गण्डकी र लुम्बिनीका प्रदेश प्रमुख हटाइए
सरकारले गण्डकी र लुम्बिनीका प्रदेश प्रमुखलाई हटाएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिशमा गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवलाई पदमुक्त गरेको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जनाएका छन्।
आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखद्वय पौडेल र यादवलाई हटाउने निर्णय गरेको थियो। मन्त्रिपरिषद्को निर्णय अनुसार, प्रधानमन्त्री देउवाले राष्ट्रपति समक्ष सिफारिश गरेका थिए।
राष्ट्रपतिको कार्यालयले प्रेस विज्ञप्ति जारी गरी पौडेल र यादवलाई पदमुक्त गरेको जनाएको छ। विज्ञप्तिमा भनिएको छ, ''सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८-४-१२ गतेको बैठकको निर्णय एवं सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम देहाय अनुसारका प्रदेश प्रमुखहरूलाई पदमुक्त गर्नुभएको छ।''