प्रधानमन्त्री देउवासँग अमेरिकी विदेशमन्त्रीको एमसीसी सम्झौताबारे छलफल
प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग टेलिफोन संवाद गरेका छन्।
विदेशमन्त्री ब्लिन्केनले प्रधानमन्त्रीमा नियुक्त भएकोमा देउवालाई बधाई दिँदै द्विपक्षीय हितका विषयमा छलफल गरेको परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
टेलिफोनमा अमेरिकाले दिएको खोप तथा अन्य मेडिकल सामग्री सहयोगका विषयमा छलफल भएको थियो।
विदेशमन्त्री ब्लिन्केनसँग प्रधानमन्त्री देउवाको टेलिफोन संवादमा अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाको विषयमा पनि छलफल भएको जारी विज्ञप्तिमा उल्लेख छ। तर, के छलफल भयो भन्ने कुरा उल्लेख गरिएको छैन।
अमेरिकी सहयोगको एमसीसी परियोजनामा नेपालले हस्ताक्षर गरेको चार वर्ष बितिसकेको छ। तर, संसद्बाट सम्झौता अनुमोदन हुन नसक्दा कार्यान्वयन हुन सकेको छैन। नेकपा एमालेको एक समूह र नेकपा माओवादी एमसीसी सम्झौता विरुद्ध उभिंदै आएका छन्।