प्रकृतिका रक्षक रेन्जर : कसरी बनाउने चुस्त?
रेन्जरहरू आफ्नो व्यवसायप्रति लगनशील भई अघि बढेमा मात्र प्रकृतिको रक्षा भई मनोरम भविष्यको सुनिश्चितता कायम हुनसक्छ, जसका लागि राज्य, समाज र सम्बद्ध संस्थाहरूबाट उनीहरूको कामको उचित मूल्यांकन र प्रोत्साहन चाहिन्छ।
विश्वको कुल भूभागको ३१ प्रतिशत वनले ढाकेको छ। कुल वन क्षेत्रको करीब १८ प्रतिशत भाग संरक्षित क्षेत्रले ओगटेको छ। विश्वभर झन्डै एक लाखभन्दा बढी निकुञ्ज, आरक्ष लगायत संरक्षित क्षेत्र रहेको अनुमान छ। नेपालमा कुल भूभागको करीब ४४.७४ प्रतिशत वन क्षेत्र र २३.३९ प्रतिशत संरक्षित क्षेत्रले ओगटेका छन्। यी वन तथा संरक्षित क्षेत्रहरूको संरक्षण र व्यवस्थापनको अग्रभागमा रेन्जरहरू क्रियाशील छन्।
प्रकृति र जैविक विविधता संरक्षणमा विश्वभरका रेन्जरहरूले पुर्याएको योगदानको स्मरण गर्दै संरक्षणबारे चेतना वृद्धि गर्न सन् २००७ देखि प्रत्येक वर्ष ३१ जुलाईमा विश्व रेन्जर दिवस मनाइन्छ। नेपालमा भने सन् २०१८ बाट यो दिवस मनाउन थालिएको हो।
नेपालको सरकारी सेवामा रेन्जरको स्वीकृत दरबन्दी जम्मा ६३५ छ। जसमध्ये संघमा १८० र प्रदेशमा ४५५ जनाको दरबन्दी तोकिएको छ। संघमा जनरल फरेस्ट्री समूहको १९, स्वायल एन्ड वाटर कन्जरभेसन समूहको ७ र नेशनल पार्क्स एन्ड वाइल्डलाइफ कन्जरभेसन समूहको १५४ दरबन्दी छ। यस्तै, प्रदेशमा जनरल फरेस्ट्री समूहको ४१३, स्वायल एन्ड वाटर कन्जरभेसन समूहको ४२ जनाको दरबन्दी छ।
'रेन्जर'लाई विभिन्न देशमा फरक-फरक रूपमा परिभाषित गरिएको पाइन्छ। रेन्जरहरूको छाता संगठन अन्तर्राष्ट्रिय रेन्जर महासंघले मुख्यतः स्थानीय समुदायदेखि विभिन्न सरकारी तथा गैरसरकारी क्षेत्रमा रही ऐतिहासिक, सांस्कृतिक तथा वन र वन्यजन्तुको सुरक्षा एवं संरक्षणमा खटिने अग्रपंक्तिको जनशक्तिलाई 'रेन्जर' भनेको छ। रेन्जरका लागि कम्युनिटी रेन्जर, कम्युनिटी गेम गार्ड, कम्युनिटी वाइल्डलाइफ स्काउट, कन्जरभेसन अफिसर, फरेस्ट्री अफिसर, वाइल्डलाइफ रेन्जर, गेम स्काउट, पार्क रेन्जर, वार्डेन, वाइल्डलाइफ गार्ड आदि विभिन्न नाम प्रचलनमा छन्।
नेपालमा रेन्जर भन्नाले साधारणतया मध्यमस्तरीय वन प्राविधिकलाई बुझिन्छ। नेपाल वन सेवा अन्तर्गतका जनरल फरेस्ट्री, नेशनल पार्क्स एन्ड वाइल्डलाइफ कन्जरभेसन र फरेस्ट रिसर्च समूहमा राजपत्र अनङ्कित प्रथम श्रेणीमा रहने पदलाई रेन्जर भनी उल्लेख गरिएको छ। सरकारी सेवामा रेन्जर पदमा प्रवेशका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट वन विज्ञानमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्छ।
