नेपालमा कोरोनाका चार भेरियन्ट, ४७ जनामा ‘डेल्टा’ र तीनमा ‘डेल्टा प्लस भेरियन्ट’ पुष्टि
नेपालमा पनि कोभिड-१९ को तीव्र संक्रामक ‘डेल्टा’ र ‘डेल्टा प्लस भेरियन्ट’ रहेको पुष्टि भएको छ। देशका विभिन्न स्थानबाट संकलन गरिएका नमूना विदेशमा पठाएर परीक्षण गर्दा तीव्र संक्रामक भाइरस पुष्टि भएको हो।
विश्व स्वास्थ्य संगठनले मान्यता दिएको भारतको नयाँ दिल्लीस्थित ‘द इन्स्टिच्यूट अफ जेनोमिक्स एन्ड इन्टेग्रेटिभ बाइलोजी (आईजीआईबी)मा ‘सेक्वेन्सिङ’ गर्दा नेपालबाट पठाइएका नमूनामा ‘डेल्टा’ र ‘डेल्टा प्लस भेरियन्ट’ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डा.समीरकुमार अधिकारीका अनुसार, ४७ नमूनामा ‘डेल्टा भेरियन्ट’ पुष्टि भएको छ। जसमध्ये तीन नमूनामा ‘डेल्टा प्लस भेरियन्ट’ देखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले ४७ नमूना पठाएको थियो।
कोरोनाभाइरस स्वरूप परिवर्तन गरेर ‘डेल्टा भेरियन्ट’ बनेको थियो। यसमा पनि थप ‘म्युटेसन’ भई ‘डेल्टा प्लस भेरियन्ट’ बनेको हो। यो भेरियन्ट सबैभन्दा पहिले भारतमा देखिएको थियो। अहिले नेपालमा पनि देखिन थालेकाे छ।
जेठ मध्यदेखि असार मसान्तसम्म देशका विभिन्न भागबाट विभिन्न उमेर समूहको नमूना संकलन गरिएको थियो। तीमध्ये ४७ नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले छनोट गरेर ३० असारमा भारत पठाएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.अधिकारीले जनाएका छन्।
अहिले नेपालमा कोरोनाका चार वटा भेरियन्ट रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जसमा अल्फा, डेल्टा, कप्पा र डेल्टा प्लस भेरियन्ट छन्।
स्वास्थ्य मन्त्रालयले प्रेस विज्ञप्ति जारी यी चारै भेरियन्ट तीव्र संक्रामक रहेको जनाएको छ। डा. अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यी भेरियन्टहरू बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरूलाई असर पार्ने विभिन्न अध्ययनबाट पाइएको छ।”
संक्रमण बढिरहेको र नयाँ भेरियन्टहरू देखिएकाले कोरोनाको तेस्रो लहरको जोखिम बढेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। विज्ञप्तिमा भनिएको छ, “संक्रमणको जोखिम बढिरहेको अवस्थामा संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका बढाउन संवेदनशील भई जनस्वास्थ्यका मापदण्डहरूको पालना गर्न गराउन र सम्भावित तेस्रो लहरको चुनौतीपूर्ण अवस्थाको तयारी गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछ।”