएको छ ।
वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम अमरगढी–३ डडेल्धुराको राजपुर सामुदायिक वन उपभोक्ता समूहमा लागू भएको हो । राजपुर सामुदायिक वन उपभोक्ता समूहमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम शुरु भएपछि स्थानीय उपभोक्ताले मिश्रित प्रतिक्रिया दिन थालेका छन् । वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू भएपछि वनमा गाईबस्तु चरन बन्द भएको छ ।
स्थानीय ज्येष्ठ नागरिक भवानी सुनार भन्छिन्, “पहिला गाईभैंसी लगेर जान्थेँ, चराउँथेँ, अब बन्द भयो । यसले गर्दा गाईभैंसी पाल्न त समस्या हुन्छ नि ।”
समस्या मात्र होइन, वैज्ञानिक वन कार्यक्रम शुरु भएपछि स्थानीयलाई फाइदा पनि पुगेको छ । वन व्यवस्थापन कार्यक्रम लागू भएपछि रोजगारी बढेको छ । सल्लाका रुखमात्र भएको जंगलमा अन्य रुख–बिरुवालाई पनि हुर्काउन मद्दत मिल्छ ।
सल्लाको ओसमा अरु रुखबिरुवा फस्टाउँदैनन् भने अब त्यहाँ नयाँ रुखबाली बढ्नेछन् । वातावरण राम्रो हुनेछ । तत्कालका लागि भने वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम शुरु भएपछि स्थानीय नागरिकले रोजगारी पनि पाएका छन् ।
स्थानीय आरती सुनार भन्छिन्, “अहिले हामीले काम पाएका छौँ । दिनको पाँचसय रुपैयाँ ज्याला पाउँछौं । आफ्नो ठाउँमा रोजगारी पाएर हामी खुशी भएका छौं ।”
अर्का स्थानीय विष्ना कामीले भनिन्, “रोजगारी मात्र हैन, घाँस दाउरा पनि पाएकै छौं । मलाई त वन व्यवस्थापन कार्यक्रमले पूरै गाउँ–समाजलाई फाइदा हुन्छझैं लागेको छ ।”
डडेल्धुरा जिल्लाको बागबजारबाट ८ किलोमिटर दूरीमा रहेको राजपुर सामुदायिक वन पुग्न डडेल्धुरा बजारबाट गाडीमा ४५ मिनेट लाग्छ । यो घना वन सल्लाले भरिएको र हरियालीयुक्त पनि छ ।
डडेल्धुराका डिभिजन वन अधिकृत बोधराज सुवेदी भन्छन्, “राजपुर सामुदायिक वनमा नै वन व्यवस्थापन कार्यक्रम शुरु गर्नुको कारण यो एकमात्र प्रजातिको जंगल हो । यसले जति उत्पादकत्व दिन्छ त्यो दिन सकेको छैन ।”
उनले कार्यक्रमको अवधारणाबारे प्रस्ट्याउँदै भने, “वैज्ञानिक वन व्यवस्थापन अवधारणा अन्तर्गत पुरानो वनबालीलाई हटाएर नयाँ वनबाली बनाउने र हैसियत बिग्रेको वन र रुखलाई सुधार गरेर नयाँ वन बनाउने हो ।”
पुराना बोटबिरुवा हटाएर नयाँ वनबाली अर्थात वृक्षरोपण र त्यहाँ रहेका अन्य बोटबिरुवालाई उम्रन दिई वनलाई सुधार गर्ने प्रक्रिया नै वैज्ञानिक वन व्यवस्थापन हो । यसो गर्दा शुरु शुरुमा भएको वन समेत मासिने गर्छ । राजपुर सामुदायिक वनमा अहिले त्यस्तै भएको छ ।
सल्लाको मात्र जंगल भएकाले त्यसलाई व्यवस्थापन गर्दा अहिले त्यहाँका डाँडा उराठलाग्दा देखिन थालेका छन् । घनघोर सल्लाको ठाउँमा भिरालो पाखा देखिन थालेका छन् ।
यसबारेमा वनविज्ञ केशव पुडासैनी भन्छन्, “वैज्ञानिक वन व्यवस्थापन भनेकै जैविक विविधतालाई संरक्षण गर्ने, वातावरणीय पक्षलाई विचार पुर्याउने, वनबाट आर्थिक तथा सामाजिक फाइदा लिने प्रक्रिया भएकाले शुरुमा केही फरक देखिए पनि पछि यसले फाइदा नै गर्छ ।”
वैज्ञानिक वनले वातावरण, जैविक विविधता र जलवायुलाई असर गर्दैन । त्यसैले नेपाल सरकारले डडेल्धुरामा पहिलोपटक वैज्ञानिक वन व्यवस्थापनको काम शुरु गरेको हो । यस अन्तर्गत पहिलो चरणमा सामुदायिक वनमा रहेका ७ हजार १ सय क्युफिट सल्लाको काठ काटिएको छ ।
डडेल्धुराका डिभिजन वन अधिकृत बोधराज सुवेदी भन्छन्, “वन तथा भूसंरक्षण मन्त्रालयले वन क्षेत्रलाई समृद्धिसँग गाँसेर वनबाट बढीभन्दा बढी फाइदा लिन सकियोस् भनेर नै वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम शुरु गरिएको हो । यसले बिग्रेको वनको हैसियतमा सुधार ल्याउँछ ।”
सल्ला प्रजातिको रुख मात्रै रहेको राजपुर सामुदायिक वनले कूल २३६ हेक्टर क्षेत्रफल ओगटेको छ । यस सामुदायिक वनलाई वैज्ञानिक वन व्यवस्थापनका लागि १० वर्षीय कार्ययोजना बनाइएको छ । र स्थलगत अनुगमन गरिसकेपछि यो काम शुरु भएको छ ।
राजपुर सामुदायिक वनका अध्यक्ष बलराम पनेरुका अनुसार वैज्ञानिक वन व्यवस्थापन कार्ययोजना बनाउँदा विज्ञहरू बोलाएर नै यो कार्यक्रम शुरु भएको हो । यसले दीर्घकालीन फाइदा गर्छ ।
वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम शुरु भएपछि रोजगारी पाए पनि स्थानीय उपभोक्तहरू सशंकित छन् । यस्तो आशंकाको कारण सल्लाका रुख काटिनु पनि हो । रुख काटेको देखेर दुःखी हुने उपभोक्ताहरू भन्छन्, “आँखै अगाडि वन विनाश हुँदै छ, कुनै बेला दुःख लाग्छ, तर फेरि राम्रो होला भन्ने आशमा खुशी पनि हुन्छौँ ।”
स्थानीय नागरिकमा यस्ता विभिन्न आशंका रहेपनि हाल भएको वनको मूल्य र वनबाट हुने फाइदा नघट्ने, वातावरण जोगिइरहने भएकैले राजपुर सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम शुरु भएको हो ।
सामुदायिक वन उपभोक्ता महासंघ डडेल्धुरा जिल्लाका जिल्ला सदस्य केशव महताले कार्यक्रम शुरु नै भइसकेकाले अब प्रतिफलको मात्र प्रतिक्षा रहेको छ बताउँछन् ।
–यो फिचर एन्टेना फाउण्डेशन नेपालको रेडियो कार्यक्रम नेपाल चौतारीमा पनि सुन्न सकिन्छ ।