कानूनत: रेन्जर हुन निश्चित शैक्षिक योग्यता तोकिए पनि अन्तर्राष्ट्रिय रेन्जर महासंघको परिभाषाले रेन्जरलाई निश्चित पद वा दर्जाभित्र मात्र सीमित गरेको छैन। महासंघले वन तथा वन्यजन्तु संरक्षणको क्षेत्रमा अग्रपंक्तिमा रहेर काम गर्ने समुदायस्तरमा चोरी शिकार नियन्त्रण इकाइका युवादेखि सरकारी र गैरसरकारी क्षेत्रमा कार्यरत व्यक्ति र समुदायका व्यक्तिलाई समेत रेन्जर मानेको छ।
रेन्जरहरूको अन्तर्राष्ट्रिय सञ्जाल
विश्वभरिका रेन्जरहरूको अनुभव तथा नवीनतम प्रविधि एक-आपसमा आदानप्रदान गर्नुका साथै संरक्षणमा खटिएका रेन्जरहरूको योगदानको मूल्यांकन गर्न एउटा साझा मञ्चको आवश्यकता महसूस गरी ३१ जुलाई १९९२ मा अन्तर्राष्ट्रिय रेन्जर महासंघको स्थापना भएको हो। हालसम्म विभिन्न देशका १७३ वटा रेन्जर संघ यस महासंघका सदस्य छन्। हामीकहाँ नेपाल वन्यजन्तु संरक्षण समूह (वाइल्डलाइफ कन्जरभेसन एसोसिएसन नेपाल– वाइल्ड क्यान) महासंघको सदस्य छ।
प्रकृति र जैविक विविधता संरक्षण जस्तो चुनौतीपूर्ण कार्यमा खट्ने क्रममा कैयौं रेन्जरहरूले ज्यान गुमाएका छन् भने कति घाइते र अङ्गभङ्ग भएका छन्। अन्तर्राष्ट्रिय रेन्जर महासंघको तथ्याङ्क अनुसार, विगत एक दशकमा विश्वभर एक हजार १३ जना रेन्जरले ज्यान गुमाएका छन्। गत वर्ष मात्र १३७ रेन्जरको मृत्यु भएको छ।
विश्व रेन्जर सम्मेलन र नेपाल
संसारमा छरिएर रहेका रेन्जरहरू एक ठाउँमा भेला भई अनुभव साट्ने र हकहितका लागि आवाज उठाउने उद्देश्यले विश्व रेन्जर सम्मेलनको शुरूआत गरिएको थियो। पहिलो पटक सन् १९९५ मा पोल्यान्डमा आयोजना भएको सम्मेलन हरेक तीन वर्षमा हुन्छ। नवौं सम्मेलन पछिल्लो पटक सन् २०१९ मा नेपालमा भएको थियो।
पहिलो सम्मेलनमै सहभागिता जनाएको नेपाल त्यसपछिका ६ वटा सम्मेलनमा सहभागी हुन सकेको थिएन। सन् २०१६ मा अमेरिकामा भएको आठौं सम्मेलनमा नेपालबाट दुई जनाको सहभागिता थियो।
अन्तर्राष्ट्रिय स्तरमा यस्ता मञ्चबाट नेपालले संरक्षण कार्यमा प्राप्त गरेको सफलतालाई प्रचार त गर्दै आएको थियो। तर, नेपालमै यस्ता सम्मेलन आयोजना गरी विश्वभरका संरक्षणकर्मीलाई प्रत्यक्ष रूपमा प्रकृति तथा जैविक विविधता संरक्षण र चोरी शिकार नियन्त्रणमा प्राप्त सफलताबारे विस्तारमा बुझाउन सक्ने ठाउँ बाँकी नै थियो। विश्व रेन्जर सम्मेलनको आठौं संस्करणसम्म आइपुग्दा एशियामा सम्मेलन भएको थिएन। रेन्जर फेडरेशन एशियाको चाहना र नवौं सम्मेलन आयोजना गर्ने नेपालको दाबीका कारण सन् २०१९ मा सम्मेलन नेपालमा भयो।
सम्मेलनलाई व्यवस्थित र प्रभावकारी बनाउन वन तथा वातावरण मन्त्रालयको सहसचिवको संयोजकत्वमा मूल आयोजक समिति बनाइएको थियो। जसमा नेपाल वन प्राविधिक संघ, नेपाल टेक्निसियन फरेस्टर एसोसियसन, वाइल्ड क्यान थिए। यस्तै, संरक्षण साझेदार संस्थाहरू डब्लुडब्लुएफ नेपाल, जेडएसएल नेपाल र राष्ट्रिय प्रकृति संरक्षण कोष सदस्य थिए।
काठमाडौंमा भन्दा उपत्यका बाहिरका कुनै संरक्षित क्षेत्र आसपास सम्मेलन गर्नसके फिल्डस्तरमा भएका गतिविधि अन्तर्राष्ट्रिय सहभागीहरूलाई प्रत्यक्ष देखाउन पाइने र स्थानीय समुदाय समेत लाभान्वित हुने महसूस गरी चितवनको सौराहामा सम्मेलन आयोजना गर्ने निर्णय भयो। सम्मेलनमा पाँच सय जनाभन्दा बढीको सहभागिता थियो। सम्मेलन सफल बनाउन सहभागी, आयोजक र स्वयंसेवक गरी एक सयभन्दा बढी नेपाली रेन्जरहरू खटेका थिए। नेपालले आयोजना गरेको सम्मेलनमा नौ वटा संस्करणभरिकै सबैभन्दा धेरै सहभागिता रहेको र चुस्त व्यवस्थापन भएको भनेर अन्तर्राष्ट्रिय रेन्जर महासंघले प्रशंसा पनि गरेको थियो।
नवौं सम्मेलनका उपलब्धि
सौराहामा पाँच दिनसम्म चलेको नवौं विश्व रेन्जर सम्मेलनमा विश्वभरका रेन्जरहरूले आफूले भोगेका समस्या, चुनौती र अवसर तथा संरक्षणका उत्कृष्ट अभ्यास/अनुभव आदानप्रदान गरेका थिए। सहभागीहरूको उपस्थिति संख्याले मात्र नभई अजेन्डाको दृष्टिकोणबाट समेत सम्मेलन महत्त्वपूर्ण रह्यो। रेन्जर हकहितका लागि लक्ष्य तथा परिकल्पना पूरा गर्ने उद्देश्यसहित चितवन घोषणापत्र पारित भएको थियो। घोषणापत्रले मूलत: निम्नानुसा सात बुँदालाई जोड दिएको छ:
रेन्जर कल्याणः रेन्जरहरूले सामना गरिरहेको उच्च जोखिमका कारण उनीहरूको ज्यान समेत जाने गरेको छ। उनीहरूको खाने, बस्ने, सञ्चार, स्वास्थ्य आदिको आधारभूत सेवामा सुधार हुनुपर्छ। काम–कर्तव्यको सिलसिलामा मारिएका वा गम्भीर रूपमा घाइते भएका रेन्जरको परिवारलाई सहयोग पुर्याउन जीवन बीमा आदिको व्यवस्था हुनुपर्छ। घरपरिवारबाट टाढा रहेर काम गर्नुपर्ने हुनाले पारिवारिक जीवनमा सन्तुलन कायम गर्न पर्याप्त छुट्टीको प्रबन्ध गर्नुका साथै वृत्ति विकासका अवसरहरू प्रदान गर्नुपर्छ।
समुदायसँग सम्बन्ध: ऐतिहासिक तथा प्राकृतिक सम्पदामा पहिलो हक तथा अधिकार आदिवासी तथा स्थानीय समुदायको हुन्छ। रेन्जर र स्थानीय समुदायबीच सुमधुर सम्बन्ध, पारस्परिक सहयोग र साझेदारी हुनुपर्छ। समुदायको अधिकारबारे प्रशिक्षण दिएर समाधानका उपाय पहिचान गरी रेन्जर र समुदायबीच सहकार्य गर्दै अगाडि बढ्नुपर्छ।
आदिवासी रेन्जर: संरक्षण कार्यमा आदिवासीहरूको महत्त्वपूर्ण भूमिका हुने भएकाले उनीहरूलाई प्रोत्साहन गर्नुपर्छ। उनीहरूको परम्परागत तथा प्राकृतिक ज्ञान र सीपलाई मान्यता दिनुपर्छ। आदिवासी तथा स्थानीय समुदायलाई रेन्जर पेशामा राख्न रोजगारी सिर्जना गरी उनीहरूको प्रतिनिधित्व गराउनुपर्छ।
क्षमताः क्षमता वृद्धि निरन्तर चल्ने प्रक्रिया हो। रेन्जरहरूले वातावरणको संरक्षण र संवर्द्धनसहित महत्त्वपूर्ण सार्वजनिक क्षेत्र र राज्यको स्रोतको सुरक्षा गर्ने कानून कार्यान्वयन समेत गर्नुपर्छ। अन्तर्राष्ट्रिय मापदण्ड र अभ्यासमा आधारित मार्गदर्शन र नीति अनुरूप रेन्जरको क्षमता वृद्धि गर्नुपर्छ। स्थानीय परिस्थिति र आवश्यकता अनुसार मानवअधिकार, सामाजिक सुरक्षा र नवीनतम उपकरणको प्रयोगका साथै उच्च स्तरको प्रशिक्षण तथा तालिम दिनुपर्छ।
महिला रेन्जरः रेन्जरलाई लिङ्गको आधारमा कुनै किसिमको भेदभाव हुनु हुँदैन। महिला रेन्जरहरूलाई समान अवसर दिई वृत्ति विकास समेत सुनिश्चित गर्न अनुकूल कानून र नीति बनाउनुपर्छ। महिला रेन्जरहरूले सुरक्षित महसूस गर्ने उचित वातावरण तथा महिलामैत्री भौतिक पूर्वाधार बनाउनुपर्छ।
रेन्जर एसोसिएसनः साझा उद्देश्य लिएर काम गर्ने रेन्जरहरूका एसोसिएसनहरू स्थापना गर्नुपर्छ। रेन्जरका अधिकार र अवसरका लागि संयुक्त रूपमा पहल गर्नुपर्छ। उपयुक्त नीतिको निर्माण र कार्यान्वयनका लागि समन्वय गर्नुपर्छ। ज्ञान, सीप र असल अभ्यास आदानप्रदान गर्न अन्तर्राष्ट्रिय रेन्जर समुदायसँग सहकार्य गर्नुपर्छ।
प्रविधि: अहिले प्रविधिको युग हो। रेन्जरहरूले उपलब्ध स्रोत-साधनको उच्चतम प्रयोग गरी नयाँ प्रविधिको उपयोग गर्नुपर्छ। नवीनतम प्रविधिहरूको प्रयोगले रेन्जरको दक्षता वृद्धि हुनुका साथै प्रभावकारिता समेत ल्याउँछ।
चितवन घोषणापत्रमा उल्लिखित विषयहरूलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सहयोग पुर्याउने उद्देश्यले संरक्षणमा काम गर्ने संस्थाहरूले 'युनिभर्सल रेन्जर सपोर्ट अलायन्स' नामक संयन्त्र गठन गरेका छन्। फाउना एन्ड फ्लोरा इन्टरनेशनल, फोर्स फर नेचर, ग्लोबल वाइल्डलाइफ कन्जरभेसन, अन्तर्राष्ट्रिय रेन्जर महासंघ, पान्थेरा, दी आईयूसीएन वर्ल्ड कमिशन अन प्रोटेक्टेड एरिया, द वर्ल्डवाइड फन्ड फर नेचर र द जूलोजिकल सोसाइटी अफ लन्डन सम्मिलित उक्त अलायन्सले चितवन घोषणापत्र कार्यान्वयनको कार्ययोजना बनाएर काम अगाडि बढाइसकेको छ।
घोषणापत्र अनुरूप अन्तर्राष्ट्रिय रेन्जर महासंघले अलायन्सको सहयोगमा रेन्जरहरूलाई थप व्यावसायिक बनाउन आचारसंहिता निर्माण गरेको छ। जसले रेन्जरहरूलाई सहकार्य र नेतृत्व गर्न सबल बनाउनुका साथै संरक्षण कार्यलाई प्रभावकारी बनाउन मद्दत गर्नेछ। साथै, आचारसंहिताले रेन्जरहरूलाई आफ्नो मूल्य-मान्यता अनुसार पेशामा प्रतिबद्ध भई काम गर्न आधार प्रदान गर्छ।
आचारसंहिताले रेन्जरको सिद्धान्त, जवाफदेही, वफादारी, उत्कृष्टता, सहकार्य, नेतृत्व, आदर, सुरक्षा र साहसका बारेमा समेत प्रष्ट्याएको छ। रेन्जरहरूले मानवअधिकार, इमानदारी, पारदर्शिता, गोपनीयता र सुरक्षाको पालना कसरी गर्न सकिन्छ भन्नेे विषय पनि समेटेको छ। यो आचारसंहितालाई आ-आफ्नो देशको कानून र सामाजिक तथा स्थानीय परिवेश अनुसार परिमार्जन र विकास गर्न सकिन्छ। यसलाई आधार मानेर नेपालमा पनि रेन्जरका लागि आचारसंहिता बनाई कार्यान्वयन गर्न सकेमा यस पेशालाई थप व्यावसायिक, मर्यादित र सबल बनाउन टेवा पुग्नेछ।
अन्त्यमा, पृथ्वीमा रहेका वनस्पति, जीवजन्तु लगायत जैविक विविधताको संरक्षण गर्न सके मात्र हामी मानव सुरक्षित रहन्छौं। पछिल्लो समय कोरोनाभाइरस संक्रमण महामारीले हामीलाई प्रकृति मानव जीवनको आधार हो भन्ने पाठ सिकाएको छ। हामीले सास फेर्ने हावा, खाने खाना र पिउने पानी सबै प्रकृतिका उपज वा देन हुन्। तसर्थ प्रकृति तथा जैविक विविधताको संरक्षण मार्फत सामाजिक–आर्थिक समृद्धिमा योगदान पुर्याउनुका साथै पारिस्थितिकीय प्रणालीमा सन्तुलन ल्याई मानव भविष्यको सुरक्षा गर्नु अपरिहार्य भएको छ।
प्रकृतिको रक्षा गर्ने गहन जिम्मेवारीमा रेन्जरहरू अग्रभागमा खटिएर काम गर्न पाउनु गर्विलो विषय हो। प्रकृतिसँग अन्योन्याश्रित सम्बन्ध कायम राख्दै अघि बढेमा मात्र हामीले मनोरम भविष्यको सुनिश्चितता कायम गर्न सक्छौं भन्ने मान्यता लिएर रेन्जरहरू आफ्नो व्यवसायप्रति कर्तव्यनिष्ठ र लगनशील भई योगदान गर्न सधैं तम्तयार हुनुपर्छ। यसका लागि राज्य, समाज र सम्बद्ध संस्थाहरूबाट प्रकृतिका रक्षक रेन्जरहरूको कामको उचित मूल्यांकन र प्रोत्साहन हुन जरुरी छ।
[विश्वनाथ ओली नेपाल सरकारका पूर्व सचिव हुन् भने माधव खड्का विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालको वन्यजन्तु व्यापार अनुगमनका प्रमुख हुन्। ]